थरुहटले आमहड्ताल भदौसम्म लम्ब्यायो

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१६ भदौ २०७२, बुधवार
थरुहटले आमहड्ताल भदौसम्म लम्ब्यायो


काठमाडौ

थरुहट थारुवान संयुक्त संघर्ष समितिले थरुहट तराईमा गर्दै आएको आमहड्ताल भदौ ३१ गतेसम्मलाई लम्ब्याएको छ । भदौ १६ गते सिंहदरवारमा बसेको बैठकले सरकारले थारुको माग बेवास्ता गरेको भन्दै आमहड्ताल लम्बाउनुपरेको जनाएको हो । साउन २७ गतेदेखि आमहड्ताल गर्दै आएको समितिले यसअघि भदौ १६ गतेसम्मलाई आमहड्ताल तोकेको थियो । सरकारले समितिलाई दुईपटक वार्ताको आह्वान गरेपनि राज्यले धरपकड जारी राखी वार्ताको वातावरण नबनाइएकोले वार्ता हुन नसकेको थरुहट थारुवान संयुक्त संघर्ष समितिका सचिव मिनराज चौधरीले जनाए ।

आमहड्ताल संगै राज्यलाई असहयोग अभियान चलाउने, थरुहट थारुवान भित्ते लेखनलाई निरन्तरता दिने, मसाल जुलुस प्रदर्शन गर्नेलगायत नयाँ कार्यक्रम घोषणा गरिएको छ ।

समितिले सात बुँदे मागपत्रसहित सरकारलाई जवाफ पठाएको थियो । समितिले जारी आमहडताललाई निरन्तरता दिन सबै जिल्ललाई निर्देशन दिएको जनाएको छ । पूर्वनिर्धारित कार्यक्रमबमोजिम शान्तिपूर्ण आन्दोलनमा होम्मिन सबै थारुहरुसँग अपिलसमेत गरेको छ । अबको आम हड्ताल २४ घण्टे हुने र रातको समयमा पनि गाडीहरु चल्न नदिने संघर्ष समितिले जनाएको छ । उसले वार्ताप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ । ‘शीर्ष नेताहरुसहित वार्ता गर्छौ भनेका छौं । तर प्रधानमन्त्रीले समन्वय नै गर्नु भएन’ थरुहट तराई पार्टीका सभासद गोपाल दहितले भने ।

यसैगरी प्रहरी–प्रशासनको आडमा अखण्डपक्षले थारु समुदायसँग सम्बन्धित संस्था र व्यक्ति गरी टीकापुरको १६ स्थानमा आक्रमण, आगजनी र तोडफोड गरेको दाबी गरिएको छ । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक लाहुराम चौधरी र राना थारु संयुक्त संघर्ष समितिका संयोजक मालमती राना थारुले हस्ताक्षर गरेको अर्को विज्ञप्तिमा राज्यलाई कैलालीमा असहयोग अभियान चलाउने, थरुहट थारुवान भित्ते लेखनलाई निरन्तरता दिने, मसाल जुलुस प्रदर्शन गर्नेलगायत नयाँ कार्यक्रम घोषणा गरिएको छ । 

थरुहट÷थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय सयोजन समितिका संयोजक एवंम् थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीद्वारा जारी विज्ञप्तीको पूर्ण पाठको लागि यहाँ क्लीक गर्नुहोस्

प्रतिक्रिया