मुख्यमन्त्री बानियाँ बिरुद्ध नेफिन महाधिबेशनले पारित गर्‍यो खेद् प्रस्ताव, जेन्जीको दवावमा ५६ जातीय संस्थाको एकै स्वर

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस७ चैत २०८२, शनिवार
मुख्यमन्त्री बानियाँ बिरुद्ध नेफिन महाधिबेशनले पारित गर्‍यो खेद् प्रस्ताव, जेन्जीको दवावमा ५६ जातीय संस्थाको एकै स्वर

बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अभिव्यक्ति विरुद्ध आदिवासी जनजाति महासंघको जारी महाधिबेशनले खेद् प्रकट गर्दै विशेष प्रस्ताव पारित गरेको छ । इन्डिजिनियस जेन्जी कलेक्टिभ्स समेतले महासंघको जारी बन्द सत्रमा निरन्तर दवाव दिए पछि ५६ वटै जातीय संस्थाका प्रतिनिधि उपस्थित भएको महासंघका बिशेष सत्रबाट सो खेद् प्रस्ताव पारित भएको हो । 

खेद् प्रस्ताव सहित ६ बुँदाको प्रस्ताव हलमा नेपाल तामाङ घेदङका अध्यक्ष मोहन गोले तामाङले प्रस्तुत गर्नू भएको थियो । उहाँको प्रस्तावलाई महाधिबेशनको हलले सर्वसम्मतीले पारित गरेको छ । महाधिबेशनमा महासंघमा आवद्ध ५६ जातीय संस्थाका प्रतिनिधि र पर्यवेक्षक गरी तीनसयको सहभागिता रहेको छ । 

प्रस्तावमा ‘यही चैत ५ गते नेपाल आदिवासी जनजाति महासंघको उद्घाटन सत्रमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलव्धी तथा संवैधानिक मूल्य मान्यता माथि  प्रहार गर्ने गरी आदिवासी जनजाति, महिला, मुस्लिम, दलितकोसमेत पहिचान, अस्तित्व, भावना र मर्म विपरित अभिव्यक्ति दिएकोमा मुख्यमन्त्रीको भनाइ  प्रति गहिरो खेद् प्रकट गर्दछौँ ।’ भनिएको छ । 

प्रस्तावको दोस्रो नम्बरमा महासंघको संरचनासंग सम्बन्धित छ । प्रस्तावमा महासंघको नेतृत्व चयनमा दलिय हस्तक्षेप तथा भागबन्डाको प्रभाव र एनजीओकरणबाट महासंघ मुक्त हुने प्रतिबद्धता व्यक्त गरिएको छ । 

त्यसै गरी नेपाल आदिवासी जनजाति महासंघको नेतृत्व चयन र सांगठानिक संरचनामा महिला, युवा तथा अपांगता भएका र लोपोन्मूख, अतिसिमान्तकृत समूहको समानुपातिक  र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने कुरा उल्लेख छ । महासंघको महाधिबेशनमा उपस्थित सबै जातीय संस्थाका प्रतिनिधिहरुले ६ महिनाभित्र बिधान अधिबेशन गरी संस्थागत सुद्दृढिकरण गर्ने र यस विषयलाई सबै जातीय संस्थाले अपनत्व ग्रहण गर्दै सबै आदिवासीजन्य संस्थासंग सहकार्य गर्ने उल्लेख छ । 

महासंघको महाधिबेशनको बन्दसत्र सुरु भए पछि इन्डिजिनियस  जेन्जी कलेक्टिभ्स लगायत युवा आदिवासीहरुले उक्त बुँदा सम्बोधनका लागि निरन्तर प्रदर्शन गर्दै आएका थिए ।  

नेपाल आदिवासी जनजाति महासंघको ११ औँ महाधिबेशनको उद्घाटन सत्रमा प्रमूख अतिथि रहनु भएका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संविधान र आदिवासीको भावना र मर्म विपरित अभिव्यक्ति दिनु भएको थियो । 

जेन्जी कलेक्टिभ्सका रिजन मगर, सवनम लामा, पेमा वाङमु लामा, वाङ्जु वाइबा, साङ्केन याम्फु लामा, साङ्गे लामा, भद्रगोल किराँती, मुक्तान थेबा, भुमिराज योन्जन, सागर मोक्तान, विछोड वाइबा, खाम्साङ वाइबा, र विकास लामा, अभि राईसहितका प्रतिनिधिहरु महाधिबेशनको बन्दसत्र चलिरहेको स्वयम्भूस्थित स्टार व्याङक्यैटमा दुइदिनसम्म लगातार नारावाजीसहित  बिरोध प्रदर्शन गरेका थिए । 

 

प्रतिक्रिया