नेपाल मगर महिला संघको आठौं महाधिवेशन काठमाडौंमा हुँदै

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२५ चैत २०८२, बुधवार
नेपाल मगर महिला संघको आठौं महाधिवेशन काठमाडौंमा हुँदै

नेपाल मगर महिला संघको आठौँ राष्ट्रिय महाधिवेशन राजधानी काठमाडौँमा आयोजना हुने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती बाचन गर्दै संघकी अध्यक्ष हिरु राना मगरले संघको आठौं राष्ट्रिय महाधिवेशनको  महाधिवेशनलाई भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । 

भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा अध्यक्ष मगरले “आदिवासी मगर महिलाको अभियान, आत्मनिर्णयको अधिकार सहितको पहिचान” भन्ने मूल नारासहित यही चैत २७ र २८ गते महाधिवेशन आयोजना हुने बताउनुभयो । 

चैत २७ गते बिहान ११ बजे रत्नपार्क शान्तीवाटीबाट सांस्कृतिक झाँकीसहित र्‍याली सुरु भई राष्ट्रिय सभा गृहमा उद्घाटन सत्र सम्पन्न हुनेछ भने चैत २८ गते बन्द सत्र पर्यटन विकास बोर्ड, भृकुटीमण्डपमा आयोजना गरिनेछ।

महाधिवेशनको उद्घाटन नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनको प्रमुख आतिथ्यतामा तथा संविधानसभा सदस्यहरू र संघकी संस्थापक अध्यक्ष बम कुमारी बुढामगरको विशेष उपस्थितिमा हुने कार्यक्रम तय गरिएको विज्ञप्तीमा उल्लेख छ।

अध्यक्ष मगरले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताबीच मगर समुदायको पहिचान संरक्षण, प्रवर्द्धन र अधिकार सुनिश्चितताका लागि संघ विगत २८ वर्षदेखि सक्रिय रूपमा क्रियाशील रहेको बताउनुभयो । 
वि.सं. २०५५ सालमा झापाको विर्तामोडमा स्थापना भएको संघले हालसम्म ७ प्रदेश, ५७ जिल्ला र ३ वटा विदेश शाखासम्म संगठन विस्तार गरिसकेको अध्यक्ष मगरले जानकारी दिनुभयो ।

राज्यका हरेक तहमा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने माग दोहोर्याउँदै संविधानले व्यवस्था गरेका समान अधिकार, विशेष अधिकार र पैतृक सम्पत्तिमाथिको अधिकार जस्ता विषयलाई महाधिवेशनमा प्रमुख एजेन्डाका रूपमा उठाइने  प्रेस विज्ञप्तीमा उल्लेख छ।

त्यसैगरी, मगर भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्नुपर्ने माग अनुरूप गण्डकी प्रदेशमा ऐन पारित भई कार्यान्वयनतर्फ उन्मुख हुनु समुदायका लागि गर्वको विषय भएको उल्लेख गर्दै लुम्बिनी प्रदेशमा पनि यसका लागि पहल भइरहेको जनाएको छ।

महाधिवेशनमा विभिन्न प्रतिनिधि, संघ–संस्था तथा व्यक्तिहरूको सहभागितासहित मौलिक संस्कृति, सीप र ज्ञानको प्रदर्शनी समेत गरिनेछ। यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया