भोटेकोशीमा आएको बाढीले पुरै तामाङ समुदाय शोक मा डुबेको छ । सरकारी अभिलेख अनुसार बाढीबाट हालसम्म १२५९ जनाको मृत्यु भएको तथ्याँक छ । अझै ५०५३ जना सम्पर्कविहिन छन् । यस मध्ये अधिकाँश आदिवासी तामाङ समुदायका व्यक्तिहरु छन् ।
त्यसै पनि रसुवा, नुवाकोट, धादिङ तामाङ बहुल क्षेत्र हो । यसकारण पनि यो घटनामा तामाङहरु धेरै प्रभावित भएका छन् । हुन त यो देशकै लागि अभिसाप हो । सबै समुदायलाई बाढीले प्रभावित बनाएको छ । यसमा बिदेशी पनि छन् । तथापि तामाङहरुको थातथलोमा भएको यो घटनाबाट तामाङहरुमा बज्रपात नै परेको छ ।
यसरी प्रभावित मध्ये दावा फिन्जो तामाङ पनि हुनु हुन्छ । तामाङ समुदायबाट राज्यको उच्च पदमा पुग्ने उहाँ पहिलो तामाङ हुनु हुन्छ । हिमाली क्षेत्र गोसाईकुण्डस्थित चोलाङ डाँडामा जन्मनु भएका दावा फिन्जो तत्कालीन संसद राष्ट्रिय पंचायतको पहिलो उपाध्यक्ष हुनु भएको हो ।
हाल ९१ बर्ष उकालो लागि सक्नु भएका दावा फिन्जो रसुवाको सानो भार्खु गाउँमा बस्नु हुन्छ । जो गोसाइकुण्ड गाउँपालिका वडानम्बर ५मा पर्छ ।
उहाँले सञ्चारसंस्थाका प्रतिनिधिहरुलाई आफ्नो पीडादायी बाध्यता सुनाइरहनु भएको समाचारहरु प्रकासित छन् । प्रकासित समाचार अनुसार समाजमा पीडालाई कम गर्न गराउन सम्झाउने र व्यथा बाड्ने काम गरिरहनु भएको छ ।
सरकारी अभिलेख अनुसार बाढीबाट हालसम्म १२५९ जनाको मृत्यु भएको तथ्याँक छ । अझै ५०५३ जना सम्पर्कविहिन छन् । यस मध्ये अधिकाँश आदिवासी तामाङ समुदायका व्यक्तिहरु छन् ।
स्याफ्रुबेसीमा दावाका छोरा फुर्पासाङको होटल थियो, बुद्ध गेष्ट होटल । पुर्खौली सम्पत्ति र चार पुस्ताको मेहनतबाट समृद्ध हुँदै गएको होटल व्यवसाय नाती टिन्डु छिरिङले सम्हाल्न थाल्नु भएको थियो ।
स्याफ्रु बजारदेखि माथि (उत्तर तर्फ) भिरालो भार्खु गाउँस्थित पुर्खौली घरबाट करोडौं मूल्यको होटल व्यवसायसम्मको प्रगतिबाट खुशी हुनु भएका दावा फिन्जो परिवारको खुशी भदौ १० बाट सदाको लागि छिनाएर लग्यो ।
भोटेकोशीमा आँधी आयो, स्याफ्रुबजार बगायो । त्यो अट्यास लाग्दो बाढीको भेलमा समृद्धिको शिखरमा पुगेको होटल मात्र होइन, छोरा फुर्पासाङ, बुहारी छेटिन, नाति टिन्टु छिरिङ, नातिनी बुहारी याङ्जी, पनाति कल्साङ र एक जना काम गर्ने मान्छे समेतलाई बग्यो । एउटा नराम्रो सपना जस्तो, विपनामा नै भयो ।
उनीहरु एक हप्ता भार्खु बस्ने गरी त्यहाँ पुगेका थिए । त्यही कारण दावा दम्पत्ति बच्न सफल भए । तर सय वर्ष नजिकको उमेरमा आफूहरू बाँचेर आफ्नै तीन पुस्ता गुमाउनुको पीडा उहाँ व्यक्त नै गर्न सक्नु हुन्न ।
उहाँका दुई छोराहरू (एक जना बेलायत र अर्को अस्ट्रेलिया बस्छन्) नेपाल फर्कने तयारीमा छन् । काठमाडौंमा पढ्ने कान्छो पनातिलाई यो खबर दिएका छैनन् ।
दावाफिन्जो तामाङको ‘भेडिगोठ देखि राष्टिय पञ्चायतसम्म’ नामको जीवनीमूलक पुस्तक प्रकासित छ । पुस्तकमा उहाँले जीवनमा गरेका परम्परागत संघर्ष देखि समस्याहरुको फिहरिस्त प्रस्तुत गर्नु भएको छ । तर पुस्तकमा यस्तो संकटको कतै बर्णन छैन ।
यद्यपि उहाँले हिमताल फुट्यो भने पुल, गाउँ, बाटो बगाउनेगरी बाढी आउँछ भन्ने पुर्खाहरूले सुनाउने गरेको बताउनु भएको छ । ‘एउटा कुरा सुनेको थिएँ– घम्बल (हिमताल फुट्दा आउने बाढी) पुलमाथिबाट जान्छ भनेर । यसपाली त्यस्तै भयो,’ उहाँले बताउनु भयो ।
गोसाईंकुण्ड गाउँपालिकाको तथ्याङ्क अनुसार, स्याफ्रुको जनसंख्या २,४६२ जना हो । उनीहरूमध्ये ४५० जना वृद्धवृद्धा थिए । त्यसमध्ये कति जोगिए भन्ने प्रारम्भिक अनुमान गर्न सकिएको छैन ।
बाढीले स्याफ्रुलाई भौगोलिक रुपमै चार टुक्रा बनाएको छ । भोटेकोशीको वारीपारी आउजाउ गर्न सकिने कुरै भएन । बाढीले स्याफ्रु बजार दोभानको भार्खु खोला पुल पनि बगाएकाले अर्को थप दुई भागमा स्याफ्रु बाँडिएको छ । अर्थात् हिंडेर कतै पुग्न सकिंदैन ।
टेलिफोन, सडक, पुल जस्ता कनेक्टिभिटी बिच्छेद हुँदा जीवितै रहेका सदस्यहरूबीच पनि भेटघाट हुन सकिरहेको छैन । उनीहरूमध्ये धेरैजसो होटल व्यवसायमा संलग्न थिए । त्यसपछि यातायात मजदुरी र कृषिमा आश्रित थिए । भोटेकोशी किनारको स्याफ्रु भन्दा माथिका भिरालो जमिनमा खेतीकिसान गर्नेहरूकै परिवारका सदस्यहरू पनि होटल, यातायात मजदुरी र जलविद्युत् आयोजनामा काम गर्थे । यिनै तीन क्षेत्रमा काम गर्नेहरू बाढीमा परेर बगेका छन् ।








