शेर्पालुङ स्थापना गर्नु नै हिमाली आदिवासीको पहिचान सहितको अधिकार सुनिश्चित हुनेमा सरोकारवालाले जोड दिएका छन् ।
शनिबार सोलुखुम्बु जिल्लाको सोलुदुधुण्ड नगरपालिका सल्लेरीमा आयोजित शेर्पा समुदायसंग सम्बन्धित विविध विषयमाथिको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले शेर्पा लगायत हिमाली आदिवासीलाई समेट्ने भनेको शेर्पालुङ प्रदेश भएको भनाई राख्नुभयो ।
नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले शेर्पालुङसभाको अवधारणाको विषयमा प्रस्तुती राख्नुहुँदै शेर्पालुङलेमात्र शेर्पालगायत हिमाली क्षेत्रमा बसोबास सानो संख्यामा रहेका आदिवासीको राजनीतिक अधिकार सहितको पहिचान प्राप्त हुने बताउनुभयो । उहाँले पछिल्लो समय संघियतालाई हटाउने किसिमका कुराहरु सिमित समूहले उठाउने काम भईरहेको बताउनुहुँदै संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकार संरक्षणको निमित्त एकजुट हुन आग्रह गर्नुभयो । उहाँले शेर्पालुङसभाको अवधारणाको विषयमा प्रष्ट पार्नुहुँदै नेपाल शेर्पा संघले आफ्नो सातौँ महाधिवेशनले शेर्पालुङसभाको घोषणा गर्ने समेत बताउनुभयो । महासचिव शेर्पाले भन्नुभयो ‘शेर्पालुङलेमात्र शेर्पाको भाषा, धर्म, संस्कृति, भुमिभुभाग, मुर्तअर्मुत सम्पदा र पुर्ण राजनीतिक अधिकार सहितको पहिचान पाउँछ ।’
महासचिवको भनाई जस्तै संघका अध्यक्ष गेल्जे शेर्पाले पनि संघियताको राम्रो पक्ष भनेको आदिवासी जनजातिको अधिकार स्थापित गर्नु रहेको बताउनुभयो । अध्यक्ष शेर्पा संघियताको अभ्यास राम्रो ढंगले नभएको बताउनुहुँदै संविधानले सुनिश्चित गरे अनुसार संघियतामा चल्न सके राजनीतिक अधिकारबाट बँचित समुदायको विषय उठान हुने भनाई राख्नुभयो । उहाँले आदिवासी जनजाति र पहिचानको आन्दोलनका विषयलाई उठान गर्दै विकासको नाममा राज्यले आदिवासी भूमिलाई नष्ट गर्दै गएको आरोप लगाउनुहुँदै जथाभावि आदिवासी जनजातिको अनुमती बिना हाईड्रोपावरहरु संचालन गर्दा उनीहरुको ज्ञानसिपहरुमा असर परेको बताउनुभयो । उहाँले माथि जोड्नुहुँदै विकास निमार्णको कामगर्दा आदिवासीसंग स्वतन्त्र पुर्व जानकारी सहितको मन्जुरी एफपिक गनुपर्ने बताउनुभयो ।
नेपाल शेर्पा संघका पूर्व महासचिव निमा तुण्डुप शेर्पाले भन्नुभयो ‘राज्यले हाम्रो भाषा, संस्कृतिमाथि विभेद गरिरहेको छ, धार्मिक प्रयोगका खादा, चाडपर्व लोसारमा हरेक क्षेत्रबाट राज्यले बारम्बार प्राहार गर्दै आएको यि विभेद अन्त्यको विकल्प भनेको शेर्पालुङमात्र हो ।’ उहाँले वर्तमान राज्य संरचनाले शेर्पालुङलाई दुईभागमा बाढेको बताउनुहुँदै यसलाई एक बनाएर शेर्पालुङ बनाउन सकिने र अर्को भनेको संविधान अनुसार दुई प्रदेशमा भएको शेर्पा क्षेत्रलाई शेर्पा विशेष स्वायता क्षेत्र घोषणा गर्न तर्फ पहल गर्नुपर्ने भनाई राख्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा आर्चाय नुर्बु शेर्पाले शेर्पा समुदायको धर्म संस्कृति र भाषाका सम्बन्धमा प्रस्तुती राख्नुभएको थियो । उहाँले शेर्पा समुदाय बौद्धधर्मसंगको सम्बन्ध र बौद्धधर्म अनुसारका पुजापाठका सम्बन्धमा प्रष्ठ पार्नु भएको थियो । उहाँले शेर्पाले मनाउने गरेको लोसार, भाषा, लिपिको प्रयोग र शेर्पाहरुको थरका विषयमा जानकारी दिनुभएको थियो ।
यसैगरि पर्यटन व्यवसायि आङछिरिङ शेर्पाले जलवायु परिवर्तन र हिमाली क्षेत्रको फोहोर व्यवस्थापनको दिर्घकालीन योजना विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्नुहुँदै उहाँले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण जिविकोर्पाजनमा चुनौती बढ्दै गएको बताउनुभयो । जलवायु परिवर्तनले निमत्याएको बाढिपहिरो लगायतले पर्यटन व्यवसाय धरापमा पर्ने अवस्थामा रहेको भनाई राख्नुभयो । उहाँले हिमालमा हिउँ नरहनु, पानीको मुहान सुक्नु, बेमौसमीका कारण खेतीकिसानीमा प्रभाव पर्दा अधिकाँश युवापुस्ताहरु विस्तारै पलयान हुँदै विदेशिन बाध्य रहेको जोडनुभयो । उहाँले पर्यटन क्षेत्रमा आश्रित शेर्पाहरुको पेशा विस्तारै धराप हुनेमा चिन्ता व्यक्त गर्नुभयो ।
यसअघि सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले स्वागत मन्तव्य राख्नुहुँदै दन्दकालपछि सोलुखुम्बुमा शेर्पाको जनसंख्या घट्दो अवस्थामा रहेको बताउनुभयो । उहाँले शेर्पाहरुले पुख्र्यौली थाकथलोलाई बेच्दै काठमाडौँ हुँदै युरोप अमेरिका तिर जाने लहर चलेकोले यस्तै अवस्था रहिरहने हो भने सोलुखुम्बुबाट शेर्पाको पहिचान हराउँदै जानेमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो दुख लाग्छ पुर्खाको सम्पतीलाई नबेच्न भन्छु शेर्पाको पहिचान नरहने हो की भन्ने डर छ । तर नगरपालिकाले भने शेर्पाको भाषा, संस्कारसंस्कृति संरक्षणमा भने नगर अगि बढ्को बताउनुयभो ।
नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य आङ दावा शेर्पा, कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा, नेपाल आदिवासी जनजाति महिला महासंघका अध्यक्ष ङिमी शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका निर्वतमान अध्यक्ष छिरिङ शेर्पा, नेपाल शेर्पा संघका सल्लाहकार लाक्पा ठिन्ले शेर्पालगायतले बोल्नुभएको थियो ।