एफपीक कार्यान्वयन राष्ट्रिय निर्देशिका जारी, समुदायको सहमतिबिना परियोजना सञ्चालन गर्न नपाइने

दशीराम थारु
दशीराम थारु११ मंसिर २०८३
एफपीक कार्यान्वयन राष्ट्रिय निर्देशिका जारी, समुदायको सहमतिबिना परियोजना सञ्चालन गर्न नपाइने

आदिवासी जनजाति समुदायको स्वतन्त्र, पूर्वसुसूचित मञ्जुरी (एफपीक) बिना उनीहरूको थातथलोमा कुनै पनि परियोजना तथा क्रियाकलाप सञ्चालन गर्न नपाइने व्यवस्था गर्दै एफपीक कार्यान्वयन राष्ट्रिय निर्देशिका जारी गरिएको छ।

आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल आदिवासी जनजाति महासंघले संयुक्त रूपमा तयार पारेको निर्देशिका बिहीबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र ९यूएनडीआरआईपी० र अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ० महासन्धि नम्बर १६९ को पक्षराष्ट्र नेपाल भएकाले एफपीक कार्यान्वयन गर्नु सरकारको दायित्व भएको तीनै संस्थाले जनाएका छन्।

निर्देशिकामा कुनै पनि परियोजना निर्माण गर्नुअघि त्यसबाट समुदायमा पर्ने प्रभाव, सम्भावित फाइदा र बेफाइदाबारे जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ। एफपीक प्रक्रियालाई सहजीकरण गर्न विज्ञ समिति गठन गर्ने तथा सरकार, लगानीकर्ता र सम्बन्धित समुदायबीच त्रिपक्षीय करार गर्नुपर्ने व्यवस्था पनि निर्देशिकामा समेटिएको छ।

तीनै संस्थाका प्रमुखले जारी गरेको संयुक्त प्रेस वक्तव्यमा एफपीक कार्यान्वयनलाई एकरूपता दिन एकीकृत निर्देशिका तयार गरिएको उल्लेख छ। यसअघि विभिन्न संघसंस्थाले आ–आफ्नै ढंगले एफपीक कार्यान्वयन गर्दै आएकोमा आदिवासी जनजातिजन्य संघसंस्था तथा सरोकारवालासँग पटक–पटक छलफल गरी निर्देशिका तयार पारिएको वक्तव्यमा जनाइएको छ।

निर्देशिकामा कुनै पनि परियोजना निर्माण गर्नुअघि त्यसबाट समुदायमा पर्ने प्रभाव, सम्भावित फाइदा र बेफाइदाबारे जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ। एफपीक प्रक्रियालाई सहजीकरण गर्न विज्ञ समिति गठन गर्ने तथा सरकार, लगानीकर्ता र सम्बन्धित समुदायबीच त्रिपक्षीय करार गर्नुपर्ने व्यवस्था पनि निर्देशिकामा समेटिएको छ।

पत्रकार सम्मेलनमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले एफपीक प्रक्रियाको आर्थिक दायित्व सम्बन्धित परियोजनाले नै व्यहोर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार एफपीक प्रक्रियासम्बन्धी कुनै विवाद उत्पन्न भएमा आदिवासी जनजाति आयोगमा उजुरी दिन सकिने व्यवस्था गरिएको छ।

निर्देशिका आदिवासी जनजातिप्रतिको जिम्मेवारी र दायित्वलाई आत्मसात् गर्दै तयार पारिएको उल्लेख गर्दै अध्यक्ष थापामगरले यससँग सम्बन्धित कानुन निर्माण, निर्देशिकाको आवश्यक संशोधन तथा सिफारिस गर्ने दायित्व आयोगको रहेको बताउनुभयो।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा ह्योल्मो लामाले एफपीक विश्वव्यापी प्रयास र दबाबपछि आदिवासी जनजातिले अधिकारका रूपमा प्राप्त गरेको विषय भएको बताउनुभयो।

प्रथाजनित संस्थाको अवस्थाबारे पत्रकारले सोधेको प्रश्नमा आयोगका अध्यक्ष थापामगरले प्रथाजनित संस्था निर्देशिकाको केन्द्रमा रहेको दाबी गर्नुभयो।

निर्देशिका जारी गर्ने तीन संस्थाका तर्फबाट आयोगका अध्यक्ष रामबहादुर थापामगर, प्रतिष्ठानका निमित्त प्रमुख राम मादेन र महासंघका अध्यक्ष निमा ह्योल्मो लामाले संयुक्त प्रेस वक्तव्यमा हस्ताक्षर गर्नुभएको छ।

प्रतिक्रिया