आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा ‘नेपाल आदिवासी ज्ञान सम्मेलन/महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ ।
“ज्ञानको आदान–प्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण” भन्ने मूल नारासहित आयोजना हुने यो सम्मेलन माघ २५ देखि २७ गतेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृह तथा प्रदर्शनी मार्ग क्षेत्रमा सम्पन्न हुने प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल आदिवासी जनजाति पत्रकार महासंघले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सम्मेलनको उद्देश्य, महत्व र कार्यक्रमको रूपरेखा सार्वजनिक गरिएको हो ।
सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम तय भएको प्रेस विज्ञप्तीमा उल्लेख छ । सोही सत्रमा भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक डा. महेन्द्र पी. लामाले विश्वका आदिवासीको अनुभवबाट सिकाइ सम्बन्धी विशेष प्रवचन दिनुहुने कार्यक्रम रहेको छ ।
आयोजकका अनुसार कृषि प्रणाली, भाषा, कला, विश्वदृष्टि, आध्यात्मिक अभ्यासलगायत क्षेत्रमा फैलिएको आदिवासी ज्ञानलाई एक साझा मञ्चमा ल्याई संरक्षण, पुनर्जीवन र पुस्तान्तरण गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको जनाएको छ ।
सम्मेलनको दोस्रो दिन स्वायत्तता र प्रथाजनित स्वशासन, सामाजिक विविधता र समावेशी लोकतन्त्र, जेन्जी र समसामयिक राजनीति, भूमि–प्राकृतिक स्रोत तथा खाद्य संप्रभूता जस्ता विषयमा विषयविज्ञ, नीति निर्माता र कार्यान्वयन तहका अधिकारीहरूसँग प्यानल छलफल तथा अनुभव आदान–प्रदान हुनेछ ।
त्यसैगरी सम्मेलनसँगै आयोजना हुने खाना महोत्सवमा थारू, शेर्पा, थकाली, नेवारी र राई समुदायका परम्परागत परिकार प्रस्तुत गरिनेछ भने भोटे, छन्त्याल, मगर, गुरुङ, सुनुवार र तामाङ समुदायका मौलिक सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण रहनेछन् ।
आदिवासी जनजातिको अधिकार र पहिचानका लागि योगदान पुर्याएका व्यक्तित्वहरूको सम्मानस्वरूप शंखधर . साःख्वा, लखन थापा मगर, बाजहाङ आङबुहाङ, पासाङ ल्हामु शेर्पा, जंगवीर लामा, वंशु गुरुङ, रामप्रसाद राई र भूपि शेरचनको जीवनी समेटिएको भिडियो प्रत्येक सत्रअघि प्रसारण गरिने आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२–२०३२) लाई व्यवहारमा उतार्ने उद्देश्यले प्रत्येक प्यानल छलफलको सुरुवात लोपोन्मुख आदिवासी भाषाबाट उद्घोषण गरिनेछ ।
साथै, प्रत्येक सत्रमा सम्बन्धित आदिवासी समुदायका एक सम्मानित व्यक्तित्वलाई परम्परागत भेषभूषासहित सभाको संरक्षकका रूपमा विशेष आसन प्रदान गरिनेछ ।
माघ २७ गते १५ वटा विषयगत शीर्षकमा आधारित ८१ वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिने र सोही दिन प्रतिष्ठानको प्रधानमन्त्री सुशिला कार्कीको प्रमुख आतिथ्यतामा रजत जयन्तीको समापन समारोह सम्पन्न हुने उल्लेख छ ।
सम्मेलनमा स्वदेश तथा विदेशबाट गरी ८०० भन्दा बढी आदिवासी जनजाति अभियन्ता, अध्येता, विद्वान, युवा र विद्यार्थीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान वि.सं. २०५८ मा ऐनद्वारा स्थापित नेपाल सरकारको स्वायत्त वैधानिक संस्था हो । यसले नेपालका ६० सूचीकृत आदिवासी जनजाति समुदायको अधिकार संरक्षण, पहिचान प्रवद्र्धन तथा सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक र शैक्षिक विकासका लागि निरन्तर काम गर्दै आएको छ ।









