आदिवासी जनजातिको शसक्तिकरणका लागि गठन भएकोआदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानको उपाध्यक्षमा तमु ह्युल छोँज धिःका निवर्तमान अध्यक्ष रेशम गुरुङ नियुक्त हुनु भएको छ । प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङलाई नियुक्त गर्नू भएको हो ।
बिहीबार आयोजित एक समारोहका बीच प्रधानमन्त्रीका तर्फबाट प्रतिष्ठानको सहअध्यक्ष समेत रहनु भएका संघीय मामिला तथा सामन्य प्रशासन मन्त्री राजकुमार गुप्ताले गुरुङलाई नियुक्ती पत्र हस्तान्तरण गर्नू भयो । त्यस अवसरमा पद तथा गोपनियताको सपथ पनि गराइएको थियो ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान एैन २०५८ अनुसार रिक्त उपाध्यक्षमा नियुक्तीका लागि मन्त्री गुप्ताको संयोजकत्वमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पासहितको तीन सदस्यीय नाम सिफारिस समिति बनेको थियो । समितिले नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा, रेशम गुरुङ र टाँसी स्याङवो गुरुङ्सेनीको नाम सिफारिस गरेको थियो । सोमध्ये छनौट गरी प्रधानमन्त्रीले गुरुङलाई उपाध्यक्षमा नियुक्त गर्नू भएको हो ।
प्रतिष्ठानको कार्यकारी प्रमूख रहने उपाध्यक्षको कार्यकाल चार बर्ष रहने कानुनी प्रावधान रहेको छ ।