धर्म निरपेक्ष नभए किरात या बौद्ध राष्ट्र हुनुपर्ने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२० साउन २०७२, बुधवार
धर्म निरपेक्ष नभए किरात या बौद्ध राष्ट्र हुनुपर्ने

संविधानमा धर्म निरपेक्षता कायम गराउन किरात, बौद्ध, इश्लाम, इशाई, शिख र बहाईको अगुवाईमा सो धर्महरुसँग सम्बद्ध संगठनहरु र आदिवासी जनजातीय संस्थाका प्रतिनिधिहरुको काठमाण्डौस्थित बौद्धमा आज बसेको संयुक्त बैठकले धर्म निरपेक्ष संरक्षण समितिको निर्माण गरेको छ।

सो समितिको नेतृत्व गर्नको लागि किरात, बौद्ध, इश्लाम, इशाई र शिख धर्मावलम्बीहरुको प्रमुख या प्रतिनिधिहरुको एक अध्यक्ष मण्डल निर्माण गरेको छ। सो अध्यक्ष मण्डलको भोलि बिहान बस्ने बैठकले आन्दोलनको रणनीति तय गर्नेछ।

आजको बैठकमा सबै धर्मका प्रमुख तथा प्रतिनिधिहरु एवं जातीय संस्थाका प्रतिनिधिहरुले संविधानमा धर्म निरपेक्षता कार्यान्वयन नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने आफ्नो संस्थाबाट प्रतिवद्धता जनाएका थिए।

यही क्रममा पहिचान र धर्म निरपेक्षताको धार्मिक आन्दोलन २०७२ का संयोजक डकेन्द्रसिं थेगिमले भन्नुभयो, हिन्दू अतिवादिहरुले मागेजस्तै यो मुलुक हिन्दू राष्ट्र हुने हो भने यहीको मौलिक धर्म किरातको राष्ट्र किन नहुने? उनीहरुले तरवार र ढाल बोकेर यसरी नै आन्दोलनमा उत्रिने हो भने हामी पनि किरात साम्जीक मुन्धुम अनुसार तरवार, भाला, खुकुरी, खुर्मी, धनुकाँण बोकेर निस्कन तयार छौं। जस्तोसुकै परिस्थिति आएपनि संविधानमा धर्म निरपेक्षता नलेखिएसम्म हाम्रो आन्दोलन रोकिने छैन। सरकारले हिन्दू राष्ट्रको राग अलाप्छ भने यो देश किरात राष्ट्र हुनुपर्छ होइन सबै धर्मको अस्तित्वलाई स्वीकार्ने हो भने धर्म निरपेक्ष हुनै पर्छ अर्को विकल्प छैन।

त्यस्तै केही दिन अघि मात्र राजधानीमा तामाङहरुको विशाल जनप्रदर्शन गरेका आयोजक अध्यक्षले सरकार हिन्दू राष्ट्रको पक्षधर हुन्छ भने गौतम बुद्ध जन्मेको देशलाई बौद्ध राष्ट्र बनाउनु पर्ने जीकिर गर्नु भयो। तथापि, यो मुलुकमा अरु धर्म पनि छ भन्ने यो ४ दललाई लागेको छ भने धर्म निरपेक्ष कुनै पनि हालतमा हुनुपर्ने अन्यथा ठीक नहुने चेतावनी दिनुभयो।
इश्लाम धर्मका प्रतिनिधिले पनि यो आन्दोलनले आफ्नो लक्ष्य हासिल नगरे आफ्नो सम्प्रदाय सडकबाट जस्तोसुकै कठीन परिस्थिति आएपनि पछि नफर्कने प्रतिवद्धता जनाउनु भयो।

ईशाइ धर्मका प्रमुखले यो आन्दोलनको निमित्त जस्तो सहयोग गर्न पनि आफ्नो संस्था तयार रहेको प्रतिवद्धता जनाउनु भयो। शिख धर्मका प्रतिनिधिले यो गठबन्धनले गरेको जुनसुकै निर्णयलाई पालन गर्ने प्रतिवद्धता जनाउनु भयो भने बहाई धर्मका प्रतिनिधि समितिले चलाएको शान्तिपूर्ण आन्दोलनमा सक्रियतापूर्वक साथ दिने प्रतिवद्धता जनाउनु भयो।
यसरी नै नेपाल आदिवासी जनजाति महासंघलगायत विभिन्न जातीय संस्थाकाहरुले ऐक्यवद्धता रहने प्रतिवद्धता जनाउनु भएको थियो।

News report from Kirat Samachar <[email protected]>

प्रतिक्रिया