तेमालमा निर्मित गुम्वाको उद्घाटन, पर्यटकीय साँस्कृतिक पूर्वाधार तयार भएको भनाइ 

रोजिना लामा
रोजिना लामा२० चैत २०७९, सोमवार
तेमालमा निर्मित गुम्वाको उद्घाटन, पर्यटकीय साँस्कृतिक पूर्वाधार तयार भएको भनाइ 

काभ्रे जिल्लाको तेमाल गाउँपालिका वाड नम्वर ८ को टेकनपुर अर्थात योगर खुलुममा जनसहभागितामा निर्माण भएको उग्येन पेज्यूङ डुव्देलिङ गुम्वाको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र बौद्ध धर्मगुरु स्याल्पा तेन्जिन रिम्पोर्चेबाट संयुक्त रुपमा उदघाटन् भएको छ ।

इन्डिजिनियस टेलिभिजनका प्रबन्ध निर्देशक समेत रहनु भएका अभियन्ता जगतमान लामा दोङलगायतको पहलमा करीव २ करोड रुपैँयाको लागतमा सो गुम्वा निर्माण भएको हो । बज्रयान बौद्ध परम्पराका संस्थापक गुरु रिम्पोर्छे पद्मसम्भवले  साधना गर्नू भएको तेमाल भूमिमा निर्माण भएको  गुम्वामा गुरु रिम्पोर्छेकै धर्मदेशना अनुसार गुरु रिम्पोर्छे पद्मसम्भव लगायत गुरु ढाक्पो र गुरु सिंङतोनका मुर्तीहरु राखिएका छन् । 

तीन तलामा निर्मित गुम्वाको भुई तलामा ध्यान, साधना तथा धर्मदेशना गर्ने सभाकक्ष र दोस्रो तलामा पुजा प्रतिष्ठान कक्षहरु बनाइएका छन् । गुम्वाको उद्घाटन अगाडि बौद्ध धर्म गुरुहरुले बज्रयान अन्तर्गतको ञिङ्मा सम्प्रदायको बौद्ध परम्परा अनुसार पुजा तथा प्राण प्रतिष्ठा गर्नू भएको थियो । जस्लाई ह्राप्ने भनिन्छ । सो अवसरमा विश्व शान्तिका लागि बौद्ध धर्म ग्रन्थ काङ्गुर बाचन तथा प्रार्थना गरिएको थियो । 

‘तेमालमा नै बज्रयान बौद्ध परम्पराका संस्थापक गुरु रिम्पोर्छे पद्यसम्भवको साधानास्थल पनि हो । यारीनाग भनेर चिनिने पद्यसम्भवको साधानास्थलको दर्शन गर्न हरेक बर्ष देशी तथा विदेशी पर्यटकहरु तेमाल पुग्ने गर्दछन् ।  त्यहाँ पुग्ने पर्यटकका लागि  यो गुम्वा थप नयाँ संरचना हो ।’

ह्राप्ने कार्यको अगुवाई बौद्ध धर्मगुरु स्याल्पा तेन्जिन रिम्पोर्चेबाट भएको थियो भने धर्म गुरुहरु खेन्पो सोनाम घुर्मेलगायत लामा, लोपेन तथा भिक्षुहरु, गुम्वा व्यवस्थापनका पदाधिकारीहरु तथा बौद्ध धर्मावलम्बी स्थानीयवासीहरुको सहभागिता थियो । ह्राप्नेको समापन पछि सर्वसाधाराणलाई वाङ तथा अभिषेक प्रदान गरिएको थियो । धर्म गुरु स्याल्पा तेन्जिन रिम्पोर्चेबाट वाङ अभिषेक लिनका लागि सर्वसाधारणको गुम्वा परिसरमा घुइचो लागेको थियो । 

गुम्वा संस्कृति संरक्षणको थलो
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नवनिर्मित उग्येन पेज्यूङ डुव्देलिङ गुम्वा परम्परागत संस्कृतिको संरक्षण गर्ने प्रमूख थलो हुने विश्वास व्यक्त गर्नू भएको छ । आदिवासी तामाङहरुको आदिभूमि मानिने योगर खुलुममा  निर्मित  गुम्वाको  उद्घाटन पछि आयोजित समारोहलाई सम्बोधन गर्दे उहाँले सो कुरा बताउनु भएको हो । उहाँले पवित्र थलोमा निर्माण भएको गुम्वा निर्माण अभियानमा लाग्नु हुने अभियन्ताहरुको पनि प्रसंशा गर्नू भयो ।
 
उहाँले तेमालको पूर्वाधार विकासका लागि आफनो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु हुँदै सरकारले सामाजिक, आर्थिक रुपान्तर गरेर समृद्धि ल्याउने नीति तय गरेको पनि जानकारी दिनु भएको थियो । सो अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले गुम्वाका जग्गादाता गुन्जमान दोङ र स्याम्पो पाख्रिनलाई सम्मान गर्नू भएको थियो । गुन्जमान दम्पत्तिले गुम्वा निर्माणका लागि आफनो नाममा रहेको २ रोपनी १५ आना जग्गा निशुल्क प्रदान गर्नु भएको छ ।


 
त्यसरी नै मन्त्री श्रेष्ठले गुम्वा निर्माणमा सक्रिय हुनु भएका व्यक्ति तथा चन्दादाताहरुलाई पनि प्रमाणपत्र तथा सम्मान अर्पण गर्नू भएको थियो । कार्यक्रममा यस अघि बोल्नु भएका प्रतिनिधि सभाका सदस्य सूर्यमान दोङले गुम्वाको स्थापना भए पछि समाजलाई सकारात्मक परिवर्तनमा सहयोग पुग्ने विश्वास गर्नू भएको थियो ।
 
उग्येन पेज्यूङ डुव्देलिङ गुम्वा व्यवस्थापन समितिका अध्यक्ष जगतमान लामा दोङले उद्घाटन समारोहको अध्यक्षता गर्दै त्यहाँको सडक पूर्वाधारमा थप सहयोगको आवश्यकता रहेको बताउनु भएको थियो । 
काभ्रेपलान्चोक जिल्लाको तेमाल गाउँपालिका आदिवासी तामाङहरुको प्रथाजन्य भूमि हो । गुरु रिम्पोर्छे पद्यसम्भवले यही गाउँपालिका स्थित यारीनागमा साधाना गरेको विश्वास गरिन्छ । यसै कारण पनि यस गाउँपालिकामा बिश्वका बौद्ध धर्मवालम्बीहरु तेमाल भूमिश्रद्धा गर्ने गर्दछन् । 
तेमालमा पुरातात्विक महत्वका घ्याङ तथा दर्शनीयस्थलहरु छन् । थप यहाँ नयाँ संरचनामा आधारित गुम्वा निर्माण भए पछि स्थानीयबासीहरु हर्षित भएका छन् । 

पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने 
विश्वव्यापी रुपमा नै बौद्ध धर्म र दर्शनको महत्व बढदै गएको पृष्ठभूमिमा गुम्वा बौद्ध धर्मावलम्बीहरुको आस्था र धार्मिक तथा साँस्कृतिक महत्वको विषय मात्र नभएर स्थानीयको आर्थिक विकासको पूर्वाधार भएको यस क्षेत्रमा क्रियाशिल अगुवाहरुले बताउनु भएको छ । विकास विद् डा संग्रामसिंह लामाले गुम्वाले तेमालको आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्नू भयो ।  
‘तेमालमा नै बज्रयान बौद्ध परम्पराका संस्थापक गुरु रिम्पोर्छे पद्यसम्भवको साधानास्थल पनि हो । यारीनाग भनेर चिनिने पद्यसम्भवको साधानास्थलको दर्शन गर्न हरेक बर्ष देशी तथा विदेशी पर्यटकहरु तेमाल पुग्ने गर्दछन् ।  त्यहाँ पुग्ने पर्यटकका लागि  यो गुम्वा थप नयाँ संरचना हो ।’ डा लामाले भन्नु भयो । 

तेमाल क्षेत्रमा मात्र पाइने बुद्धचित्त माला तेमालको अर्को विशेषता हो । बोधिचित्त भनिइने यो बनस्पतिको फल धार्मिक प्रयोजनका लागि उपयोग हुन्छ । खास गरेर लामा तथा बौद्ध धर्मावलम्बीहरुले जप ध्यान गर्दा यसको प्रयोग गर्ने गरिएको छ । यो वनस्पति मूलतः तेमालमा मात्र पाइने विश्वास गरिन्छ । आठौ शताव्दीमा गुरु पद्य सम्भवले हुर्काएको बृक्षका रुपमा पनि लिइन्छ । टेकनपुरमा गुम्वा निर्माण भए पछि तेमालमा उत्पादन हुने बुद्धचित्त मालाले थप बजार पाउने विश्वास  अर्का अभियन्ता अजितमान लामाको छ । गुम्वाको निर्माणसंगै बुद्धचित्त मालाको व्यबसायिक विकास र विस्तार हुन सक्ने उहाँको अनुमान छ ।  


 

प्रतिक्रिया