जलवायु वित्तका लागि भावनात्मक अपिल होइन, प्रमाणमा आधारित दाबी आवश्यक

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस५ असोज २०८३, सोमवार
जलवायु वित्तका लागि भावनात्मक अपिल होइन, प्रमाणमा आधारित दाबी आवश्यक

जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालजस्ता देशले जलवायु वित्त तथा ‘लस एन्ड ड्यामेज’ कोषबाट सहायता प्राप्त गर्न भावनात्मक अपिल मात्र गरेर नपुग्ने विज्ञहरूले बताएका छन् । उनीहरूका अनुसार अन्तर्राष्ट्रिय मञ्चमा तथ्य, प्रमाण र स्पष्ट परियोजनासहित दाबी प्रस्तुत गर्नुपर्छ ।
जलवायु वित्तसम्बन्धी विज्ञ प्राडा. रघुबीर बिष्टका अनुसार जलवायु परिवर्तनबाट भएको क्षतिको दाबी गर्न त्यसको जलवायु परिवर्तनसँगको सम्बन्ध प्रमाणित गर्न आवश्यक हुन्छ । जोखिममा रहेका समुदाय र क्षेत्रको क्षति, जलवायुजन्य जोखिम, जोखिम न्यूनीकरणका लागि गरिएका प्रयास तथा क्षति कम गर्न अपनाइएका उपायको व्यवस्थित अभिलेख राखिनुपर्ने उहाँको भनाइ छ । 
नेपालमा जलवायु परिवर्तनका कारण जोखिम र विपद् बढेको विषयमा व्यापक बहस भए पनि अन्तर्राष्ट्रिय जलवायु वित्त प्राप्त गर्न आवश्यक प्रमाण संकलन र परियोजना विकासमा अझै कमजोरी रहेको बिष्टले बताउनुभयो । 
“बाढी गयो भन्दैमा त्यसलाई जलवायु परिवर्तनसँग जोडेर मात्र स्थापित हुँदैन। त्यसका लागि प्रमाण आवश्यक हुन्छ,” बिष्टले भन्नुभयो । 

नेपालमा जलवायु परिवर्तनका कारण जोखिम र विपद् बढेको विषयमा व्यापक बहस भए पनि अन्तर्राष्ट्रिय जलवायु वित्त प्राप्त गर्न आवश्यक प्रमाण संकलन र परियोजना विकासमा अझै कमजोरी रहेको बिष्टले बताउनुभयो । 

 


उहाँका अनुसार नेपालले जलवायु वित्तअन्तर्गत अनुकूलन, न्यूनीकरण तथा ‘लस एन्ड ड्यामेज’का लागि उपलब्ध अन्तर्राष्ट्रिय कोषमा पहुँच बढाउन परियोजना विकास, प्रस्ताव लेखन, प्रमाण संकलन र अन्तर्राष्ट्रिय वार्ताको क्षमता सुदृढ गर्न आवश्यक छ । 
रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको ठूलो बाढीलाई जलवायु परिवर्तनसँग जोडेर ‘लस एन्ड ड्यामेज’को दाबी गर्ने विषयमा पनि पर्याप्त वैज्ञानिक तथा तथ्यगत अध्ययन आवश्यक रहेको उहाँले बताउनुभयो । हिमनदी, तापक्रम वृद्धि, पहिरो, नदीको बहाव तथा मानवीय व्यवस्थापनका पक्षलाई छुट्टाछुट्टै अध्ययन गरी घटनाका कारण पहिचान गर्नुपर्ने उहाँको सुझाव छ । 

“तापक्रम बढेको र हिमनदी पग्लिएको अवस्था छ भन्दैमा यही घटनाको कारण जलवायु परिवर्तन हो भनेर मात्र पुग्दैन। पहिरो, पानीको व्यवस्थापन, जोखिमयुक्त क्षेत्रमा बस्ती विस्तारलगायत सबै पक्षलाई जोडेर हेर्नुपर्छ,” बिष्टले भन्नुभयो । 
विकास नीति र जोखिम व्यवस्थापन
नेपालले जलवायु वित्त प्राप्त गर्ने दाबीलाई देशभित्रकै विकास नीति र जोखिम व्यवस्थापनसँग जोडेर हेर्नुपर्ने बिष्टले बताउनुभयो । नदी तथा खोलाको जोखिम क्षेत्रमा बस्ती र पूर्वाधार विस्तार भइरहेकाले भविष्यमा हुने क्षतिलाई केवल जलवायु परिवर्तनका कारण भएको भनेर दाबी गर्दा प्रश्न उठ्न सक्ने उहाँको भनाइ छ । 
उहाँका अनुसार जलवायु–उत्थानशील विकास, पूर्वसूचना प्रणाली, जोखिम न्यूनीकरण तथा सुरक्षित पूर्वाधार निर्माणमा राज्यले गरेका कामको प्रमाण पनि जलवायु वित्तको दाबीका लागि महत्वपूर्ण हुन्छ । 
“जलवायु परिवर्तनको जोखिम घटाउने हाम्रो नीति र व्यवहार पनि जलवायु–उत्थानशील हुनुपर्छ। त्यसपछि मात्रै क्षतिको दाबीलाई प्रमाणसहित प्रस्तुत गर्न सकिन्छ,” बिष्टले बताउनुभयो । 
समुदायको प्रत्यक्ष पहुँच
आदिवासी तामाङलगायत जलवायु जोखिममा रहेका समुदायले जलवायु वित्तमा प्रत्यक्ष पहुँच कसरी बनाउन सक्छन् भन्ने प्रश्नमा बिष्टले समुदायले आफ्ना समस्या र क्षतिको तथ्यगत अभिलेख तयार गर्नुपर्ने बताउनुभयो । 
उहाँका अनुसार समुदायको पहिचान मात्र पर्याप्त हुँदैन। जलवायु जोखिमको प्रमाण, क्षतिको अभिलेख, जोखिम न्यूनीकरणका लागि समुदायले गरेका प्रयास तथा त्यसका आधारमा तयार गरिएको परियोजना आवश्यक हुन्छ । 
“मुख्य कुरा प्रमाण हो। जलवायु परिवर्तनको जोखिमको प्रमाण हुनुप¥यो र त्यससँगको सम्बन्ध स्थापित हुनुप¥यो। त्यसपछि जोखिम घटाउन समुदायले के ग¥यो, त्यसको अभिलेख र त्यसका आधारमा परियोजना कसरी विकास गरियो भन्ने महत्वपूर्ण हुन्छ,” उहाँले थप्नुभयो । 
जलवायु वित्तअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय कोषबाट अनुकूलन, न्यूनीकरण तथा ‘लस एन्ड ड्यामेज’सँग सम्बन्धित परियोजनामा वित्तीय सहयोग उपलब्ध हुने भए पनि त्यसका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्ने बिष्टले जानकारी दिनुभयो । 
जलवायु परिवर्तनमा नेपालको योगदान न्यून र जोखिम उच्च रहेको आधारमा नेपालले अन्तर्राष्ट्रिय जलवायु वित्तको माग गर्दै आएको छ। तर त्यसलाई प्रभावकारी बनाउन भावनात्मक अपिलभन्दा प्रमाणमा आधारित दाबी र व्यावहारिक परियोजना विकास आवश्यक हुने उहाँको निष्कर्ष छ । 
“भावनामा होइन, तथ्यमा जानुपर्छ। क्रमबद्ध रूपमा जलवायु परिवर्तनको जोखिम कम गर्ने काम गर्दै जानुपर्छ। त्यसो गर्न सकियो भने प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जलवायु वित्तमा पहुँचको सम्भावना बढ्छ,” बिष्टले भन्नुभयो।

प्रतिक्रिया