इन्डिजिनियस टेलिभिजनको शीघ्र प्रसारण

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२१ भदौ २०७२, सोमवार
इन्डिजिनियस टेलिभिजनको शीघ्र प्रसारण



काठमाडौ

इन्डिजिनियस टेलिभिजन प्रसारणको भावी योजनाको बारेमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसँग भदौ २० गते पहिलो चरणको छलफल गरिएको छ ।

इन्डिजिनियस मिडिया फाउण्डेसनद्वारा संचालन गरिने सो टेलिभिजन बारेको छलफल कार्यक्रम फाउण्डेसनको कार्यालय अनामनगरमा भएको हो । छलफलमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले टेलिभिजनको बारेमा आआफ्नो तर्फबाट सुझाव दिनु भएको थियो । सुझाव दिनेहरुमा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष रोशनी मेचे, सचिव चिनीमाया माझी, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष शान्ति जिरेल, नेपाल तामाङ घेदुङका अध्यक्ष कुमार योन्जन,  नेपाल मगर संघका उपाध्यक्ष गंगा बहादुर थापा,नेपाल मगर संघका महासचिव नविन रोका, तोक्पेगोला समाजका अध्यक्ष मिङमाकामी शेर्पा, आदिवासी जनजाति युवा महासंघका अध्यक्ष ज्ञानेन्द्र पुन, आदिवासी जनजाति गैरसरकारी संस्था महासंघका सचिव तकबहादुर तामाङलगायत हुनुहुन्थ्यो ।

वक्ताहरुले मूलप्रवाहका संचार माध्यमले आदिवासी जनजातिका मुद्धा बाइपास गर्ने भएकाले इन्डिजिनियस टेलिभिजनको आगमन स्वागतयोग्य रहेको बताए । साथै, इन्डिजिनियस शव्द नै शासकहरुलाई नपच्ने भएकोले इन्डिजिनियस टेलिभिजनको प्रसारण चुनौतीपूर्ण रहेकोले प्रशस्त गृहकार्य गरेर प्रसारण गर्न सुझाए ।

यसरी विभिन्न सुझाव संकलन गर्ने क्रममा केही दिनभित्रै बुद्धिजीवि, सभासद्, चलचित्रकर्मी लगायत अन्य क्षेत्रका महानुभावहरुसँग छलफल गर्ने कार्यक्रम फाउण्डेसनले बनाएको छ । इन्डिजिनियस टेलिभिजनको  प्रसारण आगामी ६ महिना भित्रै गरिने इन्डिजिनियस मिडिया फाउण्डेसनका अध्यक्ष देव सुनुवार तथा महासचिव जगत दोङले जानकारी दिए ।

 

प्रतिक्रिया