नेफिन बेलायतद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

Admin
Admin१० जेठ २०८०, बुधवार
नेफिन बेलायतद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायत शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।नेफिन युकेले मंगलबार नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संघीय समितिमार्फत केन्द्रका संस्थापक महावीर पुनलाई उक्त रकम हस्तान्तरण गरेको हो । 

नेफिनको संघीय कार्यालय काठमाडौंमा  आयोजित कार्यक्रमको अवसरमा रकम हस्तान्तरण गर्दै नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुराले महावीर पुनको आविष्कार केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गर्न कही रकम हस्तान्तरण गरिएको बताउनुभयो । केन्द्रले मुलुकभित्रै महत्वपूर्ण अभियान सञ्चालन गरेको भन्दै उहाँले यो अभियानमा सहभागी हुन समेत अनुरोध  गर्नुभयो ।

त्यस अवसरमा उक्त रकम ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले केन्द्रले सञ्चालन गरिरहेको अभियानका विषयमा आम जनमानसलाई बुझाउन आवश्यक रहेको बताउनुभयो ।

यसैगरी  महासंघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले केन्द्रले सञ्चालन गरेको अभियान महत्वपूर्ण भएको बताउनुहुँदै उक्त अभियानमा सहभागी हुनुपर्ने बताउनुभयो । आफ्नै प्रयासमा आफ्नै देशभित्र महावीर पुनले सुरु गरेको अभियान महत्वपूर्ण रहेको भन्दै अध्यक्ष शेर्पाले उहाँको उद्देश्य पूरा गराउन महासंघको पूर्ण साथ, समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा नेफिनका महासचिव दिवश राईले केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गरेकोमा नेफिन युके शाखालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया