रसुवा र नुवाकोटमा भदौ १० गते आएको भोटेकोशी–त्रिशूली बाढीबाट भएको ठूलो जनधनको क्षति प्राकृतिक घटनाको परिणाम मात्र नभई मानव सिर्जित विकास निर्माण र जोखिमयुक्त बस्ती विस्तारसँग जोडिएको तामाङ अगुवाहरूले बताएका छन्।
ताम्सालिङ नागरिक समाजले आइतबार काठमाडौंमा आयोजना गरेको तामाङ अगुवाहरूको भेलामा सहभागी वक्ताहरूले नदीको बहाव क्षेत्रमा नै सडक तथा अन्य पूर्वाधार निर्माण गर्ने शैलीले विपद्को जोखिम र क्षति दुवै बढाएको बताएका हुन्।
ताम्सालिङ नागरिक समाजका संयोजक डा. मुक्तसिं लामाले तामाङ समुदायको परम्परागत बस्ती प्रणालीमा जोखिमयुक्त नदी किनाराभन्दा डाँडाकाँडा रोज्ने अभ्यास रहेको उल्लेख गर्दै आधुनिक विकाससँगै सडक, बजार, विद्युत् र अन्य पूर्वाधारको पहुँचका कारण नदी आसपासमा बस्ती विकास भएको बताउनुभयो।
‘टिम्बुरे गाउँमा ४३ जना मात्र बाँचेका छन्। त्यहाँ अहिले मान्छे भेटिँदैन। स्याफ्रुवेंशीमा २३० जना बेपत्ता छन्। मेरै सालो र भाइहरू छैनन्,’ उहाँले भन्नुभयो।
उहाँले विपद्ले आदिवासी तामाङहरूलाई पछ्याइरहेको सिलसिला प्रस्तुत गर्दै मेलम्ची, रोशी, लिदी, जुरेको पहिरोलगायतका घटनाबाट ताम्सालिङ क्षेत्र प्रभावित हुँदै आएको र यसलाई ‘ताम्सालिङ विपद्’ भन्नुपर्ने प्रस्ताव गर्नुभयो।
डा. लामाले भोटेकोशी–त्रिशूली बाढीमा परी मृत्यु भएका १,३४४, उद्धार गरिएका १३,०९८ जना र सम्पर्कविहीन भएका ४,८०० जनाको तथ्याङ्क प्रस्तुत गर्दै सम्पर्कविहीनमध्ये ४० प्रतिशत तामाङ, २५।८ प्रतिशत खसआर्य, ६ प्रतिशत नेवार, ६ प्रतिशत दलित र ६ प्रतिशत विदेशी नागरिक रहेको बताउनुभयो।
बागमती प्रदेशसभाका सांसद राधिका तामाङले रसुवा र नुवाकोटमा भदौ १० गते भएको विनाशकारी घटना प्राकृतिकभन्दा पनि मानव सिर्जित भएको बताउनुभयो।
‘खोला नजिक बनेका सडक संरचनाका कारण धेरै क्षति भएका छन् । यो क्षति प्राकृतिकभन्दा पनि मानव सिर्जित विपद् हो,’ सांसद तामाङले भन्नुभयो, ‘अब हामीले विकास निर्माणको शैली बदल्नुपर्छ। यस्तै रहे थप विनाश निम्त्याइरहन्छ।’
पूर्वमन्त्री हितबहादुर तामाङले पनि हिमनदीका तटीय क्षेत्रमा सडक निर्माण गर्दा पुनर्विचार गर्नुपर्ने बेला आएको बताउनुभयो। उहाँले बाढीका कारण ६२ वटा जिल्लाका नागरिक सम्पर्कमा आउन नसकेको तथ्याङ्क प्रस्तुत गर्दै नुवाकोटमा थुपारिएको राहत सामग्री केही महिनापछि खोलाले बगाउने स्थिति आउनसक्ने बताउनुभयो।
‘एक त जनसंख्या नै कम छ, दोस्रो राहत लिने मान्छे नै घटनामा परे। सरकारले राहत बाँडेको छैन, नुवाकोटमा थुपारेर राखेको छ,’ पूर्वमन्त्री तामाङले स्थितिबारे जानकारी दिँदै भन्नुभयो।
रसुवा निवासी फुर्वा तेन्जिङ तामाङले बाढीबाट भएको भयावह क्षतिको विवरण सुनाउँदै केही गाउँ नै सखाप भएको बताउनुभयो।
‘टिम्बुरे गाउँमा ४३ जना मात्र बाँचेका छन्। त्यहाँ अहिले मान्छे भेटिँदैन। स्याफ्रुवेंशीमा २३० जना बेपत्ता छन्। मेरै सालो र भाइहरू छैनन्,’ उहाँले भन्नुभयो।
‘खोला नजिक बनेका सडक संरचनाका कारण धेरै क्षति भएका छन् । यो क्षति प्राकृतिकभन्दा पनि मानव सिर्जित विपद् हो,’ सांसद तामाङले भन्नुभयो, ‘अब हामीले विकास निर्माणको शैली बदल्नुपर्छ। यस्तै रहे थप विनाश निम्त्याइरहन्छ।’
उहाँले रसुवाका पाँच वटा क्षेत्र अझै सम्पर्कविहीन रहेको बताउँदै वडा नं। १ को खाल्टेमा रहेको बस्तीसमेत सखाप भएको र बेत्रावतीमा पनि ठूलो क्षति भएको जानकारी दिनुभयो।
‘जुन किसिमले त्यहाँ उद्धार गर्नुपर्ने थियो, त्यो हिसाबले उद्धार भएको छैन,’ उहाँले भन्नुभयो।
काठमाडौंको यल्लो गुम्बामा करिब एक हजार प्रभावित बसेको जानकारी दिँदै उहाँले बाढीले रसुवा र नुवाकोटका तामाङ समुदायमा ठूलो क्षति पुर्याएको बताउनुभयो।
भेलामा समाजशास्त्री डा. संग्रामसिंह लामा, बौद्ध क्षेत्र विकास समितिका पूर्व कार्यकारी निर्देशक मोहनकुमार तामाङ, तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङ, चलचित्र निर्देशक रोशन फ्युबा, नेपाल तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष सञ्चु ब्लोन, मिलन तामाङ ९सिन्धुपाल्चोक० लगायतले बाढीबाट तामाङ समुदायमा परेको प्रभावबारे धारणा राख्नुभएको थियो।
ताम्सालिङ नागरिक समाजले भेलाबाट प्राप्त सुझाव संकलन गरी यस विषयमा आफ्नो अवधारणा सार्वजनिक गर्ने जनाएको छ।







