कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले आदिवासी अपाङ्गता भएका महिला र किशोरीहरूका समस्या समाधान गर्न नीतिगत सुधारको तयारी भइरहेको जानकारी दिनु भएको छ ।
राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ (निडवान) को व्यवस्थापनमा आयोजित “आदिवासी अपाङ्गता भएका महिला र किशोरीहरूको तेस्रो एसिया–प्रशान्त क्षेत्रस्तरीय सम्मेलन” को उद्घाटन गर्दै उहाँले यस्तो आश्वासन दिनु भएको हो ।
मन्त्री चौधरीले आदिवासी अपाङ्ग महिला र किशोरीहरूविरुद्ध नेपालमा मात्र होइन, विश्वभर नै सामाजिक, सांस्कृतिक र संरचनात्मक विभेद कायम रहेको औंल्याउँदै उनीहरूका लागि न्याय सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।
उहाँले नेपालको संविधानले समावेशी विकासका लागि विशेष व्यवस्था गरेको भए तापनि समुदाय स्तरमा यसको अनुभूति हुन नसकेको बताउँदै सबै पक्ष सक्रिय भएर समुदायलाइ अनुभूति दिलाउन लागि पर्नू पर्ने बताउनु भयो ।
मन्त्री चौधरीले आदिवासी अपाङ्ग महिला र किशोरीहरूविरुद्ध नेपालमा मात्र होइन, विश्वभर नै सामाजिक, सांस्कृतिक र संरचनात्मक विभेद कायम रहेको औंल्याउँदै उनीहरूका लागि न्याय सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।
उहाँले रसुवाको भोटेकोशी–त्रिशुली बाढी जोखिमबाट आदिवासी समुदाय पीडित रहेको स्मरण गराउँदै कुनै पनि विपत्तीले आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, महिला तथा किशोरी लगायत सीमान्तकृत समुदायलाई बढी प्रभावित बनाउने उदाहरण प्रस्तुत गर्नुभयो।
यो सम्मेलन संयुक्त राष्ट्रसंघले हरेक वर्ष ५ सेप्टेम्बरलाई “आदिवासी महिला तथा किशोरी दिवस” मनाउने आह्वान गरेको अवसरमा आयोजना गरिएको हो । सम्मेलनमा नेपाललगायत बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, भारत, जापान, केन्या, म्यानमार, मलेशिया, मंगोलिया, पाकिस्तान, फिलिपिन्स, सामोआ, थाइल्याण्ड र टिमोरलेस्टे गरी १५ देशका ३३ विदेशी प्रतिनिधि सहित कुल ८० जना सहभागी छन् । यो सम्मेलनको सुरुवात सन् २०२३ मा भएको थियो।
राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ (निडवान) का अध्यक्ष डा. प्रतिमा गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, राष्ट्रिय सभाका सदस्य सुरेश आलेमगर, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का अध्यक्ष निमा लामा ह्योल्मो, नेपालस्थित युनिसेफका आवासीय प्रतिनिधि जो को डु टोइट, एआइपीपीका कार्यकारी सदस्य जगत बराम, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष शोभा सुनुवार लगायतले सम्बोधन गर्नुभएको थियो ।
सम्मेलनमा आदिवासी अपाङ्गता भएका महिला र किशोरीहरूको अधिकार, अन्तर्राष्ट्रिय संयन्त्रको कार्यान्वयन र एसियाका विभिन्न मुलुकहरूको अवस्थाबारे विश्लेषण र बहस गरिनेछ । १५ देशका सहभागीहरूले आफ्ना देशहरूमा अपाङ्गता भएका आदिवासी र किशोरीहरूमा हुने विभेद र उत्पीडनका अनुभवहरू राख्ने कार्यक्रम छ । विभिन्न देशका अनुभव र भोगाइबाट सिकाइ लिँदै समस्याको पहिचान गरेर स्थानीय देखि राष्ट्रिय स्तरसम्म रणनीतिक विकास गर्ने र क्षेत्रीय एकतालाई दीर्घकालीन रणनीति बनाउने लक्ष्य राखिएको छ ।
मुख्यतः जलवायु न्याय, लैङ्गिक समानता र सामाजिक समावेशीकरणका विषयमा केन्द्रित यो सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरूबाट कार्यपत्र प्रस्तुति र प्यानल छलफलको आयोजना हुनेछ । सम्मेलन शनिबार काठमाडौं घो । ाणापत्र जारी गरेर समापन हुने कार्यक्रम तय भएको आयोजकले बताएका छन् ।









