दावा गियरद्धारा राजधानीको विभिन्न स्थानमा रहेका संघसंस्थामा बसोबास अपांगताभएका व्यक्तिहरुलाई ज्याकेट वितरण गरेको छ । शनिवार गोकर्नेश्वर नगरपालिका नयाँपाटिस्थित दृष्टिविहिन आमाघर सामाजिक संस्था, गोकर्नेश्वर नगरपालिका नरायटारस्थित नेपाल अपांग संघ खगेन्द्र नवजिवजन केन्द्र र ताकेश्वरस्थित अपांग सेवा केन्द्रका करिब २०० सय जनालाई ज्याकेट वितरण गरेको हो ।
गियरका संचालकद्धय दावा टसी शेर्पा र फुरलामू शेर्पाले ज्याकेट हस्तान्तरण गर्नुभएको हो । गियरका संचालक दावा टासी शेर्पाले प्रत्येक वर्ष अनाथबालबालिका, बृद्धबृद्धा, अपांगता भएका व्यक्तिहरुलाई जाडो मौसममा न्यानो लुगा वितरण गर्दै आएको बताउनुभयो । उहाँले गियरले प्रत्येक वर्ष लुगा वितरण गर्ने भएकोले आवश्यक संघसंस्थाहरुलाई आवेदनका लागि समेत सम्र्पक गर्ने अनुरोध गर्नुभयो ।
दावा गियरकी फुरलामू शेर्पाले आफुहरुले बार्षिकरुपमा आयआर्जन गरेको नाफाबाट कपडा वितरण गर्ने गरेको जोड्नु हुँदै ग्राहकहरुलाई धन्यवाद दिँदै प्रत्येक वर्ष सहयोग कार्यलाई निरन्तरता दिँदै लैजाने बताउनुभयो । असाहय, अपांगता भएका व्यक्ति र अनाथ बालबालिकालाई सहयोग गर्न पाउँनु खुशीको कुरा भएको बताउनुभयो ।
नयाँपाटिस्थित आमाघर सामाजिक संस्थाका संचालक टेकबहादुर मगरातीले आमाघर सामाजिक संस्थाको घर निमार्णका लागि आर्थिक सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले ज्याकेट वितरण कार्यक्रमका क्रममा बोल्नुहुँदै आमाघर सामाजिक संस्थामा दृष्टीविहिन अपांगता भएका व्यक्तिका परिवार र बृद्धवृद्धाहरु बसिरहेकोले उहाँहरुको दैनिकीलाई थप सहज बनाउनको लागि सुरक्षित बासस्थान बनाउनको लागि सहयोगका लागि अपिल गर्नुभयो ।
अर्का नेपाल अपांग संघ खगेन्द्र नवजिवन केन्द्रका पुश्पराज भट्टले खगेन्द्र नवजिवन केन्द्रमा बसिरहेका अपांगता भएका व्यक्तिहरुका बारे जानकारी दिनुभएको थियो । उहाँले दावा गियरलाई आभार व्यक्त गर्नुहुँदै आगामी दिनमा पनि सहकार्यगरि अगि बढ्ने प्रतिबद्धता गर्नुभयो ।
गियरका संचालक शेर्पा ११ वर्षको उमेर देखी ट्रेकिङ क्षेत्रमा भरियाबाट काम सुरु गर्नुभई पर्यटन क्षेत्रमै विभिन्न तालिम प्राप्त गरेपश्चात गाईड भएर काम गर्ने क्रममा २०१४ अप्रिल १८ मा खुम्बु आईस्फलमा गएको हिमपहिरोमा परि ठुलो चोटपटक लागेपछि कामको विकल्प खोज्दै उहाँले दावा गियरको स्थापना गर्नुभएको हो । सन् २०१५ सालमा संस्था दर्ता गरेपनि औपचारिक रुपमा दावा गियर सन् २०१७ देखी संचालनमा आएको हो । गियरले स्थापनाकाल देखिनै अपांगता भएका व्यक्ति, अनाथबालबालिका, बृद्धबृद्धालगायतलाई लतकपडा वितरण गर्दै आईरहेको छ ।