काभ्रेपलाञ्चोक जिल्लाका भुम्लु र चौरीदेउराली गाउँपालिकाका आदिवासी तामाङ महिलाहरू जलवायु अनुकूलन तथा सामुदायिक उत्थानशीलताका क्षेत्रमा उदाहरणीय काम गर्न अग्रसर भएको स्थानीय तहका पदाधिकारीहरूले बताएका छन्।
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) र सलासान नेपालको आयोजनामा जलवायु परिवर्तनमा आदिवासी जनजाति महिलाको सशक्तीकरण कार्यक्रमअन्तर्गत बिहीबार आयोजित जिल्लास्तरीय सञ्जालीकरण गोष्ठीमा स्थानीय तहका पदाधिकारीहरूले यस्तो धारणा राखेका हुन्।
“हिंसा र विभेद भोगिरहेका आदिवासी महिलाको नेतृत्व विकासमार्फत भएको क्षमता अभिवृद्धि वास्तवमै क्रान्तिकारी कदम हो,” अध्यक्ष भुजेलले भन्नुभयो, “जलवायु परिवर्तनको जोखिमले आक्रान्त पारेको अवस्थामा महिलाहरूमा देखिएको जागरणलाई गाउँपालिकाले आगामी वर्ष पनि निरन्तरता दिनेछ।”
भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले आदिवासी महिलाहरूले चुलोचौकाको व्यवस्थापनसँगै परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गरिरहेको बताउनुभयो।
“हिंसा र विभेद भोगिरहेका आदिवासी महिलाको नेतृत्व विकासमार्फत भएको क्षमता अभिवृद्धि वास्तवमै क्रान्तिकारी कदम हो,” अध्यक्ष भुजेलले भन्नुभयो, “जलवायु परिवर्तनको जोखिमले आक्रान्त पारेको अवस्थामा महिलाहरूमा देखिएको जागरणलाई गाउँपालिकाले आगामी वर्ष पनि निरन्तरता दिनेछ।”
निफ र सलासान नेपालको सहकार्यमा यो कार्यक्रम विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको छ।
चौरीदेउराली गाउँपालिकाकी अध्यक्ष रेणुका चौलागाईंले निफको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमले समुदायमा चेतना र जागरण बढाउनुका साथै जलवायुमैत्री संरचना निर्माणमा समेत योगदान पुर्याएको बताउनुभयो।
“परियोजनाले स्थानीय तहको काममा महत्वपूर्ण टेवा दिएको छ। महिलाको क्षमता अभिवृद्धि र जलवायु उत्थानशील कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहको पनि हो,” अध्यक्ष चौलागाईंले भन्नुभयो।
स्रोत र साधनको अभाव रहेको अवस्थामा निफको जलवायु परिवर्तनमा आदिवासी जनजाति महिलाको सशक्तीकरण कार्यक्रमले गाउँपालिकाको काममा सहयोग पुर्याएको उहाँको भनाइ थियो। परियोजनाबाट महिलाहरू आत्मनिर्भर बन्नसमेत सहयोग पुगेको उल्लेख गर्दै उहाँले आगामी दिनमा गाउँपालिकाले सहजीकरण गर्दै कार्यक्रमलाई विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमको अध्यक्षता गर्नुभएका राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी अध्यक्ष सुनी लामाले महिलाको सहभागिता र महिलाकै अवधारणामा सञ्चालन भएको परियोजना आफैंमा उपलब्धि भएको बताउनुभयो।
“आदिवासी महिलाले पनि अवसर पाए भने उदाहरणीय काम गर्न सक्छन् भन्ने कुरा काभ्रेका आदिवासी महिलाहरूको कामबाट देखिएको छ,” उहाँले भन्नुभयो।
परियोजनाका कार्यक्रम संयोजक ऐश्वर्य ब्याञ्जुका अनुसार क्यानडास्थित आदिवासी जनजातिको संस्था सीआईईआरको प्राविधिक सहयोगमा निफ र आदिवासी महिला उत्थान केन्द्रले आदिवासी जनजाति महिला तथा किशोरीहरूलाई जलवायु नेतृत्व, योजना निर्माण, पैरवी तथा स्थानीय जलवायु कार्यका लागि क्षमता अभिवृद्धि गरिरहेको छ।








