धर्म निरपेक्षलाई संकटमा पारे यहाँ रगतको खोला बग्ने चेतावनी

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२३ साउन २०७२, शनिवार
धर्म निरपेक्षलाई संकटमा पारे यहाँ रगतको खोला बग्ने चेतावनी

किरात, बौद्ध, इश्लाम, इशाई र शिख धर्मावलम्बीहरुको संयुक्त पत्रकार सम्मेलन

नेपालको अन्तरिम संविधानमा नै राखिएको धर्म निरपेक्ष शब्दावलीलाई उल्टाउने घिनलाग्दो चलखेल गर्ने सरकार र त्यसैको आडमा सडकमा ओर्लेर हतियारसम्म प्रदर्शन गर्दै धार्मिक द्वन्द्वको निमित्त आह्वान गर्ने हिन्दू अतिवादीहरुको क्रियाकलापविरुद्ध हिजो किरात, बौद्ध, इश्लाम, इशाई र शिख धर्मावलम्बीहरुले खबरदारीस्वरुप संयुक्त पत्रकार सम्मेलन गरे।

कार्यक्रममा प्रेश विज्ञप्ति वाचन गर्नुहुँदै किरात धर्मका प्रमुख डकेन्द्रसिं थेगिमले संविधानमा धर्म निरपेक्ष उल्लेख नभएसम्म आन्दोलन कुनै पनि हालतमा नरोकिने र यस उपर घृणित चलखेलहरु हुँदै गए त्यसको प्रतिकार गर्ने र त्यसको जिम्मेवार सरकार र सम्बन्धित पक्ष हुने चेतावनी दिनु भयो।

कार्यक्रमका अध्यक्ष तथा बौद्ध धर्मका प्रमुख फुपु छेम्बा शेर्पाले गेरु बस्त्र लगाएर पनि बौद्ध धर्मावलम्बीहरु आज आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनु पर्ने बाध्यता धर्म निरपेक्षलाई संकटमा पुर्‍याउने सरकारमा रहेकाहरु, धर्मलाई व्यापार बनाउनेहरु र हिन्दू अतिवादीहरुको कारण भएको आरोप लगाउनु भयो। तसर्थ सरकारलाई धर्म निरपेक्षवादीहरु धर्म निरपेक्षको संरक्षणार्थ आन्दोलनमा उत्रदैछन् भन्ने खबरादारी गर्न तथा ९४ प्रतिशत ओमकार समूह भन्दै आएको धार्मिक असहिष्णुतापूर्ण क्रियाकलापमा रहेकालाई किरात, बौद्ध, इश्लाम, इशाइ र शिख ओमकार समूहमा नपर्ने जानकारी गराउन यो पत्रकार सम्मेलनको मुख्य उद्देश्य रहेको खुलासा गर्नुभयो। वहाँ आदिवासी जनजाति सभासद तथा राजनीतिकर्मीहरुलाई समेत समयमै सचेत रहन, अहिले धर्मको नाममा आन्दोलन गर्ने गराउनेहरुलाई यसरी धर्मलाई राजनीतिकरण र व्यापारीकरण नगर्न नगराउन आग्रह गर्नुभयो। साथै, अब आदिवासी, जनजाति, दलित, मधेशी तथा धर्म निरपेक्षवादी धार्मिक समुदायले एक छाक खाएर अनि एक छाक आन्दोलनमा खर्चेर साँच्चिकै अन्तिम लडाईं थाल्नुपर्ने बेला भएकोले तयारी रहन आह्वान गर्नुभयो।

इश्लाम धर्मका प्रमुख नजरुल हुसेनले यो संविधान मस्यौदा गर्ने घोषणा गर्ने हिन्दूहरु नै भएको जानकारी दिंदै कमल थापाको अन्तर्वार्तालाई आधार मान्दै भन्नुभयो, हिन्दू धर्ममा राष्ट्र चलाउने क्षमता छैन। जनआन्दोलन भाग २ मा दमन गर्ने उनलाई अदालती कारवाही नगर्नाले यस्ता देशद्रोहीले विध्वंशात्मक कार्य गरिरहेको आरोप लगाउनु भयो। केही दिन अघिमात्र सरकारले बर्बरतापूर्ण दमन गरेको दलित भनिनेहरु हिन्दू भनिरहेकाहरु भित्र पर्दैनन् तर र हिन्दू राष्ट्र नै भएपनि उनीहरु सधैं अन्यायमा परिरहन्छन् तैपनि उनीहरु आफू हिन्दू हौं भनेर किन भनिरहेका छन्, न त सँगै बस्ने अधिकार छ न त मन्दिरमा पस्ने अधिकार छ। र, प्रश्न गर्नुभयो हिन्दू राष्ट्र भएमा हिन्दू भित्रकै कसलाई फाइदा पुग्छ? हुसेनले मन्तव्यकै क्रममा आफ्नो नेता जन्माएर अगाडि बढ्नु पर्ने बेला आएको उल्लेख गर्दै अब भीख माग्न छोडेर अगाडि बढ्नुपर्ने चुनौतीपूर्ण आह्वान गर्नुभयो।

ईशाइ धर्मका प्रमुख उत्तम परियारले संविधान सभाले धर्म धर्महरुबीच लडाउने खेल खेलिरहेको बताउनु भयो। वहाँले अगाडि भन्नुभयो, धर्म निरपेक्ष शब्दलाई उल्टाइन्छ पछाडि धकेलिन्छ भने जनयुद्ध भन्दा विकराल युद्ध हुनेछ र यो जमीनमा धान नफलेर बन्दूक फल्नेछ, खोलामा पानी नबगेर रगत बग्नेछ।

नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष डण्डु शेर्पाले धर्म निरपेक्ष पक्षधरहरुको कार्यक्रममा महासंघले ऐक्यवद्धता जनाउने प्रतिवद्धता जनाउनुभयो। सोही क्रममा नेपालमा हिन्दू राष्ट्र बनाउन भारत लागिपरेको आरोप लगाउनुहुँदै नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्न चेतावनी दिनुभयो र भन्नुभयो, सक्छौ भने भारतलाई हिन्दु राष्ट्र बनावोस्।

त्यस्तै यस आन्दोलनमा अन्तिम समयसम्म साथ दिने प्रतिवद्धता नेपाल आदिवासी जनजाति महिला महासंघकी पूर्व अध्यक्ष निमी शेर्पाले जनाइन्।

किरात धर्मका पूर्व संगठन विभाग प्रमुख एनएस फागोद्वारा सञ्चालित पत्रकार सम्मेलनमा बौद्ध थेरवादबाट भिक्षु कौण्डय, बौद्ध बज्रयानका प्रा.डा. नरेशमान बज्राचार्य, किरात ज्योतिषका चन्द्रकुमार सेर्मा अतिथि रहनु भएको थियो। विभिन्न धर्मावलम्बीहरु धार्मिक पोशाकमा प्रतिनिधिमूलक उपस्थिति रहेको सो कार्यक्रम काठमाण्डौ अनामनगरस्थित तमु बौद्ध सेवाको सभाकक्षमा भएको थियो।

प्रतिक्रिया