विश्व आदिवासी दिवस सम्पन्न, प्रदेश पुनःनामांकरण र टेकु प्रहरी दमन प्रमूख बिषय 

Admin
Admin२५ साउन २०८०, बिहिवार
विश्व आदिवासी दिवस सम्पन्न, प्रदेश पुनःनामांकरण र टेकु प्रहरी दमन प्रमूख बिषय 

२९ औं विश्व आदिवासी नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा विशेष कार्यक्रम गरी मनाइएको छ । महासंघले यस वर्ष ’पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुख्र्याैली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौंं’ भन्ने राष्ट्रिय मूल नारा तय गरेर दिवस मनाएको हो । 

संयुक्त राष्ट्र संघले यस वर्ष २९ औं विश्व आदिवासी दिवसको सन्दर्भमा ’आत्मनिर्णयको अधिकारका लागि परिवर्तनका संवाहक आदिवासी युवा’ भन्ने अन्तर्राष्ट्रिय मूल नारा तय गरेको थियो । महासंघले बुधबार बिहान नेपालमा बसोबास गर्ने विभिन्न आदिवासी जनजाति सम्वद्ध संघसंस्थाहरूको भेषभूषा, संस्कृति झल्किने झाँकीसहितको ¥याली समेत प्रदर्शन गरेको थियो । यस वर्ष महासंघले प्रदेश १ लाई कोशी प्रदेश नामांकरणविरुद्धको आन्दोलनसँग जोडेर विश्व आदिवासी दिवसलाई मनाएको थियो ।

त्यस अवसरमा माझी समुदायको हुती नाच, कुमाल समुदायको पाङ्दुरे, छन्त्याल समुदायको सोरठी, ह्योल्मो र शेर्पा समुदायको स्याब्रु, गुरुङ समुदायको कौह्रा, मगर समुदायको पैस्यारु, राई समुदायको साकेला, तामाङ समुदायको डम्फूसेलो लगायतका नृत्य प्रस्तुत गरिएको थियो ।

भृकुटीमण्डपबाट सुरु भएको ¥याली कमलादीस्थित प्रज्ञाभवनमा पुगेर मूल समारोहमा परिणत भएको थियो । महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहन्थ्यो । 

शहिद सहित तीन जनालाई सम्मान
यसैबीच त्यस अवसरमा कोशी प्रदेश नामांकरण विरुद्धको आन्दोलनमा शहिद भएका पदमबहादुर लिम्बू लाजेहाङलाई मरणोमरान्त सम्मान गरिएको थियो । प्रधानमन्त्री प्रचण्डले शहिद लाजेहाङका बुवा छत्रबहादुर लिम्बूलाई सम्मान गर्नू भएको हो ।  उहाँलाई महासंघले नगद २५ हजार रुपैयाँ सहित सम्मान गरेको हो ।

प्रदेश नम्बर १ प्रदेशसभाले कोशी नामांकरण गरेपछि पहिचान पक्षधरहरूले किरात प्रदेश नामांकरण गर्नुपर्ने आन्दोलन चर्काएको अवस्थामा गत चैत ५ गते प्रहरी प्रशासनले अश्रुग्याँस प्रहार गर्दा शहिद लाजेहाङ घाइते हुनु भएको थियो । लाजेहाङको चैत १० गते उपचारका क्रममा बिपी अस्पताल धरानमा मृत्यु भएको थियो । उहाँलाई संघीय सरकारले शहिद घोषणा समेत गरिहसकेको छ । 

त्यसैगरी सोही आन्दोलनमा घाइते भएका भएका गजेन्द्र फागोलाई बुधबार नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो । कार्यक्रममा महासंघका संस्थापक महासचिव (प्रमुख) सुरेश आलेमगरलाई नेपालमा आदिवासी जनजाति आन्दोलन उठाउन महत्वपूर्ण योगदान गरेको भन्दै सम्मानित गरिएको महासंघका महासचिव दिवस राईले जानकारी दिनु भयो । 

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले प्रदेश नम्बर १ को समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । भगवती पाण्डेले आदिवासी जनजातिको अपमान हुनेगरी दिएको अभिव्यक्तिपछि भएको आन्दोलनका क्रममा प्रशासनले महिलाहरूमाथि ज्यादती गरेको भन्दै उक्त घटनाका दोषीलाई कारबाही गर्न समेत उहाँले माग  गर्नू भयो । 

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री अशोक राई, नेपाली कांग्रेसका नेता जीपछिरिङ लामा, महासंघका सल्लाहकार जगत बराम, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष निमी शेर्पा, किरात राई यायोख्खाका अध्यक्ष जीवन हाताचो राई, किरात याक्थुम चुम्लुङका अध्यक्ष तथा प्रदेश १ पुनः नामांकरण संयुक्त संघर्ष समितिका संयोजक प्रेम एक्तेन, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, महासंघका बरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती लगायतले आगामी वर्षदेखि सरकारले विश्व आदिवासी दिवस मनाउनुपर्नेमा जोड दिनु भएको थियो । 

दिवसको अपनत्व राज्यले लिनुपर्ने भन्दै उहाँहरूले कोशीमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नू भयो । आदिवासी जनजातिको संस्कार, संस्कृतिमाथि कसैले धावा बोल्न खोजे वा अपमान गर्न खोजे अब सहेर नबस्ने समेत वक्ताहरुको चेतावनी थियो । 

त्यस अवसरमा माझी समुदायको हुती नाच, कुमाल समुदायको पाङ्दुरे, छन्त्याल समुदायको सोरठी, ह्योल्मो र शेर्पा समुदायको स्याब्रु, गुरुङ समुदायको कौह्रा, मगर समुदायको पैस्यारु, राई समुदायको साकेला, तामाङ समुदायको डम्फूसेलो लगायतका नृत्य प्रस्तुत गरिएको थियो ।

विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने गर्दछन् । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।


 

प्रतिक्रिया