आदिवासी आन्दोलनका लागि नेतृत्वको अभाव भएको भन्दै नेता तयार गर्न आग्रह

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२२ साउन २०८१, मङ्गलवार
आदिवासी आन्दोलनका लागि नेतृत्वको अभाव भएको भन्दै नेता तयार गर्न आग्रह

आदिवासी जनजाति आन्दोलन अगाडि बढाउन आदिवासी नेताको अभाव भएको नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव डा. बालकृष्ण मावोहाङले बताउनुु भएको छ । ३० औँ विश्व आदिवासी दिवसको अवसर पारेर नेपाल छन्त्याल संघले  राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

'आदिवासी जनजातिले नेता जन्माउन नै सकेनन्, जति नेता जन्मिए, सबै पार्टीका झोले भए', नेपालको जनजाति आन्दोलनमा समुदायको भूमिका बिषयक अन्तरक्रियात्म कार्यक्रममा कार्यपत्र  प्रस्तुत गर्दै डा. मावोहाङले भन्नु भयो 'देशमा आदिवासी नेता नै छैनन्, गएको ३० वर्षमा भएका आन्दोलनमा आदिवासी अधिकार प्राप्तीका लागि नभई ठुला राजनीतिक दलका पार्टीका नेता जन्माउँदै हिड्नाले आदिवासी अधिकारका विषय ओझेलमा परेको हो ।'

नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीहरु समेतको उपस्थितिमा भएको कार्यक्रममा केही पदाधिकारीहरुको नामै लिएर नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ता मात्र भएको भनेर व्यङ्ग्य गर्नू भयो ।

उहाँले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र वीपीको प्रजातान्त्रिक समाजबाद घोकेर आदिवासीले न्याय पाउन नसक्ने भन्दै आदिवासी जनजातिका लागि भाषा, स्वशासन, थातथलोको सुरक्षा प्राप्त गर्न नसकिने बिचार राख्नु भयो । आदिवासी जनजातिहरुले आफनो थातथलो छाडेपछि  अधिकार पनि छाडिने बिचार राख्दै थाकथलो नछाड्न र त्यहीबाट अधिकारको दावी गर्न पनि आह्वान गर्नू भयो ।

आदिवासी जनजाति आयोगका सदस्य सुर्य बहादुर गुरुङले उद्घाटन गर्नुभएको अन्तरक्रियात्मक कार्यक्रम नेपाल छन्त्याल संघका अध्यक्ष मनमोहन बुढाथोकी छन्त्यालको अध्यक्षतामा भएको थियो । अध्यक्ष छन्त्याल आफै नेपाली काँग्रेस निकट लोकतन्त्रबादी आदिवासी जनजाति महासंघको उपाध्यक्ष हुनुहुन्छ । कार्यक्रममा सहभागी हुनु भएका नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष जगत बराम पनि नेपाली काँगेस निकट सो महासंघको महासचिव हुनु हुन्छ ।

कार्यक्रमको उद्घाटन गर्दे आदिवासी जनजाति आयोगका सदस्य गुरुङले आदिवासी आन्दोलनका लागि नेपाल आदिवासी जनजाति महासंघको क्रियाशिलता अपेक्षित भएको बताउनु भयो । ‘आदिवासी जनजाति आयोगलाई संविधानले अन्य आयोगलाई जसरी पुर्ण अधिकार नदिएको भन्दै जनजाति महासंघलगायत जातियसंघसंस्थाले सवाल उठाएमा मात्र आयोगले सरकारलाई यसका सम्बन्धमा सिफारीस गर्न सक्ने बताउनु भयो ।’

सोहीक्रममा बोल्नुहुँदै नेपाल आदिवासी जनजाति महासंघका बरिष्ठ उापध्यक्ष बुद्ध घर्ती भुजेलले आदिवासी जनजातिको आन्दोलनलाई सफल पार्नका लागि विशुद्ध राजनीतिक आन्दोलन हुनुपर्ने बतानुभयो । उहाँले हालसम्म राजनीतिक परिवर्तनका लागि मात्र आन्दोलन भएको  भन्दै अबको बाटो आदिवासीको अधिकार प्राप्तीका लागि गर्नुपर्ने भनाई राख्नुभयो ।

अर्का अधिकारकर्मी गोबिन्द छन्त्यालले राज्यसत्ताले आदिवासी भूमि, भुभाग, पहिचानलाई मेटाउँदै लगेको आरोप लगाउनुभयो । आदिवासी आन्दोलनमा छन्त्याल जातिको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै उहाँले आदिवासी आन्दोलनका सम्बन्धमा समुदायभित्र गम्भिर छलफल हुन आवश्यक रहेको जोडनुभयो ।

कार्यक्रममा जातियसंघसंस्था लगायत सरोकारवाल व्यक्तिहरुले आदिवासी आन्दोलनलाई मुलप्रवाहमा ल्याउनको लागि आदिवासी समुदायबिच सहकार्य हुन आवश्यक रहेको भनाई राखेको थियो ।

 

प्रतिक्रिया