किरात राई दुङमाली भाषासम्बन्धी केही सत्य, केही तथ्य

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२९ पुष २०७५, आइतवार
किरात राई दुङमाली भाषासम्बन्धी केही सत्य, केही तथ्य


निराजन राई ‘बतास’

दुङमाली भाषा वान्तावा भाषाको भाषिका होइन

धेरै मानिसहरु जो सामान्यतया दुङमाली भूगोल र भाषालाई धेरथोर जान्दछन्, उनी यो भाषालाई वान्तावा भाषाको भाषिका भन्ठान्दछन् । हान्सन्ले दुङमाली वान्तावा भाषासँग ८२ प्रतिशत शब्दहरुको सामीप्यता रहेको वर्ण, रुप र शाब्दिक विभिन्ता भएको छुट्टै भाषा भएको लेखेका छन् । स्वाडेसका सय शब्दहरुको सूचीमा मैले गरेको तुलनाअनुसार भने दुङमालीको ३९ शब्द वान्तावासँग ठ्याक्कै उस्तै र ५० शब्दको सामीप्यता रहेको पाएँ ।

जम्मा ११ शब्द मात्र प्रष्ट फरक रहेको पाए । यसले किराती भाषाहरुमध्ये सबैभन्दा पछिल्लो समयमा छुट्टिएको भाषाहरु न्ै वान्तावा र दुङमाली रहेको जनाउँदछ । वास्तवमा दुङमाली भाषा तीन सय वर्ष अगाडि हतुवागढी र खेसाङथुमका राजाहरुको दुश्मनीका कारणले बनेको सीमाना र एकअर्कावीचको सम्पर्क अभावले विकसित भएको हो भन्ने अनुमान लगाउन सकिन्छ । अहिले वान्तावा र दुङमाली भाषाीच एकअर्कामा बोधको सामन्जस्यता नभएको र शब्दहरु मिल्न गएपनि भाषाहरुको प्रणालीमा विविधता भएकोले यी फरक फरक भाषा हुन् ।

भाषिक वंश

दुङमाली भाषा तिब्बत–बर्मेली परिवारको पूर्वी हिमाली भित्रको केन्द्रीय किराती भाषा अन्तर्गत पर्दछ । भ्यान ड्रिअमले यसलाई अझै वर्गीकरण गरेर दक्षिणी किरातीमा राखेका छन् । जसमा पुमा, वान्तावा, चाम्लिङ र छिन्ताङ भाषा पनि पर्दछन् । भाषावैज्ञानिकहरुले भूगोललाई भन्दा बढ्ता भाषाहरुको विशेषतालाई आधार मानेर तिनको वर्गीकरण गर्ने गर्दछन् ।  

भाषिकाहरु

खेसाङ खोला आसपास बोलिने दुङमाली भाषालाई खेसाङ्गे भाषिकामा राख्ने गरिएको छ । दुङमालीहरु यो आसापासबाट नै भाषाको प्रादुर्भाव भएको कुरा मान्दछन् । पहिले सूचनामा आएको आर्थरे भाषिका अहिले हराइसकेको छ । खास दुङमा क्षेत्र (ठूलोदुम्मा, सानोदुम्मा र वास्तीम) बाहेक अरु गाउँहरुमा बोलिने दुङमाली भाषामा केही उच्चारणगत फरक पाइन्छन् । दुङमालीहरु आफ्नो भाषालाई ‘दुङमाली पुक’ भन्दछन् ।

दुङमाली र केन्द्रीय दक्षिणी किराती भाषाहरु

केही अध्येताहरुले वान्तावालाई छाडेर दुङमाली र पुमा भाषा ज्यादै निकट रहेको लेखेका छन् । यद्यपि यसो होइन । तर थोरै संख्याले बोल्ने यी दुबै भाषाहरुमा वान्तावा भाषाको  प्रभाव भने बराबर परेको छ । यी दुबै भाषा बोलिने क्षेत्र वान्तावा भाषा बोलिने क्षेत्रहरुले घेरिएको छ । दुङमाली र पुमा भाषाको भूगोल दुई–तीन दिनको पैदल दुरीमा रहेको छ । दुङमाली र पुमा भाषा वान्तावा भाषा क्षेत्रको क्रमशः पूर्व र पश्चिममा पर्दछन् ।

भाषा र भूगोलको हिसाबले दुङमाली भाषाका नजिकका अन्य भाषाहरु वान्तावाबाहेक चाम्लिङ, छिन्ताङ, पुमा र मुगाली हुन् ।

भाषा र भूगोलको हिसाबले दुङमाली भाषाका नजिकका अन्य भाषाहरु वान्तावाबाहेक चाम्लिङ, छिन्ताङ, पुमा र मुगाली हुन् । यी भाषाहरुको वीचमा ६५ प्रतिशत जति शब्दहरुले सामीप्यता राख्दछन् । यद्यपि भूगोलको हिसाबले नजिक रहेका मुगाली र छिन्ताङ भाषामा क्रियाका रुपहरु जटिल हुन्छन् । अरुण पश्चिमतिरका वान्तावा र दुङमाली भाषाबाटै उस्तो क्रियाहरुको रुप जटिल हुने क्रम टुट्छ ।

भाषाको संकटावस्था

वि.सं. २०६८ को जनगणनाले दुङमाली भाषाको वक्ता संख्या ६,२६० देखाएको छ । योभन्दा अघिल्लो जनगणनामा जम्मा २२१ वक्ता संख्या देखाएको थियो । यी दुबै तथ्याङ्कले देखाएको मातृभाषी वक्ताको संख्या संकटापन्न अवस्था नै हो । यादव (सन् २००९) ले नेपालको सन्दर्भमा भाषा संकटापन्न हुने वा लोप हुने अवस्थाको कारकहरुबारे भनेका छन्ः “थोरै वक्ता, कमजोर आर्थिक स्थिति, नयाँ पुस्तामा भाषा हस्तान्तरण नहुनु, शहर र विदेशतिर बसाईँ सर्नु, साक्षरताको अभाव, प्रशासनिक प्रयोग र भाषा विद्यमान राख्न नसक्नु, शिक्षामा प्रयोग नहुनु, स्थानीय प्रशासन र सञ्चारमा प्रयोग नहुनु र सर्वथा भाषिक समुदायको चेतनाको कमी हुनु” ।

पछिल्लो समयमा समुदायमा स्थापित सामाजिक संस्थाले भाषाको संरक्षण र सम्बद्र्धनमा भूमिका खेल्ने प्रयत्न गर्नुबाहेक दुङमाली भाषालाई संकटग्रस्त हुनबाट जोगाउन माथि यादवले भनेका कुनैपनि पक्षहरु सकारात्मक छैनन् ।

दुङमाली वंशगत भाषाको रुपमा

दुङमाली भाषाको सशक्तता जाँच गर्न फिसम्यानले प्रतिपादन गरेको वृहत तहगत अन्तरपुस्तीय क्षयीकरण मापकमा जाँचेर हेर्दा वंशगत भाषाभित्र पर्दछ । यसको अर्थ मातृभाषाका वक्ताहरु अर्को हावी रहेको भाषामा सर्दै गरेको भन्ने हो । यसले यो भाषाको अवस्था अति संकटापन्न छ भन्ने जनाउँछ । किनभने वंशगत भाषाको कोटीमा पर्ने भाषाहरु समुदायका सबै पुस्ताले बोल्न सक्दैनन् ।

सरिरहेको भाषा

समुदायमा सबै बालबालिकाहरुले दुङमाली भाषा बुझेपनि बोल्दैनन् । मातृभाषाको सम्बन्ध बच्चा जन्माइरहेका पुस्ता र बच्चाहरुमा  टुट्दै गइरहेको छ । बोल्ने भाषाको दक्षता भएका सबैभन्दा पछिल्लो पुस्ता नै बच्चा जन्माइरहेका पुस्ता हुन् । यस्तो अवस्थालाई उपयुक्त मापकले सरिरहेको भाषा भनेको छ । यसैगरी युनेस्कोको भाषाको सशक्तता र संकटावस्था जाँच्ने तहगत अवधारणामा दुङमाली भाषा निश्चित संकटापन्न भाषामा पर्दछ ।

समुदायमा सबै बालबालिकाहरुले दुङमाली भाषा बुझेपनि बोल्दैनन् । मातृभाषाको सम्बन्ध बच्चा जन्माइरहेका पुस्ता र बच्चाहरुमा  टुट्दै गइरहेको छ ।

क्षयीकरण मापकले सरिरहेको भाषालाई ‘वच्चा जन्माइरहेका पुस्ता आफूहरुबीचमा भाषा राम्ररी प्रयोग गर्न जान्दन्, तर नयाँ पुस्तामा भाषालाई सारिरहेका हुँदैनन्’ भन्ने बताउँछ । युनेस्कोको निश्चित संकटापन्न भाषाले वच्चाहरु घरमा मातृभाषा सिकिरहेका छैनन् भन्ने अवस्थालाई जनाउँछ । वास्तवमा अब भाषाको संकटावस्था भनेको भाषा प्रयोगकर्ताको वृद्धिमा कमी आउनु हो । जसले कालान्तरमा गएर यो भाषा लोप हुने अवस्थालाई इंगित गर्दछ ।

निष्कर्ष

अहिलेको दुङमाली भाषाले धान्न सकिने साक्षरता र धान्न सकिने मौखिकता गुमाइसकेको छ । समुदायका सदस्याहरु आफ्नो जातीय पहिचान भाषासँग जोड्न चाहिरहेको हुँदा दुङमाली  भाषासँग अब धान्न सकिने पहिचान मात्रै बाँकी छ । त्यसको लागि भाषाका अधिकारकर्मी र सरोकारवालाहरु दुङमातिर जानु  र आफ्ना जातीय–भाषिक पहिचानजन्य क्रियाकलापहरुलाई व्यापक रुपमा अघि बढाउनु आवश्यक छ ।

(राईको दुङमाली  व्याकरण  पुस्तकबाट साभार )

प्रतिक्रिया