आदिवासी समुदायबाट उपल्लो राजकीय पदमा पुग्ने पहिलो राजनेता नेम्वाङ, मुन्धुम परम्परा अनुसार अन्त्येष्टि

Admin
Admin२६ भदौ २०८०, मङ्गलवार
आदिवासी समुदायबाट उपल्लो राजकीय पदमा पुग्ने पहिलो राजनेता नेम्वाङ, मुन्धुम परम्परा अनुसार अन्त्येष्टि

संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ । सोमबार राति बालुवाटारस्थित निजी निवासमा हृदयाघात भएपछि राति  अस्पताल लैजाने क्रममा नेम्वाङको निधन भएको हो । उहाँ इलाम निर्वाचन क्षेत्र नम्बर– २ बाट प्रतिनिधि सभामा लगातार तीन कार्यकाल प्रतिनिधित्व गर्दै आउनु भएको थियो । उहाँ नेकपा एमाले संसदीय दलका उपनेता पनि हुनु हुन्थ्यो । 

उहाँ आदिवासी जनजाति समुदायबाट उपल्लो राजकीय पदमा पुग्ने एक मात्र राजनेता हुनु हुन्थ्यो । आदिवासी जनजाति समुदायबाट उपराष्ट्रपति तथा मन्त्रीहरु भए पनि संवैधानिक पदाधिकारीहरु कोही पनि भएका छैनन् । 

उहाँको अन्तीम संस्कार याक्थुङ लिम्बुको मुन्धुम संस्कार अनुसार विहिबार पशुपति आर्यघाटमा हुने भएको छ । उहाँको  पार्थिव शरीर मंगलबार दिनभर एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरिसकेको छ । अन्त्येष्टि गरेका दिन सार्वजनिक बिदा समेत दिने सरकारले जनाएको छ । 

नेम्वाङको जन्म २००९मा इलामको सुन्तलाबारीमा भएको थियो ।  उनी इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा लाग्नु भएको थियो । २०३३ सालमा राजद्रोह मुद्दामा केही समय जेल पर्नु भएको थियो । २०४८ र २०५२ सालमा राष्ट्रियसभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बन्नु भएको थियो । 

विसं २०५६ को संसदीय निर्वाचन जितेर नेम्वाङ सार्वजनिक लेखा समिति सभापति बन्नु भएको थियो । उहाँ जनआन्दोलन विसं २०६२ र ६३ को जनआन्दोलनको सफलतासँगै पुनःस्थापित प्रतिनिधिसभाको सभामुख भएका हुनु हुन्थ्यो । उहाँ २०६४ र २०७० सालमा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष हुनु भएको थियो ।  संविधानसभाबाट नेपालको संविधान जारी गर्न उनले समन्वयकारी भूमिका निर्वाह गर्नु भएको थियो । 


 

प्रतिक्रिया