परम्परा तोड्दै राष्ट्रिय कविता महोत्सव सकियो 

Admin
Admin१० असार २०८०, आइतवार
परम्परा तोड्दै राष्ट्रिय कविता महोत्सव सकियो 

नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक बर्ष आयोजना गर्ने राष्टिय कविता महोत्सव विगतको परम्परा तोड्दै फरक ढंगले सम्पन्न गरिएको छ । नेपाली भाषामा लेखिएका कवितालाई मात्र महोत्सवमा सामेल गराइने परम्परालाई तोड्दै यस बर्षको कविता महोत्सवमा मातृभाषामा लेखिएका कविता पनि प्रतियोगितामा समाबेश गरेर महोत्सवलाई नयाँपन दिइएको छ । यसैगरी बिगतमा पहिलो दोस्रो छान्ने परम्पराको पनि अन्त्य गरी १० जना कविलाई एक मुष्ट नगरपुरस्कारको व्यबस्था गरिएको छ । उनीहरुले पहिलाको जस्तो स्वर्ण पदक भने पाउने छैनन् । 

शनिवार बिशेष उत्सवका साथ सम्पन्नभएको राष्टिय कविता महोत्सवमा सहभागी भएका १० जना कविका कवितालाई सर्वोत्कृष्ठ ठहर गर्दै पुरस्कृत गर्ने घोषणा गरिएको छ । महोत्सवमा सहभागी भएका मध्ये सवोत्कृष्ठ मानिएका दश कविहरुहरु काठमाडौका उमेश पुन, सुनसरीकी कृपा करुणा पोखरेल, दार्चूलाका खिमानन्द जोशी, उदयपुरका जीवन आरोही, रोल्पाका टंक बहादुर झाक्रीमगर हुनु हुन्छ ।

यसै गरी उत्कृष्ठ दशमा पर्ने कविहरुमा सुनसरीका तीर्थराज विश्वकर्म, बाँकेका नवीन अभिलाषी, डोटीका पूर्णानन्द ओझा, सुनसरीका  प्रकाश दिप्साली राई र काठमाडौकी राधिका कल्पित रहनु भएको छ । उहाँहरुलाई जनही २० हजार नगद र प्रमाण पत्र दिइने प्रतिष्ठानले जनाएको छ । 

पुरस्कृत मध्ये खिमानन्द जोशी र पुर्णनन्द जोशी डोटेली भाषी, टंक बहादुर झाक्रीमगर खाममगर भाषाका कवि हुनु हुन्छ भने बाँकी सात जना नेपाली भाषी कवि हुनुहुन्छ ।  कविता महोत्सव प्रतिष्पर्धाका लागि देशभर र विदेशबाट पनि ८ सय ९२ वटा कविताहरु दर्ता भएका थिए । त्यसबाट छनोट गर्दै २५ कविले आफनो कविता सो अवसरमा बाचन गर्ने अवसर पाएका थिए । 

नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ बार्षिकउत्सवको अवसरमा  आयोजित कविता महोत्सवको  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो ।सो अवसरमा उहाँले शुभकामना दिनुहुँदै प्रतिष्ठानले चालेका कदममा सरकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाल बहहुभाषिक मुलुक भएकाले भाषाको संरक्षणको लागि प्रतिष्ठानले सबै मातृभाषालाई समेटी राष्ट्रिय कविता महोत्सव आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो । 

उहाँले सुक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजूतै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्न पनि आह््वान गर्नू भयो । उहाँले संघीय, समानुपातिक, गणतान्त्रिक युग अनुकुलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको टिप्प्णी गर्नू भयो । 

यसैगरि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल संस्कार संस्कृति र भाषाभाषीले भरिपुर्ण रहेको देश भएकोले खसनेपाली भाषा सरह मातृभाषालाई बराबरी स्थान दिएकोमा प्रशंसा गर्नुभयो । 

कार्यक्रममा बोल्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको स्थापनाकालदेखि पहिलोपटक सबै भाषाहरुलाई समेटेर कविता महोत्सब गरेको बताउनुभयो । उहाले प्रतिष्ठानमा चलिआएको एकल भाषी संरचनालाई भत्काएर सबै भाषालाई प्राथमिकतामा राखेर बहुभाषामा लैजाने काममा कविता महोत्सव सुरुवात भएको भनाई राख्नु भयो ।

भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले नेपाली जनताको बहुभाषिक चरित्र अनुसार यस बर्ष प्रतिष्ठानले वार्षिकोत्सवमा कविता महोत्सव आयोजना गरेकोमा गौरव वोध भएको बताउनु भयो ।
यसअघि प्रतिष्ठानले प्रतिष्ठानमा सेवारत रहेका कर्मचारीहरुलाई पुरस्कार पनि वितरण गरको थियो । प्रज्ञा सेवा पदक शेषराज देवकोटा र सन पुजारीलाई प्रदान गरेको हो । 
यसैगरि उत्कृष्ट कर्मचारी पुरस्कार नरेन्द्रबहादुर पछिमा थारु, रामबहादुर पहरी र जमुना कुचिकारलाई प्रदान गरेको छ । 

यसैगरि प्रतिष्ठानले प्रकाशन गरेको लालुपाते –बालपत्रिकाको पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विमोचन गर्नुभएको थियो । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभा, कविता महोत्सवकी संयोजक वावा बस्नेत लगायतले बोल्नु भएको थियो ।  यस अघि शुक्रबार आयोजित राष्टिय कविता महोत्सव  र समाबेशी चिन्तनको थालनी बिषयक छलफल तथा विमर्स कार्यक्रम आयोजना भएको थियो । 

त्यस अवसरमा अवधारणा पत्र प्रस्तुत गर्दै अध्येता भोगीराज चाम्लिङले समाबेशीताको प्रयोग र उत्थानको थालनी भएको त्रिचार राख्नु भएको थियो ।  उहाँले राष्टिय कविता महोत्सवको ढाँचामा गरिएको परिवर्तनलाई  नयाँ सन्दर्भमा हेर्नु पर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति विमल निभा र सदस्य सचिब डा. धन प्रसाद सुवेदीले मन्तव्य राख्नु भएको थियो । 

 

प्रतिक्रिया