इतिहासमा ओल्ला किरात, माझ किरात र पल्लो किरात भूमि उल्लेख पाइन्छ । यो भूमि आवाद गर्ने आदिवासी किरात जाति हुन् । यो भूमि वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश–१ मा रहेको छ । वर्तमानमा किरात जाति भन्नाले सुनुवार, राई, लिम्बू, याक्खा भनेर बुझ्ने गरिन्छ । किरात जातिको जीवन दर्शन निर्देशित गर्ने धर्मशास्त्र मुन्दुम हो । किरातीहरूको जीवनपद्धति मुन्दुममा आधारित छ । किरात जातिभित्र २८ भन्दा बढी भाषा बोलिन्छन् । अनेक भाषा रहेको हु“दा मुन्दुमलाई मुन्धुम, मुक्तुम, मुत्दुम, मुद्धुम आदि भनेर बोलिन्छ । किरात जातिले आफूलाई प्रकृति र पितृपूजक भनेर चिनाउ“छन् ।
यतिखेर माझ किरात खोटाङको प्रसंग चर्चा गर्न लागिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको संयुक्त आयोजनामा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद (आर्ट काउन्सिल)मा यही फागुन ५ देखि १७ गतेसम्म हुँदैछ । नगरपालिकाकाले गत असोज १७ देखि २१ गतेसम्म खोटाङको दसवटै पालिकाको भूगोल, जनजीवनलाई समेटेर चित्रकला कार्यशालाको आयोजना गरेको थियो । सोही कार्यशाला अन्तर्राष्ट्रिय कलाकारहरू सहभागी भएर खोटाङको भौगोलिक स्थान, प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, जीवनशैलीलाई लिएर चित्र उतारेका छन् । कार्यशालामा उतारिएका १७० जति कोरिएका चित्रकला प्रदर्शनीमा राखिने छ । नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार जिल्लाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा नेपालसहित भारत, चीन, बंगलादेश, भुटान, अस्ट्रेलिया, इजिप्ट, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनामलगायत ५० देशका ख्यातिप्राप्त कलाकारको सहभागिता रहने छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रदर्शनीको उद्घाटन हुनेछ । यही सन्दर्भमा नगरप्रमुख तीर्थराज भट्टराईसँग आर्ट काउन्सिलमा गरिएको कुराकानीको प्रस्तुत गरिएको छः
कुन उद्देश्यले अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला गर्नु भयो र अहिले प्रदर्शनका निम्ति काठमाडौं नै किन रोज्नु भयो ?
हामीले यही २०८० असोजको १७ गतेदेखि २१ गतेसम्म प्रत्यक्ष चित्रकला कार्यशालाको आयोजना ग¥यौं । त्यसमा १४ देशका ४३ जना वरिष्ठ चित्रकारहरू खोटाङ आउनु भएको थियो । त्यसमा १९ जना विदेशी वरिष्ठ चित्रकार हुनुहुन्थ्यो । अरु २४ जना नेपालका ख्यातिप्राप्त चित्रकारहरू हुनुहुन्थ्यो । उहाँहरूले खोटाङमा दसैवटा पालिकाका भूगोल, समाज, संस्कृतिका चित्र कोर्नु भएको छ । ऐतिहासिक महत्वपूर्ण ठाउँहरूको चित्र कोरिएका छन् । यसको मुख्य उद्देश्य चित्रकलाप्रति अभिरूचि रहेका विद्यार्थी भाइबहिनीहरू, अन्य व्यक्तिहरूलाई कसरी चित्रकलातिर जोड्न सकिन्छ । र चित्रकलाको माध्यमबाट पनि हाम्रो जीवनस्तर उक्सिन सक्छ । हाम्रो नगर, जिल्ला, देशको नाम राख्न सकिन्छ भन्ने भावना जागृत गराउने उद्देश्यले चित्रकला कार्यशालाको आयोजना गरिएको हो ।
विश्वविख्यात महान कलाकार लैनसिंह बाङदेल हाम्रै भूमि खोटाङको हुनुहुन्थ्यो । उहाँ विख्यात चित्रकलाको सम्मान गर्दै हामीले खोटाङको पर्यटन प्रवद्र्धन गर्दै आर्थिक आयसँग जोड्ने उद्देश्यले चित्रकला आयोजना गरिएको हो ।
विश्वविख्यात महान कलाकार लैनसिंह बाङदेल हाम्रै भूमि खोटाङको हुनुहुन्थ्यो । उहाँ विख्यात चित्रकलाको सम्मान गर्दै हामीले खोटाङको पर्यटन प्रवद्र्धन गर्दै आर्थिक आयसँग जोड्ने उद्देश्यले चित्रकला आयोजना गरिएको हो । राष्ट्रको ध्यान खोटाङतिर आकृष्ट गर्नको लागि र सहरमा रहेका चित्रकलाप्रति रूचि राख्ने विभिन्न तहतप्का, व्यवसायका व्यक्ति व्यक्तित्वहरूलाई, राष्ट्रप्रमुखलाई बोलाएर दिक्तेलको अवस्था जानकारी गराउन प्रदर्शनी स्थल काठमाडौं रोजिएको हो । दिक्तेलको खोलानाला सुन्दर ठाउँहरू छन् । तपाईहरू आउनोस् भनेर उहाँहरूलाई आकर्षित गराउनका लागि, हाम्रो भूमिसम्म ल्याउन यो प्रयत्न गरेका हौं ।
कार्यशालाका निम्ति १४ देश कसरी जुटाउनु भयो ?
म मेयरको हैसियतले जापान गएको थिएँ । प्राज्ञ धनु याक्खा मूर्तिकार, चित्रकार हुनुहुन्छ, उहाँले जापानमा प्राध्यापक डा. आस्थाप्रभा तुलाधर, जो टोकियो युनिभर्सिटीमा पढाउनु हुन्छ । उहाँसँग सम्पर्क गराउनु भयो । हामीले अरु युनिभर्सिटी पढाउने ललितकला पढाउने प्राध्यापकहरूसँग भेटघाट भयो । उहाँसँग भेटघाट भएपछि एकखालको धारणा बनायौं । यसका निम्ति धनु याक्खाजीले अत्यन्तै ठूलो भूमिका निर्वाह गर्नुभयो । हामीले कलाकारलाई दिक्तेलमा बोलायौं ।
त्यसपछि अहिले ५० वटा देशका चित्रकारहरूले बनाएका चित्रहरू प्रदर्शन गर्दैछौं । (आर्ट काउन्सिलको बाहिरी आँगनमा देखाउँदै) हामी ५० देशका झण्डा गाड्दैछौं ।
जापान जाँदा किरातीको पहिचान लिएर गएँ भनेको सुनेको छु । केही बताइ दिनोस् ।
खोटाङमा किरात राई जातिको बाहुल्यता छ । माझकिरात भनेर हामी चिन्छौं । त्यसमा क्षेत्री, ब्राह्मण पनि हुनुहुन्छ । मगर, गुरुङ, शेर्पा, नेवार, तामाङ, कुमाल, दलित समुदायलगायत सात–आठ जातिको बस्नु हुन्छ । किरात जातिको पहिचान लिएर जापान जानुको अर्थ त्यो भनेको माझकिरात हो । माझकिरातको कुरा नै लिएर जानुपर्छ । मैले आर्यन समुदायको शंख र घण्ट बोकेर जापान गएर केही अर्थ हुँदैन । वनारसको मान्छेले शंख र घण्ट लानुपर्छ । किरात संस्कृतिका सामग्री लिएर अर्थ हुँदैन । म त्यो ठाउँको प्रतिनिधित्व गर्छु । म ब्राम्हणको छोरो भएपनि मैले किरात संस्कृतिको प्रचारप्रसार गर्नु, समग्र जातिजातिलाई समेट्ने मुन्दुम एउटा ठूलो आख्यान छ । त्यसको प्रचारप्रसार गर्नु मेरो दायित्व, कर्तव्य मैले निर्वाह गरेको हो । मलाई ठूलो काम गरें भन्ने लाग्दैन । आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ भनेर हामीले गरेको हो ।
दिक्तेलमा तपाईंकै नगरपालिकामा १०० फिटको विश्वकै अग्लो भनेर पहिलो किरात राजा यलम्बर हाङको प्रतिमा निर्माण गर्दै हुनुहुन्छ । त्यो कुन चरणमा पुगेको छ ?
विगतमा स्थानीय सरकारले प्रारम्भ गरेको हो । त्यो अन्तिम चरणमा पहिल्यै पुगिसक्नु पर्ने हो । योजना अलपत्र परेको अवस्था छ । प्रदेश सरकारले बजेट नदिएर रोकिएको अवस्था छ । नगरपालिकामा हामी निर्वाचित भएर आउनुबित्तिकै १ करोड ८३ लाख र अहिले २ करोड १० लाख रुपैयाँ बजेट बिनियोजन गरेका छौं । प्रदेश सरकारले ६ करोड बजेट दिनुपर्ने दिएको छैन । धेरै अनुनय विनय गरेपछि अहिले ५० लाख छुट्टाएको छ । अब हामी यो अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सकिन्छ । त्यसपछि बजेट बनाउने बेलामा सर्वदलीय, सर्वपक्षीय गएर प्रदेश सरकारलाई भनेर लागत व्यहोर्न हस्ताक्षर गरेको दायित्व पूरा गर्न घचघच्याउने छौं । यसनिम्ति किरात राई यायोक्खामा पनि कुरा राखेको छु कि तपाईहरूको तर्फबाट दबाव दिनुपर्छ । विश्वमै अग्लो प्रतिमा अलपत्र पर्ने अवस्था छ भनेर मैले आग्रह गरेको छु ।
यो मुन्दुम चित्रकला प्रदर्शनीले कस्तो सन्देश दिने ठान्नु भएको छ ?
हामी चित्रकलामार्फत् समग्र हाम्रो संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने छ । हाम्रो त्यहाँको मूल संस्कृति भनेको मुन्दुम हो । त्यसैले मुन्दुम नामाकरण गरिएको हो । ममाथि मेरै समुदायका मान्छेले प्रश्न गरे किन यो मुन्दुम राखेको ? साझा नाम राख्नु पथ्र्यो भन्नुभयो । तर मेरो बुझाइमा यो साझा नै हो । केही किराती साथीहरूले पनि भावनामाथि खेलेर मुन्दुम राखिस् भन्नुभयो । मलाई लाग्छ, यो भावनामा खेल्ने भन्दा पनि यसलाई अन्तर्राष्ट्रियकरण, व्यापकीकरण गर्नका लागि नगरपालिकाले संस्थागत ढंगले स्थानीय सरकारले निर्णय गरेको कुरा हो । मैले एक्लै लहडमा निर्णय गरेको होइन । कार्यपालिकाले सर्वसम्मत ढंगले मुन्दुम नामाकरण गरिएको छ । त्यसकारणले हाम्रो संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्न सकिन्छ । दोस्रो, विद्यार्थी भाइबहिनीहरू चित्रकलाप्रति प्रोत्साहित गर्न सकिन्छ । तेस्रो, त्यहाँ बनाइएको १७० भन्दा बढी चित्रकलाहरू खोटाङमा लगेर मुन्दुम संग्रहालयका रूपमा विकास गर्छौं ।
हामी चित्रकलामार्फत् समग्र हाम्रो संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने छ । हाम्रो त्यहाँको मूल संस्कृति भनेको मुन्दुम हो । त्यसैले मुन्दुम नामाकरण गरिएको हो ।
मलाई जानकारी भएअनुसार यहाँ वरिष्ठ चित्रकारले भन्नुभएअनुसार नेपालकै पहिलो अन्तर्राष्ट्रिय चित्रकला संग्रहालयका रूपमा स्थापित हुनेछ भविष्यमा । किनभने यहाँका संग्रहालयहरू राष्ट्रिय संग्रहालयमात्रै छन् । हामीचाहिं अन्तर्राष्ट्रिय संग्रहालय निर्माण गर्दैछौं । पचास वटा राष्ट्रका वरिष्ठ चित्रकार, प्रोफेसर, डिन भइसक्नु भएका व्यक्तित्वहरूले बनाउनु भएको चित्रहरू लगेर राख्दैछौं । अर्को कुरा यहीं नेपालकै प्रसिद्ध कलाकार राजा वीरेन्द्रको चित्रकला गुरु विजय थापालगायत वरिष्ठ चित्रकारहरूले बनाउनु भएका चित्रहरू छन् । यसरी अत्यन्तै ख्यातिप्राप्त कलाकारले कोर्नु भएका चित्रकला यहाँ रहेका छन् ।
बबरमहलस्थित आर्ट काउन्सिलमा अन्तर्राष्ट्रिय मुन्दुम चित्रकला प्रदर्शनको आयोजक संस्था दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र धनु आर्ट स्टुडियोका प्रमुख प्राज्ञ धनु याक्खा ।