राज्यले गोपाल योञ्जनलाई उचित सम्मान नदिएको गुनासो

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१४ भदौ २०७२, सोमवार
राज्यले गोपाल योञ्जनलाई उचित सम्मान नदिएको गुनासो


काठमाडौ

संगीत सम्राट गोपाल योञ्जनलाई राज्यले सम्मान गर्न नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् । योञ्जनको १९औँ स्मृति दिवसको अवसरमा भदौ १३ गते आयोजित कार्यक्रमका वक्ताहरुले नेपाली गीत संगीतको क्षेत्रलाई माथि उठाउन उनले पु¥याएको योगदानको सम्मान नभएको बताएका हुन् ।

कार्यक्रममा मधुरिमा नेपाल कला केन्द्रका अध्यक्ष प्रदिप बम्जनले गोपाल योञ्जनलाई राज्यले सम्मान दिन नसकेकोले आफूहरुले ‘संगीत सम्राट’ उपाधी दिएको बताए । उनले गोपाल योञ्जन ‘युगपुरुष’ भएको समेत दाबी गरे । कलाकार जयनन्द लामाले प्रश्न गरे, ‘नारायण गोपालको शालिक बन्यो । तर गोपाल योञ्जनको पहिचान कहाँ खोज्ने ?’ उनले संगीत र गीत लेखनमा योञ्जनको तुलना कसैैसँग गर्न नसकिने बताए । कलाकार लामाले योञ्जनको व्यक्तित्व तथा उनीसँग काम गर्दाको अनुभवसमेत सुनाए ।

नेपाल तामाङ घेदुङका अध्यक्ष कुमार योञ्जनले संगीतकार योञ्जनको पार्थिव शरीर नभए पनि उनको योगदानलाई बिर्सन नसकिने बताए । नेपाल तामाङ कलाकार संघका अध्यक्ष चन्द्रकुमार दोङलगायत अन्य वक्ताहरुले पनि योञ्जनको व्यक्रित्व र योगदानबारे चर्चा गरे ।

 मधुरिमा नेपाल कला केन्द्रका अध्यक्ष प्रदिप बम्जनले गोपाल योञ्जनलाई राज्यले सम्मान दिन नसकेकोले आफूहरुले ‘संगीत सम्राट’ उपाधी दिएको बताए । उनले गोपाल योञ्जन ‘युगपुरुष’ भएको समेत दाबी गरे । 

चन्द्रकुमार मोक्तानलाई सम्मान

नेपाल तामाङ संस्कृति घेदुङ, स्वर साधना संगीत पाठशाला तथा नेपाल तामाङ घेदुङको आयोजनामा भएको गोपाल योञ्जनको १९औँ स्मृति दिवसको सो कार्यक्रममा गायक चन्द्रकुमार मोक्तानलाई सम्मान गरिएको थियो । सम्मानित गायक मोक्तानले तामाङ भाषामा पहिलो गीति एल्वम निकालेका हुन् ।  

सोही अवसरमा नेत्रबहादुर भुजेलको आधुनिक गीतिसंग्रह ‘विछोड’को पनि विमोचन गरियो । छेवाङ तेन्जिङ लामाको संगीत रहेको एल्वममा राजेशपायल राई, सत्यराज आचार्य, प्रमोद खरेल, सुरेश लामा, निर्मला घिसिङ र देवेश राईले स्वर दिएका छन् । कार्यक्रममा तामाङ संस्कृति घेदुङ र स्वर साधना संगीत पाठशालाका कलाकारहरुले योञ्जनका चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।  

वि.सं. २००० सालमा दार्जीलिङमा जन्मेका योञ्जनको ‘देशले रगत मागे मलाई बली चढाउनु’, ‘बनेको छ पहराले यो छाती मेरो’जस्ता थुप्रै गीतहरु चर्चित छन् । योञ्जनले स्वेदशगान, सेलो, चलचित्र, आधुनिकलगायत दुई हजारभन्दा बढी गीतमा संगीत, शब्द रचना तथा स्वर दिएका छन् ।

प्रतिक्रिया