सामहिक उत्सव, पुस्तान्तरणमा जोड

सरला चौधरी
सरला चौधरी१९ असोज २०८३, सोमवार
सामहिक उत्सव, पुस्तान्तरणमा जोड

थारू समुदायले आफ्नो मौलिक पहिचान, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा जोड दिँदै राजधानीमा सामूहिक रूपमा जितिया पर्व मनाएका छन् । 
थारू महिला समाज, उपत्यका समितिले आइतबार ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा ‘थारू राष्ट्रिय जितिया पर्व–२०८३’ तथा जितिया पाथने एवं पूजा कार्यक्रम आयोजना गरेको हो ।  ‘कला, संस्कृति र भेषभूषा थारूहरूको पहिचान, संरक्षण, सम्बद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा काठमाडौँ उपत्यकामा बसोबास गर्ने थारू समुदायको सहभागिता थियो । 
परम्परागत थारू पहिरन र चाँदीका गहना लगाएका महिलाहरूले जितिया पर्वको धार्मिक विधिअनुसार सामूहिक रूपमा पूजाआजा तथा ‘जितिया पाथने’ गरेका थिए । सन्तानको दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै महिलाहरू दिनभर निराहार र निर्जल व्रत बसेका थिए । सो अवसरमा उनीहरूले जितियाको पौराणिक व्रतकथा अर्थात् जिमुतवाहनको कथा श्रवणसमेत गरेका थिए । 
कार्यक्रममा पूजाआजासँगै थारू समुदायको मौलिक कला, संस्कृति र परम्परा झल्काउने सांस्कृतिक प्रस्तुति गरिएको थियो। । थारू समुदायको परम्परागत झुप्रा नृत्य, लोकगीत तथा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । कार्यक्रममा जितिया कथावाचन समाजको उपाध्यक्ष मालती चौधरीले गर्नु भएको थियो
कार्यक्रममा प्रतिनिधि सभा सदस्य निरासा चौधरीलगायतको उपस्थिति थियो । थारू महिला समाजकी अध्यक्ष सुशिला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले जितिया पर्वलाई केवल धार्मिक पर्वका रूपमा नभई थारू समुदायको पहिचान, सभ्यता र सांस्कृतिक निरन्तरतासँग जोडेर संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । 
प्रतिनिधि सभा सदस्य निरासा चौधरीले पहिचान जोगाउन जितिया पर्वलगायत मौलिक संस्कृति र परम्पराको संरक्षण आवश्यक रहेको बताउनुभयो ।  उहाँले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै थारू महिलाहरूले संस्कृति संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो । 
थारू कल्याणकारिणी सभा, उपत्यका समितिका अध्यक्ष शत्रुधन चौधरीले थारू समुदायको अधिकार र पहिचानका लागि सामूहिक एकता आवश्यक रहेको बताउनुभयो । उहाँले जितिया पर्वमा सरकारले सार्वजनिक बिदा दिन नसकेकोप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा आयोजना हुने जितिया कार्यक्रमलाई थारू समुदायले सामूहिक रूपमा एउटै स्थानमा मनाउनुपर्नेमा जोड दिनुभयो । 

भएको कार्यक्रममा वक्ताहरूले जितिया पर्वलाई केवल धार्मिक पर्वका रूपमा नभई थारू समुदायको पहिचान, सभ्यता र सांस्कृतिक निरन्तरतासँग जोडेर संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । 

 

संस्थाका सल्लाहकार बुद्धसेन चौधरीले जितिया पर्व एउटा पर्व मात्र नभई थारू सभ्यताको अभिन्न हिस्सा भएको बताउनुभयो। सन्तानको सुख, दीर्घायु र कल्याणको कामना गर्दै महिलाहरूले गर्ने कठिन व्रतसँग थारू समुदायको मौलिक ज्ञान, विश्वास र सांस्कृतिक परम्परा जोडिएको उहाँको भनाइ थियो । 
थारू महिला समाजकी अध्यक्ष सुशिला चौधरीले जितियाको कठिन व्रत र उत्सवले आधुनिक समयमा थारू पहिचानको संरक्षण तथा नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न महत्त्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । 
उहाँले भन्नुभयो, “जितिया हाम्रो धार्मिक आस्था मात्र होइन, थारू समुदायको पहिचान र सांस्कृतिक निरन्तरतासँग जोडिएको पर्व हो ।  नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्न यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ ।”

कार्यक्रममा सहभागी वक्ताहरूले आधुनिक र सहरी वातावरणमा हुर्किरहेको थारू युवा पुस्तालाई आफ्नो मौलिक पहिचान, भाषा, संस्कृति र परम्परासँग जोड्न यस्ता सांस्कृतिक उत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।  उनीहरूले जितिया पर्वमार्फत थारू समुदायको सांस्कृतिक ज्ञान र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका थिए । 
 

प्रतिक्रिया