तमू ल्होसारमा कर्मरेखा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२३ पुष २०७१, बुधवार
तमू ल्होसारमा कर्मरेखा

क्वालालम्पुर, मलेसिया । नेपाली जनजीवनमा पारिवारिक समस्या आउनुमा वैदेशिक रोजगारीको ठूलो हात छ । यस समस्याका कारण दिनादिनु सम्बन्ध बिग्रिएको समाचार पढ्न परिरहेको छ । हङकङ आइडीको कारण कतिका सपना टुटे, कतिका भविष्य अन्धकार बने त्यसका लेखाजोखा गर्ने हो भने भयंकर ठूलो ठेली बन्न सक्छ । तिनै ठेलीलाई नजिकबाट बुझाउन चलचित्र ‘कर्मरेखा’ बनेको छ । जुन चलचित्रलाई २५९९ औं ल्हु ल्होसार तथा नयाँ वर्ष २०१५ को अवसर पारेर नेपाल तमू समाज मलेसियाले कोतारायास्थीत होटल फाइभइलेमेन्टमा प्रदर्शन गरेको छ ।

गत वर्ष कवड्डी चलचित्रले नेपाली सिनेजगतमा बाजी मारेको थियो । कवड्डीबाट रिश्मा गुरुङले नायिकाको रूपमा पर्दापण गरेकी थिइन्, उनै रिश्माद्वारा अभिनित चलचित्र हो कर्मरेखा । जसमा अन्य कलाकारहरू सुवास गुरुङ, चौ गरुङ, श्रीप्रसाद गुरुङ, सुनिता गुरुङ आदि अन्य मुख्य भूमिकामा छन् ।

गुरुङ भाषा संस्कृतिसँग नजिक चलचित्र कर्मरेखालाई मेनु गुरुङ, ज्ञान गुरुङ, कृष्ण गुरुङ, गिरी गुरुङ, खिम गुरुङ, गोरे गुरुङ, कमकुमारी गुरुङ, रोशनी गुरुङ, समिक्षा गुरुङद्वारा निर्माण गरिएको हो । आइडीको आडमा गाउँ निमुखा युवतीमाथि गरेको दुव्र्यवहारको पश्चताप यस चलचित्रको मुख्य विषयवस्तु हो ।

नेपाल तमू समाज मलेसियाले विगत १३ वर्षदेखि ल्होसार मनाउँदै आएकोमा यसपटक पनि निरन्तरता दिएको छ । सम्मान तथा चलचित्र प्रदर्शन गरेर समाजले यसपटक ल्होसार मनाएको हो । हङकङमा छायकन गरिएको चलचित्र ‘कर्मरेखा’ हेरेर दर्शकहरु मन्त्रमुग्ध बनेका थिए । यसभन्दा अघि पनि ल्होसारकै अवसर पारेर चलचित्र प्रदर्शन तथा नेपालबाट कलाकार झिकाएर कार्यक्रमसमेत गरिसकेको छ ।

नेपाल दुतावासका द्वित्तिय सचिव उत्तम शाहीको प्रमु आतिथ्यतामा एनआरएन मलेसियाका अध्यक्ष शंकरबहादुर पौडेल, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सुन्दर आले, दलित एकता नेटवर्ककी अध्यक्ष सरु सुनार आदिको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा तमू चेलीहरूलाई सम्मानसमेत गरेको थियो । कार्यक्रममा प्रायोजक सोल्टी रेष्टुरेन्ट, हिमालयन, खाजाघर, भान्साघर रेष्टुरेन्ट, एमकेटी मार्केटिङ, गुरुङ मार्केटिङ, अन्नपूर्ण मिनिमार्केट, सुनौलो रेष्टुरेन्ट, नमस्ते पसल, लाङ्घाली किनमेल सेन्टरलाई पनि सम्मानपत्र दिइएको थियो ।

समाजका अध्यक्ष अगम तमूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खड्ग तमूद्वारा स्वागत, ढेकेन्द्र गुरुङ र हेमा गुरुङको स्वागत नृत्य र केश तमूको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया