प्रदेश पुनःनामाकरण आन्दोलन अन्तराष्ट्रियकरण गरिने 

Admin
Admin१२ असार २०८०, मङ्गलवार
प्रदेश पुनःनामाकरण आन्दोलन अन्तराष्ट्रियकरण गरिने 

१ नम्बर प्रदेशमा जारी रहेको पहिचानको आन्दोलनलाई अन्तराष्ट्रियकरण गरेर विश्वका मानव अधिकारकर्मीहरुको समर्थन लिने रणनीतिमा आन्दोलनकारीहरु लागेका छन् । यही क्रममा एसियाका आदिवासीहरुको साझा संस्था एसियन इन्डिजिनियस पिपुल्स प्याक्ट(एआइपीपी)ले सो आन्दोलनलाई  समर्थन गर्दे आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । 

झापाको बिर्तामोडमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै एआइपीपीका महासचिवमा ग्याम वोङ्दी सिमरीले सो समर्थन जनाउनु भएको हो । अन्तरक्रिया कार्यक्रम आदिवासीहरुको मानव अधिकारसम्बन्धी वकिल समूह( लाहुर्निप) र प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आयोजना गरेको हो । सो कार्यक्रममा बोल्दै एआइपीपीका महासचिव सिमरीले १ नम्बर प्रदेश पुन नामाकरण आन्दोलनमा आफनो समर्थन रहेको बताउनु भयो । 

उहाँले आन्दोलनलाई सुदृढ बनाउन संस्थाको सहकार्य रहने जनाउँदै आदिवासी जनजाति मिलेर नै आन्दोलन सफल हुने विश्वास व्यक्त गर्नू भयो । कार्यक्रममा सहभागी हुनु भएका  एआइपीपीका उपमहासचिव के जनले नेपालमा जारी रहेको कोशी नाम खारेजी आन्दोलनले एशियाका आदिवासीलाई प्रेरणा दिने बताउनु भयो । उहाँले  आदिवासीहरुको लागि नाम महत्वपूर्ण विषय भएको बताउँदै नामसंग आदिवासीहरुको भूमि, अध्यात्म, संस्कार संस्कृति र संसारले हेर्ने दृष्ट्रिकोण जोडिएको बताउनु भयो । 

लाहुर्निपका उपाध्यक्ष अधिवक्ता शंकर लिम्बूले राज्य सञ्चालकहरुले आदिवासीहरुलाई गरिने अन्यायको सीमा नाघेको आरोप लगाउँदै नेपालको १ नम्बर प्रदेशमा जारी रहेकोे आन्दोलनलाई अन्तराष्ट्रियकरण गर्न लागेको बताउनु भयो । 

कार्यक्रममा समाजशास्त्री डा. कृष्ण बहादुर भट्टचनले गैह्रआदिवासी नेतृत्वले आदिवासीलाई अधिकार दिन नसक्ने बताउँदै आन्दोलनबाटै अधिकार लिनु पर्ने धारणा राख्नु भयो । १ नम्बर प्रदेश सभाको बैठकले प्रदेशलाई कोशी नामाकरण गरे पछि यो आन्दोलन चर्किएको हो । आन्दोलनका क्रममा एक जना शहिद भइसक्नु भएको छ । 
 

प्रतिक्रिया