सञ्चार माध्यमले अपाङ्गता भएका आदिवासी महिला तथा बालबालिकाको आवाज समेट्न नसकेको सरोकारवालाको गुनासो

Admin
Admin२४ असार २०८३, बुधवार
सञ्चार माध्यमले अपाङ्गता भएका आदिवासी महिला तथा बालबालिकाको आवाज समेट्न नसकेको सरोकारवालाको गुनासो

अपाङ्गता भएका आदिवासी महिला र बालबालिकाका मुद्दालाई सञ्चारमाध्यमले समेट्न नसकेको सरोकारवालाहरु गुनासो गरेका छन् । 
राष्ट्रिय आदिवासी अपाङ्ग महिला संघ (निडवान), सामुदायिक रेडियो प्रसारक संघ नेपाल र क्रियाशिल महिला संघ नेपाल (डव्लुडव्लुजे) समेतको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरुबाट यस्तो गुनासो आएको हो । 
कार्यक्रममा निडवानकी अध्यक्ष प्रतिमा गुरुङले अपाङ्गता भएका आदिवासी महिला तथा बालालिकाका सवालहरू अझै पनि सञ्चार माध्यमले पर्याप्त स्थान नदिएको बताउनु भयो । 


“समावेशी सञ्चार भनेको कुनै समुदायलाई सहानुभूतिको दृष्टिले हेर्नु मात्र होइन, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउँदै उनीहरूको दृष्टिकोणलाई समाचारको केन्द्रमा राख्नु हो,” अध्यक्ष गुरुङले भन्नु भयो–“हाम्रा समाचार अरूले मात्र लेख्ने होइन, हामी आफैं पनि समाचारको स्रोत, पात्र र नेतृत्वकर्ता बन्नुपर्छ,”। 


उहाँले अपाङ्गता भएका ब्यक्तिहरुको हरेक विषयवस्तुलाई अन्तरक्षेदिय दृष्टिकोणबाट हेर्न पनि सो अवसरमा आग्रह गर्नु भयो । 
डब्लुडब्लुजेकी अध्यक्ष रामकला खड्काले “समावेशीकरणका लागि मिडियाको रणनीति तथा योगदान” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँले सञ्चारमाध्यमले समावेशीकरणलाई केवल नीतिगत दस्तावेजमा सीमित नराखी समाचार कक्षको अभ्यासमै लागू गर्नुपर्ने बताउनुभयो । 
खड्काले सञ्चार संस्थाहरूले समाचार स्रोतको विविधता बढाउने, अपाङ्गतामैत्री सञ्चार सामग्री उत्पादन गर्ने तथा आदिवासी महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई सञ्चार क्षेत्रमा नेतृत्वदायी भूमिकामा अघि बढाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

अन्तरक्रियामा सहभागीहरूले सञ्चारमाध्यममा पहुँच, प्रतिनिधित्व र सहभागिताका विषयमा आफ्ना अनुभव तथा सुझावहरू साझा गरेका थिए । उनिहरुले आदिवासीअपाङ्ग महिलाका बास्तविक पिडाहरु अझैपनि ओझेलमा परीरहेको उल्लेख गरेका थिए ।
छलफलका क्रममा निडवानका प्राविधिक सल्लाहकार कृष्ण गहतराजले अपाङ्गता भएका आदिवासी महिलाहरूलाई समाचारको विषयवस्तुका रूपमा मात्र नभई सञ्चार क्षेत्रका सक्रिय साझेदारका रूपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । सञ्चार संस्थाहरूमा समावेशी नीति, पहुँचयोग्य सूचना प्रणाली र क्षमता विकासका कार्यक्रम आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रमको अन्तिम सत्रमा अध्यक्ष प्रतिमा गुरुङले आगामी दिनमा आदिवासी महिला तथा अपाङ्गता भएका व्यक्तिहरूका मुद्दालाई सञ्चारमाध्यममा प्राथमिकताका साथ उठाउन पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने, समावेशी सञ्चार अभ्यासलाई संस्थागत गर्ने तथा विभिन्न सरोकारवाला निकायबीच सहकार्यलाई सुदृढ बनाउने साझा प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा महिला पत्रकार, सञ्चारकर्र्मी, आदिवासी अधिकारकर्र्मी, अपाङ्गता अधिकारकर्र्मीहरुको संघसहभागिता रहेको थियो। सहभागीहरूले समावेशी र अधिकारमुखी सञ्चार अभ्यासमार्फत अपाङ्गता भएका आदिवासी महिला तथा बालिकाहरूको आवाजलाई राष्ट्रिय बहस, नीति निर्माण र निर्णय प्रक्रियासम्म पु¥याउन सामूहिक प्रयास अपरिहार्य रहेको बताउनु भएको थियो । 
 

प्रतिक्रिया