हेम वाईबाको एकल लाईभ म्हेन्दोमाया साँझ हुने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस७ पुष २०७२, मङ्गलवार
हेम वाईबाको एकल लाईभ म्हेन्दोमाया साँझ हुने

काठमाडौं

गायक तथा संगीतकार हेम वाईबाको एकल ‘लाईभ म्हेन्दोमाया साँझ २०७२’ हुने भएको छ । हालै पत्रकार सम्मेलन गरी आगामी पुष १० गते राष्ट्रिय नाचघर जमलमा हुने सो कार्यक्रमको बारेमा जानकारी दिइएको हो ।

तामाङ समुदायमा लोकप्रिय म्हेन्दोमाया गीतका गायक वाईबाले पहिलो पटक एकल साँझ गर्न लागेका हुन् । पत्रकार सम्मेलनमा बौल्दै गायक वाईबाले म्हेन्दोमाया दोरा र म्हाने दोरा गीतहरुको विशेष सामाजिक महत्व रहेको बताए । उनले भने ‘म्हेन्दोमाया तामाङ समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको छ । त्यसैले यसको संरक्षण र प्रवद्र्धनमा हामी निरन्तर लागिरहेका छौँ ।’ म्हेन्दोमायाको प्रवद्र्धन गर्ने अभियानलाई निरन्तरता दिन एकल साँझ गर्न लागिएको उनले बताए ।

एकल साँझमा गायक वाईबाले आफ्ना चर्चित म्हेन्दोमाया गीतहरु प्रस्तुत गर्नेछन् । उनले गाएका केही नेपाली गीतहरु समेत प्रस्तुत गरिने उनले बताए । उक्त कार्यक्रममा म्हेन्दोमाया गीत संगीतमा चर्चित गायक गायिकाहरुले उनलाई साथ दिनेछन् । तामाङ मोडल तथा नृत्यकारहरुबाट तामाङ मौलिक संस्कृति झल्कने प्रस्तुतिहरु समेत कार्यक्रममा प्रस्तुत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गायक वाईबाले म्हेन्दोमाया दोरा र म्हाने दोरा गीतहरुको विशेष सामाजिक महत्व रहेको बताए । उनले भने ‘म्हेन्दोमाया तामाङ समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको छ 

दुई दशक अघि संगीत क्षेत्रमा लागेका गायक वाईबाले २०५४ सालमा ‘तरेली’ नामक पहिलो एल्वम ल्याएका थिए । २०५६ मा उनले म्हेन्दोमाया युवा समाज नेपालबाट ‘म्हेन्दोमाया’ नामक एल्वम बजारमा ल्याए । उक्त एल्वम म्हेन्दोमाया गीतको पहिलो एल्वम रहेको उनको दावी छ । पछि उनले ‘मुश्किल’, ‘कप्चङ’, ‘ल्हाल्हुङ’, ‘क्येका’, ‘गाङ्स्योङ’, ‘संगालो’ लगायत एल्वमहरु बजारमा ल्याएका छन् ।

सामाजिक विकास आधार नेपालको आयोजनामा हुने एकल साँझको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक सुकसागर तामाङले जानकारी दिए । कार्यक्रमको टिकट बिक्रीबाट उठेको रकम भूकम्पबाट क्षतिग्रस्त सेम्जोङ–५, धादिङस्थित श्री बुद्ध प्राविको भवन निर्माणमा सहयोग गरिने संयोजक तामाङले बताए ।  

प्रतिक्रिया