विशेष, स्वायत्त र संरक्षित क्षेत्र माँग गर्दै छन्त्याल आदिवासीहरु 

रोजिना लामा
रोजिना लामा१८ असोज २०८०, बिहिवार
विशेष, स्वायत्त र संरक्षित क्षेत्र माँग गर्दै छन्त्याल आदिवासीहरु 

आदिवासी छन्त्याल समुदायका अगुवाहरुले ऐतिहासिक भूगोल र सघन बसोबासका आधारमा छन्त्याल विशेष, स्वायत्त र संरक्षित क्षेत्र घोषणा गर्न माँग गरेका छन् । छन्त्यालहरुको जातीय संस्था नेपाल छन्त्याल संघ र इन्डिजिनियस मिडिया फाउण्डेशनको संयुक्त आयोजनामा भएको बहस कार्यक्रममा छन्त्याल अगुवाहरुबाट यस्तो माँग आएको हो ।  यस्तो माँग यस अघि पनि गर्दै आएका थिए । नेपालको संविधानमा विशेष, स्वायत्त र संरक्षित क्षेत्रको व्यबस्था भए पनि यसको कार्यन्वयन हुन सकेको छैन । 

“छन्त्याल आदिवासी जनजाति सघन बसोबास भएको  आफनै ऐतिहासिक भौगोलिक निरन्तरता सहितको थाकथलो छ । त्यही परम्परागत भूमिलाई छन्त्याल संरक्षित स्वायत्त क्षेत्र बनाउनु पर्छ ।” नेपाल आदिवासी जनजाति महासंघका पूर्व उपाध्यक्ष गोविन्द छन्त्यालले बताउनु भयो –“म्याग्दी जिल्लाको कुइनेमङ्गले , मल्कवाङ, गुर्जाखानी, पाखापानी, भकिम्ली, बञ्रजा, अर्थुङ्गे, ताकम, ओखरबोट, दर्बाङ, अर्मन, र निस्कोट छन्त्याल संरक्षित क्षेत्रका संभावित भूगोल हुन् ।

छन्त्याल जातिको सघन बसोबास गरिरहेका क्षेत्रहरु प्रसस्तै छन् । ती थाकथलोहरुमा मल्काबाङखानी, मलम्पारखानी, कुइनेखानी, चौरखानी, झिङखानी, मच्छिमखानी, मङ्गलेखानी, ठाडाखानी, गुर्जाखानी, अर्मनखानी, लामेलाखानी, छापखानी, नर्जाखानी, बोङ्खानी, खुङखानी, घाँसाखानी, काडाँखानी, हाँडीखानी, घैयाखानी, खानीखोला, लेखानी, देउरालीखानी, झुलेखानी, बंरजा, निस्कोट, छापखानी, धम्जा आदि रहेका छन् । 

यसै गरी बागलुङ जिल्लाको दमेक, खुङखानी, तमान, बोङ्गादोभान, देविस्थान, बुर्तीबाङ, अधिकारीचौर, दर्लिङ, धम्जा, अमरभूमि, खुँगा, निसी, जलजला, दगातुन्डाडा, लेखानी र धुल्लबाँसकोटलाई समेत छन्त्याल स्वायत्त क्षेत्र  बनाउनु पर्छ ।”

छन्त्यालको पहिचान  खानीसंग जोडिएको छन्त्याल अगुवाहरुको दावी छ । छन्त्याल संघका पूर्ब अध्यक्ष मनिचन छन्त्यालका अनुसार इतिहासको विभिन्न कालखण्डमा खानी सञ्चालन भएका र छन्त्याल जातिको सघन बसोबास गरिरहेका क्षेत्रहरु प्रसस्तै छन् । ती थाकथलोहरुमा मल्काबाङखानी, मलम्पारखानी, कुइनेखानी, चौरखानी, झिङखानी, मच्छिमखानी, मङ्गलेखानी, ठाडाखानी, गुर्जाखानी, अर्मनखानी, लामेलाखानी, छापखानी, नर्जाखानी, बोङ्खानी, खुङखानी, घाँसाखानी, काडाँखानी, हाँडीखानी, घैयाखानी, खानीखोला, लेखानी, देउरालीखानी, झुलेखानी, बंरजा, निस्कोट, छापखानी, धम्जा आदि रहेका छन् । 

नेपालको संविधान अनुसार विशेष, स्वायत्त र संरक्षित क्षेत्रका लागि नेपाल छन्त्याल संघले पटक पटक पहल गरिरहेकोसंघका अध्यक्ष मनमोहन छन्त्यालको भनाई छ । “छन्त्याल संघ आफैले र नेपाल आदिवासी जनजाति महासंघसंग मिलेर विशेष स्वायत्त र संरक्षित क्षेत्र घोषणा गर्न माँग गरिहेका छौ, तर सरकारले संविधान जारी भएको लामो समयसम्म पनि यसको कार्यन्वयन नगर्नु दुखद् अवस्था हो ।” उहाँले भन्नु भयो । 

संघकी वरिष्ठ उपाध्यक्ष मनमाया छन्त्यालले पनि छन्त्याल लगायत थोरै संख्यामा रहेका आदिवासीको उत्थान र विकासका लागि स्वायत्त क्षेत्र अपरिहार्य भएको धारणा राख्नु भयो । छन्त्याल जस्तै थोरै जनसंख्या भएको बराम आदिवासीका लागि सर्वोच्च अदालतले स्वायत्त क्षेत्र घोषणा गर्ने निर्देशात्मक आदेश दिएकोभए पनि कार्यन्वयनमा नआएकोमा उहाँले गुनासो गर्नु भयो । 

कार्यक्रममा आदिवासी अभियन्ता हरिचन छन्त्यालले पनि छन्त्याल जस्ता थोरै जनसंख्या भएका आदिवासी जनजातिको भाषा, संस्कृति, स्वायत्तता र आत्मनिर्णयको अधिकारका लागि छन्त्याल स्वायत्त क्षेत्र अपरिहार्य भएको धारणा राख्नु भयो । 

छन्त्यालहरुको आफनो पैतृक भूमिमा राज्य संरक्षित विकासले छन्त्यालहरुको भूमि, भूभाग र भूक्षेत्र तथा पकृतिक स्रोत र साधनको अतिक्रमण भएको विचार राख्नु हुँदै स्वायत्त क्षेत्रले उनीहरुको सामाजिक मूल्य र मान्यतालाई विकास गर्न सहयोग पुग्ने उहाँहरुको विश्वास छ । 

बहस कार्यक्रममा छन्त्याल आदिवासीहरुको प्रतिनिधिहरुले ऐतिहासिक थाकथलो, बसोबासको भौगोलिक निरन्तरताका आधारमा हालकै संविधानमा भएको व्यबस्था अनुसार स्वायत्त क्षेत्र घोषणा गर्नू पर्ने धारणा राख्नु भयो । 

प्रतिक्रिया