तामाङहरुको जातीय संस्था नेपाल तामाङ घेदुङले आगामी फागुन २१मा हुने प्रतिनिधिसभाको निर्वाचनमा तामाङको सवाललाई सम्बोधन गर्ने राजनीतिक दल र उम्मेद्वारलाई मात्र मत दिन अपील गरेको छ ।
मंगलबार घेदुङको ७० औ स्थापना दिवशका अवसरमा आयोजित ‘आसन्न प्रतिनिधिसभाको निर्वाचनमा तामाङ समुदायको सवाल र प्रतिनिधित्व बिषयमा आयोजित अन्तरक्रिया’ कार्यक्रमको क्रममा घेदुङका पदाधिकारी र तामाङसमाजका अगुवाहरुले यस्तो आह्वान गरेका हुन् ।
नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा मानवशास्त्री डा. मुक्तसिंह तामाङले अवधारणा प्रस्तुत गर्दै २५ बुँदामा तामाङसमुदायको अडान प्रस्तुत गर्नू भएको थियो ।
प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्ष र समानुपातिक गरी तामाङ जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने लगायतका बुक्ष्दा राखिएको छ ।
अन्तराष्ट्रिय श्रम संगठन महासन्धी नम्बर १६९ र आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा पत्र (युएनड्रिप) लाई कार्यन्वन गर्न सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यन्वयन गर्ने प्रतिबद्धता आउनु पर्ने, तामाङ राष्ट्र«को भूमिमा कुनै पनि विकास निर्माण तथा कार्यक्रम तर्जुमा गरिँदा स्वतन्त्र, पूर्व सुसूचित जानकारी सहतिको मन्जुरी लिनु पर्ने, ताम्सालिङ क्षेत्रका राष्ट्रिय निकुन्ज स्थापना गरिँदा भएको अधिकार हनन् पुनस्थापना गरिनु पर्ने बिषय समाबेश छन् ।
तामाङ सम्पदाका रुपमा रहेको गोलजुङ–रसुवा, तेमाल–काभ्रे, डाव्जोङ– धादिङ, तालच्युजोङ–रामेछापका तामाङ राजदरवारका भग्नावशेष संरक्षण गरिनु पर्ने, धादिङ, नुवाकोटको सिङ्गला–ल्हो, फिकुरी, रसुवाको गोसाइकुण्ड, कालिन्चोक, सैलुुङ, म्हावर, तेमाल, चन्द्रागिरी लगायत स्थानका बोन्वो तीर्थस्थलहरु, बौद्धगुम्वा तथा पद्यसम्भव, मिलारेपा लगायतको साधनाकेन्द्रको संरक्षण नीति आउनु पर्ने अडान राखेको छ ।
यसरी नै मानवशास्त्री तामाङले प्रथाजनित संस्था र कानुनलाई मान्यता दिनु पर्ने प्रस्ताव राख्नु भयो ।
उहाँले प्रस्ताव माथि १६ जनाले टिप्पणी गर्दै तामाङ समुदायको सवालहरु राजनीतिक दल र उम्मेद्वारको ध्यानाकर्षण गर्ने गरी कार्यक्रम सञ्चालन गर्न पनि सुझाव दिनु भयो ।
पूर्व राजदुत डा. गणेश योञ्जनले तामाङ समुदायको मुद्धा सम्बोधन गर्ने तामाङ उम्मेद्वार मात्र नभएर प्रभावकारी उम्मेद्वार पनि हुनु पर्नेमा जोड दिनु भयो ।
अध्यक्षको आसनबाट घेदुङका अध्यक्ष गोलेले युद्धबाट पराजित तामाङ समुदायको मनोवल उच्च बनाए मात्र चुनाव जितिने धारणा राख्नु भयो ।
देशभरबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेद्वार गरी १८४ जना तामाङउम्मेद्वार भएका छन् । यस मध्ये मंगोल नेशनल अर्गानाइजेशनले सबै भन्दा धेरै तामाङ उम्मेद्वार बनाएको छ ।
सय भन्दा बढी उम्मेद्वार उठाउने दलहरुमा तामाङहरुको सबै भन्दा कमजोर स्थान नेपाली कम्युनिष्ट पार्टीमा रहेको छ ।









