संघीयता कार्यान्वयनमा आदिवासी जनजातिको स्थान लेखाजोखा

गणेश राई
गणेश राई२६ पुष २०८१, शुक्रवार
राजनीतिक अभिलेखः संघीयता कार्यान्वयनमा आदिवासी जनजातिको स्थान लेखाजोखा गणेश राई 

यतिखेर सत्ताशीन राजनीतिक दलहरूका नेताहरू नेपालको संविधान (२०७२) संशोधनको खेलोफड्कोमा कुदाकुद छन् । प्रतिपक्ष दलका नेताहरू तर्सिएझैं गरेर विरोधका निम्ति विरोधका शब्दहरू ओकलिरहेका छन् । यहीबेला ‘आदिवासीको दृष्टिकोणमा नेपालमा संघीयताको कार्यान्वयन’ नामको पुस्तक सार्वजनिक भएको छ । संविधानमा भएका सकारात्मक गुलियो व्यवस्थालाई आदिवासी जनजातिले सम्झीसम्झी ती बुँदाहरूलाई ओल्टाइपल्टाइ दोहो¥याइ तेह¥याइ हेरिरहेका छन् । त्यही हेराइको दसी नै यो दस्तावेज पुस्तक हो ।

यो पुस्तक नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशन गरेको हो । यसमा समेटिएको विषयवस्तुहरू डा. कृष्ण भट्टचन, शंकर लिम्बू, अमृता थेबे लिम्बू, इन्दिरा श्रीसमगर, डा. तारामणि राई, डा. मुक्तासिंह तामाङ र सरीना गुरुङले अभिलेखन गर्नुभएको छ । पुस्तकभित्र सातवटा शीर्षक सामग्री विस्तार गरिएका छन् । संघीयताको मेरुदण्डाको रूपमा स्वायत्ततालाई लिइएको छ । डा. भट्टचनको ‘नेपालमा संघीयताको कार्यान्वयनमा आदिवासीको स्वायत्तता’ आलेख रहेको छ । अधिवक्ता शंकर लिम्बूले ‘न्यायमा पहुँचका लागि नेपालको सन्दर्भमा आदिवासी न्याय प्रणाली’ शीर्षकमा विहँगम चर्चा गर्नुभएको छ । अधिवक्ता अमृता थेबे लिम्बूले ‘आदिवासीको प्रथाजनित कानुन, नेपालको प्रचलित कानुन र अन्तर्राष्ट्रिय कानुनमा नेपालको आदिवासी महिलाको आत्मनिर्णय तथा सामुहिक अधिकारीको सुनिश्चितता’ शीर्षकमा तथ्य पेश गर्नुभएको छ । 

अधिवक्ता इन्दिरा श्रीसमगरले ‘आदिवासी नारीवाद, लैंगिक तथा सामुहिक अधिकार र नेपालमा कार्यान्वयन’ शीर्षकमा चर्चा गर्नुभएको छ । युवा भाषाशास्त्री डा. तारामणि राईले ‘संघीय राज्यसंरचनामा भाषिक नीति र आदिवासीका भाषा’ शीर्षकमा मुलुक १२४ भाषामध्ये ९० वटा आदिवासी भाषाहरूको अवस्थाबारे चर्चा गर्नुभएको छ । मानवशास्त्री डा. मुक्तासिंहले ‘संघीयतापछि आदिवासी जनजातिको राजनीतिक समावेशीता र अबको आवश्यकता’ शीर्षकमा गहन चर्चा गर्नुभएको छ । अन्तिम खण्डमा लेखकहरूको संक्षिप्त परिचय रहेको छ । 

पुस्तकको परिचय खण्डमै संविधान कस्तो छ भन्नेबारे स्पष्ट पारिएको छ । आदिवासीहरूको मानवअधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप)ले नेपालको संविधान, २०७२ का सम्बन्धमा गरेको अध्ययन तथा विश्लेषणको निचोड उद्धृत गरिएको छ । लाहुर्निपले विद्यमान संविधानको ११ वटा धाराहरू आदिवासी जनजाति विरुद्ध, २३ वटा धाराहरू आदिवासी जनजातिप्रति विभेदकारी, ४९ वटा धाराहरू आदिवासी जनजातिलाई बहिष्करण गर्ने प्रावधानहरू र ५ वटा धाराहरू एकल जातीय सर्वोच्चता कायम गर्ने प्रावधान रहेको औंल्याएको छ । आदिवासी तथा मधेसी आन्दोलनले यो संविधानको अपनत्व लिएको छैन । त्यसैले यो संविधान संशोधन होइन, पुनर्लेखन हुनुपर्ने आदिवासीविज्ञहरूले बताउँदै आउनु भएको छ ।

लाहुर्निपले विद्यमान संविधानको ११ वटा धाराहरू आदिवासी जनजाति विरुद्ध, २३ वटा धाराहरू आदिवासी जनजातिप्रति विभेदकारी, ४९ वटा धाराहरू आदिवासी जनजातिलाई बहिष्करण गर्ने प्रावधानहरू र ५ वटा धाराहरू एकल जातीय सर्वोच्चता कायम गर्ने प्रावधान रहेको औंल्याएको छ ।

संविधानको धारा ५१ (ञ)(८)मा ‘आदिवासी जनजातिको पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न अवसर तथा लाभका लागि विशेष व्यवस्था गर्दै यस समुदायसँग सरोकार राख्ने निर्णयहरूमा सहभागी गराउने तथा आदिवासी जनजाति र स्थानीय समुदायको परम्परागत ज्ञान, सिप, संस्कृति, सामाजिक परम्परा र अनुभवलाई संरक्षण र संवद्र्धन गर्ने’ उल्लेख छ । राज्यको निर्देशक सिद्धान्तलाई सकारात्मक रूपमा लिए पनि व्यवहारमा भने ठीक उल्टो भइरहेको छ । प्रदेशको नामाङ्कनदेखि विकास कार्यक्रमलगायत सबैमा आदिवासी जनजातिको पहिचान मेट्ने काम भइरहेको समाजशास्त्री भट्टचनले उल्लेख गर्नुभएको छ । 

मानवशास्त्री तामाङले संघीयतापछि आदिवासी जनजातिको राजनीतिक प्रतिनिधित्वको अवस्था केलाउनु भएको छ । सूचीकृत ५९ आदिवासी जनजाति छन् भने पछिल्लो पटक राना थारु थपिएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालमो १ करोड २ लाख ११ हजार ८८६ आदिवासी जनजाति छन् । यो संख्या देश नेपालको कुल जनसंख्याको करिब ३५ प्रतिशत हो । आदिवासीमध्ये १३ वटाको मात्र १ लाखभन्दा बढी जनसंख्या रहेको छ । कुल जनसंख्याको १ प्रतिशतभन्दा माथि जनसंख्या भएका सातवटा आदिवासी जनजाति छन् । मगर, थारु, तामाङ, नेवार, राई, गुरुङ र लिम्बू गरी सातवटा आदिवासी जनजातिले ८२ प्रतिशत आदिवासी जनजातिको जनसंख्या ओगटेको छ । धानुक, राजवंशी, शेर्पा, कुमाल घर्तीभुजेल र माझीको जनसंख्या एकलाखभन्दा बढी छ । बनकरिया, कुसुण्डा, सुरेल, ल्होमी, वालुङ, राउटे, तोप्केगोला, कोचेलगायत समुदायको जनसंख्या एकहजार भन्दा कम रहेका छन् । 

संघीयता लागू भएपछि संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा दुईपटक निर्वाचन सम्पन्न भएको छ । प्रतिनिधि सभाको चुनाव सन् २०१७ (२०७४ साल)मा २७५ जनामा समावेशिता केलाइएको छ । जसमो आदिवासी जनजातिको प्रतिनिधित्व २९.८ प्रतिशत (प्रत्यक्षतर्फ १६ प्रतिशतमात्र), संख्याका हिसाबले ८२ जना रहेको थियो । जसमा मगर, थारु, तामाङ, नेवार, राई, गुरुङ, लिम्बू, शेर्पा, सुनुवार, भोटे, छन्त्याल, थकाली र मेचे समुदायका थिए । प्रतिनिधि सभाको चुनाव सन् २०२२ (२०७९ साल)मा आदिवासी जनजातिको प्रतिनिधित्व उही २९.८ प्रतिशत (प्रत्यक्षतर्फ १६ प्रतिशतमात्र), संख्याका हिसाबले ८२ जना रहेको छ । जसमा मगर, थारु, तामाङ, नेवार, राई, गुरुङ, लिम्बू, धानुक, माझी, झागड, गनगाई, भोटे र थकाली छन् । 

‘पहिलो संविधान सभामा आदिवासी जनजातिको प्रतिनिधित्व २१८ जना (३६.३० प्रतिशत) थियो भने दोस्रो संविधान सभामा त्यो संख्या घटेर १८९ (३१.४ प्रतिशत) हुनगयो । संघीयता आएपछि संविधानले बाचा गरेअनुरुप प्रतिनिधित्व समानुपातिक हुँदै जानुपर्नेमा आदिवासी जनजातिको प्रतिनिधित्व २०१७ प्रतिनिधि सभाको चुनावमा अझै घटेर २९.८ प्रतिशतमा झ¥यो । २०२२ को प्रतिनिधि सभाको नतिजा यही दरमा स्थिर भएको छ । दुवैपटक १३–१३ जातिका प्रतिनिधिमात्र संसदमा पुगेका छन् ।’ मानवशास्त्री डा. तामाङले उल्लेख गर्नुभएको छ, ‘संघीयतापछिको दुई राष्ट्रिय सभाको बनोट स्पष्ट रुपमा असमावेशी देखिन्छ । दुवै निर्वाचनपछिको राष्ट्रिय सभामा ६० प्रतिशतको हाराहारीमा रहेको प्रतिनिधित्वले खसआर्यको वर्चस्व निरन्तर कायम रहेको देखाउँछ । आदिवासी जनजातिको प्रतिनिधित्व २०१७ मा २०.३ प्रतिशत थियो भने २०२२ मा १६.९ प्रतिशतमा झरेको छ ।’

यसैगरी प्रदेश सभा निर्वाचन २०७४ मा जम्मा ५५० जनामध्ये आदिवासी जनजाति १७१ जना (३१.१ प्रतिशत) रहेको थियो । त्यसमा १६ थरी आदिवासी जनजातिको प्रतिनिधि प्रदेश संसदमा पुगेका थिए । प्रदेश सभा निर्वाचन २०७९ मा आदिवासी जनजाति १७७ जना (३२.२ प्रतिशत) छन् । त्यसमा १८ थरी आदिवासी जनजाति प्रतिनिधि प्रदेश सभामा रहेका छन् । 

स्थानीय तहको निर्वाचन २०७४ मा ३८ थरी आदिवासी जनजातिको प्रतिनिधित्व थियो । स्थानीय तहको निर्वाचन २०७९ मा पनि ३८ थरी आदिवासी जनजातिको प्रतिनिधित्व छ ।

यसैगरी स्थानीय तहको निर्वाचन २०७४ मा ३८ थरी आदिवासी जनजातिको प्रतिनिधित्व थियो । स्थानीय तहको निर्वाचन २०७९ मा पनि ३८ थरी आदिवासी जनजातिको प्रतिनिधित्व छ । त्यसमा प्रदेश–१ मा मेयर ४९ जनामध्ये २५ जना आदिवासी जनजाति र उपमेयर १७ जना, अध्यक्ष ८८ जनामध्ये ६३ जना र उपाध्यक्ष ५८ छन् । मधेस प्रदेशमा मेयर ७७ जनामध्ये ८ जना र उपमेयर १७ जना, अध्यक्ष ५९ जनामध्ये ५ जना र उपाध्यक्ष ६ जना छन् । बागमती प्रदेशमा मयेर ४५ जनामध्ये आदिवासी २० जना र उपमेयर २० जना, अध्यक्ष ७४ मध्ये ४४ जना र उपाध्यक्ष ४२ छन् । 

गण्डकी प्रदेशमा मेयर २७ जनामध्ये आदिवासी ५ जना र उपमेयर ७ जना, अध्यक्ष ५८ जनामध्ये ३० जना र उपाध्य ३४ जना छन् । लुम्बिनी प्रदेशमा मेयर ३६ जनामध्ये आदिवासी जनजाति ९ जना र उपमेयर १७ जना तथा अध्यक्ष ७३ जनामध्ये २१ जना र उपाध्यक्ष २४ जना छन् । कर्णालीमा २५ जना मेयरमध्ये आदिवासी जनजाति ४ जना र उपमेयर २ जना तथा अध्यक्ष ५४ जनामा १० जना र उपाध्यक्ष ११ जना छन् । सुदूरपश्चिम प्रदेशमा मेयर ३४ जनामध्ये आदिवासी जनजाति ४ जना, उपमेयर ७ जना तथा अध्यक्ष ५४ जनामा ५ जना र उपाध्यक्ष ३ जना छन् । 

‘संघीयतापछिका संसद र प्रदेशको निर्वाचनको लागि समानुपातिकको संख्या घटाएर ४० प्रतिशत मात्र पु¥याएन, समानुपातिक सिटमा सीमान्तकृतबाहेक खुला प्रतिस्पर्धाबाट आउन सक्ने खसआर्य समूहलाई समेत राखियो । पहिलो सविधान सभाको चुनावको अनुभवबाट नेपालमा समन्यायिक भएको साबित भइसकेकाले समानुपातिक प्रणाली फेरि ६० प्रतिशत गर्नुपर्ने र समानुपातिकमा जनसंख्याको अनुपातमा नपुगेका र प्रतिस्पर्धा गर्न नसक्ने समूहको लागि सुरक्षित गर्नुपर्ने देखिन्छ । त्यसैगरी स्थानीय तहको निर्वाचनलाई पनि प्रत्यक्ष निर्वाचन प्रणालीबाट मात्र गर्ने नभएर आरक्षणबाट निर्णायक पदहरूमा महिला तथा सीमान्तकृत समुदायको उपस्थिति सुनिश्चित गर्नुपर्ने देखिन्छ ।’ मानवशास्त्री तामाङको निष्कर्ष छ । 

सुरुमै भनियो कि संसदमा दुईतिहाई बहुमतका धनी सत्ताशीन राजनीतिक दलहरूका निम्ति संविधान संशोधन केका लागि र कसका लागि भन्ने आफ्नै तर्क र जिकिर रहलान् । तर आदिवासी जनजाति, मधेसी, मुस्लिम लगायत सीमान्तकृत नेपाली समुदायको आवाजलाई कम आंकलन गर्नु संविधानको खिल्ली उडाउनु हो । प्रतिपक्षमा रहेका राजनीतिक दलहरूका पनि आ–आफ्नै स्वार्थ लुकेका छन् । अन्ततः उही बहुसंख्यक वर्ग र जातिले मात्र आलोपालो राज्यसत्ताको बागडोर सम्हाल्ने भएकाले संविधान संशोधनलाई म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर भनेझैंमात्रको संकेत हो । नत्र संविधान सबैको हो भन्ने हो भने उठेका इतर र सीमान्तकृत आवाजहरूको सम्बोधन गर्न जरुरी छ । त्यसनिम्ति यो ‘आदिवासीको दृष्टिकोणमा नेपालमा संघीयताको कार्यान्वयन’ पुस्तक अपरिहार्य सन्दर्भ स्रोतका रूपमा उपयोगी बन्ने निश्चित छ ।

 

प्रतिक्रिया

अन्य सामाग्रीहरु गणेश राई