तराईबासीहरू एकजुट भएर दवावको कार्यक्रम गर्नुपर्नेमा जोड

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३१ साउन २०७२, आइतवार
तराईबासीहरू एकजुट भएर दवावको कार्यक्रम गर्नुपर्नेमा जोड


काठमाडौं
तराईबासीको अधिकारलाई समाप्त गर्ने अभियानमा प्रमुख चार दलका नेताहरू लागेका छन् । अब राजधानीमा बहस गर्नुभन्दा तराईमै गएर तराईबासीहरू एकजुट भई दवावको कार्यक्रम गर्नुपर्ने वक्ताहरूले बिचार राखेका छन् ।

मधेसी बुद्धिजीवी समाजको आयोजनामा साउन ३० गते आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले अधिकार प्राप्तीका लागि आन्दोलनको विकल्प नरहेको तर्क गरे । सही समयमा दवावको कार्यक्रम गर्न नसके पहिचान र अस्तित्व समाप्त हुने खतरा रहेको औल्याउँदै वक्ताहरूले थारू र मधेसी एक भएर अगाडि बढ्न आवश्यक रहेको बिचार राखे । 

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पहिले थारू र मधेसीलाई एकापसमा जुधाएर शासकहरू फाइदा लिइरहेकोमा अहिले संविधानसभाबाट थारू–मधेसीको अधिकार सदाका लागि समाप्त गर्ने प्रयास भइरहेको आरोप लगाए । मस्यौदा प्रतिवेदन अध्ययन गर्नबाट समेत संवाद समितिले बञ्चित गरेको आरोप लगाउँदै सहअध्यक्ष कर्णले संविधानको परिमार्जित मस्यौदा थारू मधेसीको पूरै विपक्षमा रहेको जिकिर गरे । “समानुपातिक समावेशीता समेत दिन मानेका छैनन्, भाषिक अधिकार पनि कटौती गरिएको छ” भन्दै नेता कर्णले भाषा, प्रतिनिधित्व, पहिचान सबै खोसिएको बताए ।

“समानुपातिक समावेशीता समेत दिन मानेका छैनन्, भाषिक अधिकार पनि कटौती गरिएको छ” भन्दै नेता कर्णले भाषा, प्रतिनिधित्व, पहिचान सबै खोसिएको बताए ।

फोरम (लोकतान्त्रिक) का महासचिव तथा सभासद रामजनम चौधरीले सडक र सदन एकसाथ आन्दोलन चर्काउनुको विकल्प नरहेको बताए । शिष्टतापूर्वक अधिकार माग्दा नपाइने देखेर आन्दोलन रोज्नुपरेको बताउँदै सभासद चौधरीले अधिकार प्राप्ती नहुँदासम्म थारू आन्दोलन नरोकिने बताए । थारू र मधेसी एक नहुँदासम्म दुवै समुदायको अधिकार सुनिश्चित् नहुने उनको भनाइ थियो ।

जीवनमरणको आन्दोलन

थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारूले अधिकार प्राप्तीको आन्दोलन जीवनमरणको आन्दोलन भएको बताउँदै थारूलाई नेपाली नागरिक होइन भन्ने प्रमाणित अहिलेको सीमाङ्कनले गरेकोले यसलाई कुनै हालतमा नस्वीकारिने बिचार राखे । थरुहट र मधेसका लागि लड्न ढिला गर्न नहुने भन्दै उनले थरुहटमा आन्दोलन चर्के पनि मधेस किन चुप लागेर बसेको भनी प्रश्न गरे । उनले तराईको चार किल्लाबारे थारु नेताहरु प्रष्ट रहेको तर मधेशी नेताहरु प्रष्ट नरहेको बताए ।

एमाओवादीका सभासद अमनलाल मोदी थारूले भने– शासकहरूले थारू र मधेसीलाई अन्यायमा पार्ने षडयन्त्र गरिरहेका छन् । आफ्नो कुरा पार्न निर्णायक आन्दोलनको विकल्प छैन, त्यसैले दवावको कार्यक्रम गर्न ढिलाई गर्न हुन्न । मधेसीलाई आठ जिल्ला समेटेर एक प्रदेश प्राप्त भएपछि मधेसी समुदाय मत्थर भएको उनले पनि आरोप लगाए । उनले पहिलेका क्रियाकलापलाई समीक्षा नगरिए फेरि चुक्न सक्ने अवस्था आउने बताए । थारू कल्याणकारणी सभाका सचिवालय सदस्य राजकुमार लेखीले प्रमुख नेताले थारूलाई एक्काइसौं शताब्दीको दास बनाउने षडयन्त्रमा लागेको आरोप लगाए । यस अघि मधेशीको तिखो आलोचना गर्ने लेखीले थारू र मधेसी राज्यबाट बरावर हेपिएकाले दुवै शक्तिहरू एक भएर लड्नुपर्ने आवश्यकता औल्याए ।

तराईबासीसंग माफी माँग्नु पर्ने

पूर्व गृह राज्यमंत्री रिजवान अन्सारीले अहिलेको नेतृत्व नै अदूरदर्शी रहेकोले थारु मधेशी, मुस्लिमलाई संगै मिलाएर लान नसकेको बताए । उनले गल्ती गर्ने नेताहरुले तराईबासीसंग माफी माँग्न हिच्किचाउन नहुने जिकिर गरे । सभासद योगेन्द्र चौधरीले पहिले थारू मधेशी मिल्नुपर्छ भन्दा आफ्नो उपहास गरिएको विगत कोट्याउँदै तर आज त्यो सत्य सावित भएको बताए । उनले सिंगो तराईको भूगोल संकटमा परेको बेला सबै तराईबासी एकजुट हुनुको विकल्प नरहेको तथा थारू आन्दोलन एक कदम अगाडि बढिसकेकाले अब नरुक्ने बताए । उनले मधेशीहरु थारुहरु भन्दा एक कदम अघि भए पनि थारुलाई साथमा नलिइ उनीहरु अघि बढ्न नसक्ने यथार्थ बुझ्न आग्रह गरे ।

पूर्व गृह राज्यमंत्री रिजवान अन्सारीले अहिलेको नेतृत्व नै अदूरदर्शी रहेकोले थारु मधेशी, मुस्लिमलाई संगै मिलाएर लान नसकेको बताए । उनले गल्ती गर्ने नेताहरुले तराईबासीसंग माफी माँग्न हिच्किचाउन नहुने जिकिर गरे ।

सभासद रुक्मिणी चौधरी थारूले संविधानमा थारूसँगै मधेसी, मुस्लिमको समेत अधिकार खोसिएकाले सहकार्य गरेर आन्दोलनको आवश्यकता औल्याए । सभासद गंगा सत्गौवा थारुले कैलाली, कञ्चनपुर थारु पुर्खाले औलो, बाघ भालुसंग लडेर जोगाएको क्षेत्र भएकोले यो कुनै पनि हालतमा थरुहट भूगोलमै हुनुपर्ने तर्क गरिन् ।

मधेसी बुद्धिजीवी समाजका संयोजक सीताराम अग्रहरीले ठूला नेताको नियत नै थारू मधेसी समस्यामा परेको बताउनुभयो । फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलको साक्षी बसेर तराईबासीप्रति ठूलो गद्दारी गरेको उनले आरोप लगाए । एक्लाएक्लैको लडाईले अधिकार प्राप्त नहुने भन्दै उनले थारू र मधेसी संयुक्त लडाई लड्न आवश्यक रहेको तर्क गरे ।
कार्यक्रममा जीतेन्द्र सोनलले एक प्रदेश बनाएर त्यसको नाम थरुहट राख्न आफूहरू तयार रहेको बताउँदा थारू सहभागीले ताली पिटे । सभासद अभिषेकप्रताप साह, गोविन्द चौधरी, पूर्व सभासद भरत शाह लगायतले आन्दोलन विना कुनै अधिकार प्राप्ती सम्भव नरहेको बताए ।

प्रतिक्रिया