नेपाल शेर्पा महिला संघको अध्यक्षमा थाक्ची शेर्पा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२० वैशाख २०८२, शनिवार
नेपाल शेर्पा महिला संघको अध्यक्षमा थाक्ची शेर्पा

नेपाल शेर्पा महिला संघको तेस्रो महाधिवेशनबाट सोलुखुम्बुकी थाक्ची शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

काठमाडौमा शनिबार भएको महाधिवेशनबाट संघको उपाध्यक्षमा मन्जु शेर्पा र लाक्पा दिकी शेर्पा यसैगरि महासचिव डोल्कर शेर्पा, सचिवमा सरस्वती शेर्पा, काण्डु शेर्पा निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष छिरिङ गेल्मु शेर्पा र सदस्यहरुमा आङ फूली शेर्पा, शान्त शेर्पा, टुकाछेकी शेर्पा, लाक्पा दिकी शेर्पा र मेन्दा शेर्पा निर्वाचित हुनुभएको छ ।

यसअघि संघको महाधिवेशन उद्घाटन पूर्व सभामुख ओन्सरी घर्ती मगरले गर्नुभएको थियो । उहाँले कार्यक्रममा संबोधन गर्नुहुँदै शेर्पा महिलाहरुले आफ्नो समुदाय र महिलाहरुको अधिकारलाई स्थापति गराउन राजनीतिक ज्ञान हुनु आवश्यक रहेको भनाई राख्नुभयो । उहाँले आदिवासी महिलाहरुको अवस्था आफ्नो घरमा र समुदामा राम्रो रहेपनि राज्यको पहुँच कमजोर रहेकोले अभैपनि आदिवासी महिलाहरु पछाडि परिरहेको बताउनुभयो ।

पूर्व सभामुख ओन्सरीले आदिवासीको अधिकार करिब पुर्णरुपमा प्राप्त गर्ने अवसर पहिलो संविधानलेमात्र समावेश गरेको उल्लेख गर्नुहुँदै उहाँले पहिलो संविधानमा भएका आदिवासीका अधिकारलाई कटौती गर्न दोस्रो संविधानसभाको गठन भएर नेपालको संविधन २०७२ ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो ‘दोस्रो संविधानले आदिवासीको अधिकार र मुद्धालाई कमजोर बनायो ।’

कार्यक्रमका अध्यक्ष तथा नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पाले बाहिरी समुदायले आदिवासी महिलालाई गरिने परिभाषा गलत रहेको बताउनुभयो । उहाँले आदिवासी महिला यसभित्रका पनि शेर्पा महिला घरपरिवारमा मात्र नेतृत्व लिने बलियो देखिएपनि राज्यको हरेक तहतप्कामा पछाडी परेको भनाई राख्नुभयो । अध्यक्ष शेर्पाले आफुले शेर्पा महिला संघ स्थापनाकाल देखि २२ वर्षसम्म संस्थालाई समाल्ने क्रममा भोगेका समस्यालाई सुनाउनुहुँदै शेर्पा महिला संघले मात्र शेर्पा महिलाहरुको अधिकारको विषयमा बोल्ने बलियो संस्था भएको बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य आङदावा शेर्पाले महिला अधिकारका लागि महिलाको व्यक्तित्व विकास र क्षमता विकाससंगै महिला नेतृत्व उत्पादनमा महिला संघले भुमिका खेल्नुपर्ने धारणा राख्नुभयो । यसैगरि आचार्य नुर्बु शेर्पाले शेर्पा महिलाहरुको अवस्था घर समुदायमा राम्रो भएपनि समग्र नेपाली समाजमा चुनौती रहेको बताउनुभयो । उहाँले अवसरका कुरामा गैरआदिवासी महिलाहरुको तुलनामा आदिवासी महिलाहरु निकै पछाडि रहको भनाई राख्नुभयो ।

सोही अवसरमा पूर्व मन्त्री कृपासुर शेर्पा, पूर्व सांसद जिपछिरिङ शेर्पा, नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी उपाध्यक्ष कलपना भट्टचनलगायतले शुभकामना दिनुभएको थियो ।

 

प्रतिक्रिया