जानजाति महासंघको पनि बानेश्वरमा धर्ना

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२५ पुष २०७१, शुक्रवार
जानजाति महासंघको पनि बानेश्वरमा धर्ना

आदिवासी जनजातिको अडान, पहिचान सहितको संघिय संविधान भन्ने नाराका साथ शुक्रबार नेपाल आदिवासी जनजाती महासंघले नयाँबानेश्वरमा धर्ना दिएको छ । आदिवासी जनजाति महासंघ, महिला महासंघ, युवा महासंघ लगायतको सहभागितामा मध्यान्न १२ बजेदेखि नयाँबानेश्वरमा धर्ना दिएको हो । पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जानजाति राष्ट्रिय आन्दोलन नेपालको अगुवाइमा तिन दिने अकुपाई बानेश्वर समापन भएको भोलि पल्ट शुक्रबार महासंघ छुट्टै धर्नाको कार्यक्रम आयोजना गरेको हो ।

यसअघि आन्दोलन नेपाल र आदिवासी जनजाति महासंघ संयुक्त रुपमा आन्दोलनलाई अगाडि बढाउने लिखित सहमति गरेपनि त्यसलाई बेवस्ता गर्दै छुट्टै आन्दोलनका कार्यहरु तय गरेअनुसार शुक्रबार नयाँबानेश्वरमा भर्नाको कार्यक्रम गर्यो । आदिवासी आन्दोलन नेपालले तिनदिने अकुपाई बिहीबार सकेसंगै बसन्तपुरमा बृहत जनासभा र माघ ६ गतेबाट संविधानसभा घेराउ गर्ने कार्यक्रम राखेको छ । महासंघले पनि करिब उस्तै प्रकृतिको कार्यक्रम संविधानसभा भवन केन्द्रित नै गर्दैछ । महासंघका अध्यक्ष नगेन्द्र कुमालले आदिवासी जनजाति महासंघ सबै आदिवासी जनजातिको साझा संगठन भएको नाताले सबै आदिवासीलाई समेटेर आन्दोलनलाई सशक्त पार्ने बताउनु भयो । महासंघले यहि पुष २८ गते संविधानसभामा प्रतिनीधित्व गर्ने राजनैतिक दलहरुसंग छलफल, माघ ३ र ४ गते सभासदहरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै माघ ६ देखि ८ गते सम्म संविधानसभामा दबाब मुलक धर्ना दिने अध्यक्ष कुमालले जानकारी दिनुभयो । 

यसरी आन्दोलन नेपाल र महासंघले आन्दोलनका कार्यक्रमहरु छुट्टा छुट्टै गर्दा आदिवासीको आन्दोलन बलियो नभइ कमजोर हुने भन्दै आदिवासी अगुवा तथा शुभचिन्तकहरुले चिन्ता प्रकट गरेका छन् । महासंघले बेलामा आन्दोलनको उठान तथा संयोजन गर्न नसकेको भन्दै आदिवासी अगुवाहरु मललके सुन्दर , शुरेश आलेमगर, पुशराम तामाङ लगायतको पहलमा नागरिक अगुवा पद्मरत्न तुलाधर नेतृत्वमा आदिवासी जनजाति आन्दोलन नेपाल गठन गरि आन्दोलनको कार्यक्रम गदै आएको छ । महासंघले भने आन्दोलन नेपालले महासंघलाई बाइपास गर्न खोजेको भन्दै पछिल्लो चरणमा आन्दोलनका कार्यक्रमहरु बनाएर अघि बढेको छ ।

प्रतिक्रिया