निर्णायक आन्दोलनको तयारीमा लिम्बुवान संघर्ष समिति

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२७ भदौ २०७२, आइतवार
निर्णायक आन्दोलनको तयारीमा लिम्बुवान संघर्ष समिति

राम योङहाङ

इलाम

अरुण पूर्वको नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य घोषणाको माग गर्दै आन्दोलनमा होमिएको लिम्बुवान संयुक्त संघर्ष समिति आन्दोलनलाई  निर्णायक बनाउने तयारीमा जुटेको छ ।

संघर्ष समिति इलामको भदौ २६ गते बसेको बैठकले आन्दोलनलाई सशक्त बनाउने निर्णय गर्दै विभिन्न उपसमितिहरु गठन गरेको छ । जसमा १४ सदस्यीय सचिवालय समितिका संयोजकमा बखतबहादुर आङ्देम्बे, सहसंयोजकमा मिन्सु जवेगू र अशोक प्रधान, सचिवमा याम माबोहाङ, सहसचिवमा जलन लिम्बू छन् । त्यस्तै लक्ष्मण रार्ई संयोजक रहेको पाँच सदस्यीय आर्थिक उपसमिति, हरि गुरुङको संयोजकत्वमा सात सदस्यीय प्रचारप्रसार उपसमिति गठन भएको छ । उता इलामको जीतपुरमा किरात याक्थुङ चुम्लुङको समन्वयमा रुपबहादुर मगरको संयोजकत्वमा १ सय ५१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।

संघीय लिम्बुवान पार्टी नेपालका पाँचथर जिल्ला सचिवालय सदस्य सजिव योङ्याले त्यस क्षेत्रका सम्पूर्ण कार्यालय, संघ–संस्थामाहरुलाई असोज पहिलो हप्तासम्ममा आफ्नो कार्यालयको साइनवोर्डमा अनिवार्य ‘लिम्वुवान नेपाल’ लेखेर आन्दोलनलाई सहयोग गर्न आग्रह गरिएको जानकारी दिएका छन् ।

‘पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानमा लिम्बुवान’ भन्ने मूल नाराका दोश्रो चरणको आन्दोलनमा होमिएको समितिले केन्द्रीय स्तरमा समेत निर्णायक आन्दोलनको तयारी गरिरहेको चुम्लुङले जनाएको छ । केन्द्रको निर्णय अनुसार जिल्ला र गाउँमा आन्दोलन र कार्यक्रम गरिने चुम्लुङका जिल्ला अध्यक्ष अभिषेक यक्तेनले बताए ।
  विभिन्न आठ राजनीतिक दल र संघसंस्था सम्मिलित संघर्ष समितिले ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधार अरुणपूर्वको भूभागलाई लिम्बुवान स्वायत्त राज्य घोषणा गर्नु पर्ने माग गरेको छ । चार दलको सहमतिमा अरुण कोशी पश्चिमका उदयपुर, खोटाङ, भोजपुर, ओखलढुंगा र सोलुखुम्बुसमेत समेटेर पुर्वमा १ नम्बर प्रदेशको सीमांकन गरेपछि कोशी पुर्वका ९ जिल्लामात्रै लिम्बुवान राज्य घोषणाको माग गरिरहेका लिम्बुवानवादी संगठनहरु आन्दोलनमा छन् ।

‘लिम्वुवान नेपाल’ लेखन अभियान

संघीय लिम्बुवान स्वायत्त स्थापनाको माग गर्दै संघर्ष गरिरहेको संघीय लिम्बुवान पार्टी नेपालले सुरु गरेको ‘लिम्बुवान नेपाल’ लेखन जारी राखेको छ । संघीय लिम्बुवान पार्टी नेपालका पाँचथर जिल्ला सचिवालय सदस्य सजिव योङ्याले त्यस क्षेत्रका सम्पूर्ण कार्यालय, संघ–संस्थामाहरुलाई असोज पहिलो हप्तासम्ममा आफ्नो कार्यालयको साइनवोर्डमा अनिवार्य ‘लिम्वुवान नेपाल’ लेखेर आन्दोलनलाई सहयोग गर्न आग्रह गरिएको जानकारी दिएका छन् ।
लिम्बुवान मिडिया मिसनबाट

 

 

प्रतिक्रिया