‘स्वतन्त्र हुनु भनेको बन्धनबाट मुक्त हुनुमात्र होइन बल्की अरु मानिसको स्वतन्त्रतालाई सम्मान र अभिवृद्धि गर्दै जिउन सक्नु हो ।’ नेल्सन मण्डेला
मातृभूमि नेपाल संघीय लोतान्त्रिक गणतन्त्र बनेपछि हामी साढे दुइसय वर्ष लामो राजतन्त्रको बन्धनबाट मुक्त भयौं । यही चरणमा जहाँनियाँ राणाशासन ढल्यो । ०७ सालमा प्रजातन्त्र आयो । तर फेरि पनि ३० वर्षे पंचायती व्यवस्थाले खायो । २०४६ सालमा पुनः प्रजातन्त्र आयो तर संवैधानिक राजतन्त्रले छोडेन । दश वर्षे जनयुद्ध भयो अनिमात्र भूइँमान्छेहरूले शिर उठाउन पाए । २०६२÷६३ को जनआन्दोलनले ल्याएको उभार ने आजको संघीय लोकतान्त्रिक गणतन्त्र हो । हामी बन्धन मुक्त छौं । हाम्रै मतदानले जनताका छोराछोरी राष्ट्रपति बन्न पाएका छन् । त्यसकै निम्ति वीर सहिदहरूले ज्यानको बलिदान दिएका हुन् ।
दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति मण्डेलाले भनेझैं हामी स्वतन्त्र छौं । बन्धन मुक्त छौं । खाँचो यो छ कि अरु मानिस अर्थात् समुदायको सम्मान गर्न सक्नु छ । सम्मानको अभिवृद्धि गर्दै बाँच्नु छ । जो हिजो भएको थिएन । आज एकले अर्कोको सम्मान अभिवृद्धिका निम्ति आफैं जुट्नु छ । जुटाउनु छ ।
उनै मण्डेलाले भनेका छन्– ‘शिक्षा एक त्यस्तो शक्तिशाली हतियार हो जसको प्रयोगले तिमीले संसार बदल्न सक्छौ ।’ शिक्षा अकाट्य चाँबी हो, जसले सम्मान र आत्मसम्मान अभिवृद्धिको ढोकाहरू खोल्छ । त्यही शिक्षाको माध्यमबाट नेपालका आदिवासी जनजाति समुदायमा मनुस्मृतिका माध्यमबाट लगाइएका तालाहरू खुल्दै गएका छन् ।
त्यसको पछिल्लो उदाहरणका रूपमा चौथो किरात राई प्राज्ञिक संगोष्ठी–२०८० लाई लिन उपयुक्त हुन्छ । किरात राई प्रज्ञा परिषद्ले नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यो संगोष्ठीको आयोजना गरेको छ । यो संगोष्ठीले बन्धनमुक्त समुदायको आत्मसम्मान र पहिचानको खोजी गर्दै आएको छ । ‘पुख्र्यौली ज्ञान सन्तानलाई वरदान, समृद्ध समाज बौद्धिक अभियान’ यो संगोष्ठीको नारा रहेको छ ।
संगोष्ठीले बन्धनमुक्त समुदायको आत्मसम्मान र पहिचानको खोजी गर्दै आएको छ । ‘पुख्र्यौली ज्ञान सन्तानलाई वरदान, समृद्ध समाज बौद्धिक अभियान’ यो संगोष्ठीको नारा रहेको छ ।
संगोष्ठी आयोजक संस्था किरात राई प्रज्ञा परिषद् किरात राई यायोक्खाको प्राज्ञिक क्रियाकलाप गर्न बनेको अंग हो । २०४७ सालमा गठन भएको संस्था किरात राई यायोक्खाले आफ्नो स्थापनाकालमै प्राज्ञिक क्रियाकलाप गर्नका लागि ‘किरात राई भाषा, लिपि, साहित्य र संस्कृतिको अनुसन्धानका लागि विशेषज्ञहरूको समिति गठन गर्न सकिने छ’ भनेर विधानमा उल्लेख छ । सो विधानअन्तर्गत २०४९ सालमा ‘भाषा तथा साहित्य परिषद्’ गठन भएको थियो । यसलाई बौद्धिक क्षेत्रमा अझ बृहत्तर बनाउन २०६७ सालमा किरात राई प्रज्ञा परिषद्मा रूपान्तरण गरिएको जनाइएको छ ।
किरात राई प्रज्ञा परिषद्ले किरातसँग सम्बन्धित विविध विषयमा बहस एवम् छलफलका कार्यक्रमहरू गर्दै आएको छ । २०७५ सालमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा पहिलो किरात राई प्राज्ञिक संगोष्ठी भएको थियो । त्यसयता २०७८ सालमा दोस्रो संगोष्ठी भर्चुअल माध्यमबाट भएको थियो भने २०७९ सालमा तेस्रो प्राज्ञिक संगोष्ठी भौतिक उपस्थितिमा कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा सम्पन्न भएको थियो । अहिले चौथो संस्करण नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्यमा दुइदिने संगोष्ठी हुँदैछ ।
प्रज्ञा परिषद्का सदस्यसचिव डा. तारामणि राईका अनुसार प्राज्ञिक अभ्यासका रूपमा यो संगोष्ठी सावित भएको छ । सुरुमा विज्ञ छनोट गरी कार्यपत्र लेखाउने र प्रस्तुत गराउने गरिएको थियो । त्यतिखेर बन्द रूपमा मात्र हुन्थ्यो, आफ्नो मान्छेलाईमात्र लेख्न लगाइयो भन्ने आरोप हुन्थ्यो । २०७६ सालमा विश्व महामारीका रूपमा कोरोना महामारी फैलिएपछि घोषित दोस्रो किरात राई प्राज्ञिक संगोष्ठी २०७८ सालमा मात्र सम्भव भएको थियो । दोस्रोमा खुल्ला रूपमा कार्यपत्र लेखाएर भर्चुअल माध्यमबाट प्रस्तुत गराइएको थियो । शोधार्थी, अध्ययन, अनुसन्धाताहरूले धेरै चासो दिन थाले । फलस्वरूपमा चौथो संस्करणको दुइदिने संगोष्ठीमा १७ जना अनुसन्धाताले कार्यपत्र प्रस्तुत गर्ने छन् । यो संगोष्ठी भौतिक उपस्थितिमाझ हुनेछ भने कार्यक्रमलाई जुम भर्चुअल माध्यमबाट समेत प्रत्यक्ष प्रसारण हुनेछ ।
संगोष्ठीले प्राज्ञिक वातावरण निर्माणमा सहयोग पु¥याएको छ । पहिले किरात राई जातिमा सीमित थियो । अहिले अन्तरजातीय, अरु समुदायमा पुग्ने विषयवस्तु सामग्री समावेश हुन थालेको छ । अर्कोतर्फ संगोष्ठीमा प्रस्तुत अनुसन्धानमूलक आलेखहरूलाई ‘किरात प्रज्ञा’ जर्नलमा प्रकाशन गर्ने गरिएको छ । यो पटक आईएसएसएनसहित जर्नलको तेस्रो संस्करण प्रकाशित गरिएको छ । यसरी यो वर्षको संगोष्ठीमा प्रस्तुत गरिएका अनुसन्धानात्मक आलेखलाई पुनःमूल्यांकनसहित अर्को वर्षको जर्नलमा प्रकाशन गर्दै जाने नीति अख्तियार गरिएको छ । जसले गर्दा ‘पुख्र्यौली ज्ञान सन्तानलाई वरदान, समृद्ध समाज बौद्धिक अभियान’ नारालाई पुष्टि गर्नेछ ।
संगोष्ठीले प्राज्ञिक वातावरण निर्माणमा सहयोग पु¥याएको छ । पहिले किरात राई जातिमा सीमित थियो । अहिले अन्तरजातीय, अरु समुदायमा पुग्ने विषयवस्तु सामग्री समावेश हुन थालेको छ ।
चौथो किरात राई प्राज्ञिक संगोष्ठीमा मूलतः किराती भाषा, संस्कृति, मुन्दुम, मुन्दुमी वनस्पति, प्रागइतिहास आदि विषयका गोष्ठीपत्रहरू प्रस्तुत गरिने छन् । संगोष्ठीको मुख्य वक्ता इतिहासकार प्रा. दिनेशराज पन्त रहने छन् । समूहत छलफलमा प्रदेश१ को पुनः नामाङ्कन र साझा नाम विषयमा समाजमानवशास्त्री डा. डम्बर चेम्जोङ, पूर्वमन्त्री डा. केशवमान शाक्य, सांसद दुर्गा राई र यायोक्खाका उपाध्यक्ष युवराज राईबीच बहस हुनेछ ।
किराती गीत तथा संगीत बहसमा वरिष्ठ गायक÷संगीतकार जीतेन राई, सुनिता सुब्बा, प्राज्ञ शान्तिराम राई, प्राज्ञ डाक्टर किरातबीच हुनेछ । नेपालको सन्दर्भमा आदिवासी भाषा दशकबार आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, भाषाशास्त्री प्रा.डा. बलराम प्रसाई र भाषा आयोगका पूर्वसदस्य अमृत योन्जन–तामाङबीच बहस हुनेछ । यसैगरी ‘अग्रजका कुरा’ शीर्षकमा अधिवक्ता शान्तिकुमारी राई, बयानसिं राई र डिक बान्तावाले आफ्ना अनुभवलाई साझा गर्नुहुने छ ।
खड्किएको पक्ष राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले किरात राई जातिभित्रका २५ वटा भाषा समेटेको छ । जसमा बान्तावा, चाम्लिङ, कुलुङ, थुलुङ, साम्पाङ, खालिङ, वाम्बुले, बाहिङ÷बायुङ, याम्फु÷याम्फे, नाछिरिङ, दुमी, मेवाहाङ, पुमा, आठपहरिया, दुङमाली, कोयी, लोहोरुङ, जेरो÷जेरुङ, छिन्ताङ, छिलिङ, तिलुङ, लुङखिम, फाङदुवाली, बेलहारे र साम छन् । यी मातृभाषाहरू लेख्य परम्परा उन्मुख छन् । संगोष्ठीमा यी भाषाहरूको अवस्थाबारे र यी भाषामा कार्यपत्र प्रस्तुत हुने छैन । मात्र खस–नेपाली भाषा र अंग्रेजीका माध्यमबाट मात्र प्रस्तुत हुनेछन् ।
मण्डेलाले भनेजस्तो स्वतन्त्र हुनु समुदायको निम्ति सराहनीय पक्ष हो । लोपोन्मुख यी मातृभाषाहरू जनबोलीबाट बन्धनबाट मुक्त हुने खतरा बजिरहेको स्थिति छ । मानिसको स्वतन्त्रताको सम्मान गर्दै जाँदा खस–नेपाली भाषा र अंगे्रेजीकै माध्यम अपनाउँदै जाँदा मातृभाषा अभिवृद्धिमा चाहिं ठेस लाग्दै गएको अवस्था छ । आगामी संगोष्ठी आयोजना गर्दा किरात राई प्रज्ञा परिषद्ले यसतर्फ ध्यान पु¥याउनु पर्ने देखिन्छ । आम समुदाय, बहुसंख्यक समुदायले खस–नेपाली नै बुझ्छन् भन्ने भावनाको विकास हुँदा, त्यसैमा जर्नल प्रकाशन गरिरहँदा जराभन्दा डाँठ र पात–पातमा मात्र सिंचन गरेजस्तो हुँदैजाने निश्चित छ ।