विश्वविद्यालयमा आदिवासी जनजाति विषयको अध्यापन गराउन पहल 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१ पुष २०७९, शुक्रवार
विश्वविद्यालयमा आदिवासी जनजाति विषयको अध्यापन गराउन पहल 

आदिवासी ज्ञान सम्मेलनमा २३ कार्यपत्र प्रस्तुत 

आदिवासी जनजाति आयोगले विश्वविद्यालयमा आदिवासी जनजाति विषयको अध्ययन र अध्यापन गराउन पहल सुरु गरेको छ । आयोगद्वारा आयोजित आदिवासी जनजाति ज्ञान सम्मेलनको अन्तिम सत्रमा विहिबार यस सम्बन्धि प्यानल छलफलको आयोजना गरी यो पहल सुरु गरिएको हो । 

गण्डकी विश्वविद्यालयका कुलपति प्राडा. गणेशमान गुरुङको अध्यक्षतामा भएको प्यानल छलफलमा त्रिवि जनसंख्या विभागका प्रमूख प्राडा.योगेन्द्र बहादुर गुरुङ, डा.सुमित्रा मानन्धर गुरुङ, प्राडा. श्रीराम उपाध्यायले विश्वविद्यालयमा आदिवासी जनजाति बिषयक अध्यापन गराउन सबै विश्वविद्यालयमा छुट्टै विभागको आवश्यकता औल्याउँनु भएको थियो । प्राडा. उपाध्यायले त नेपालमा आदिवासी विश्वविद्यालय नै आवश्यक भएको बताउनु भएको थियो । 

कार्यक्रममा प्यानल बक्ताका रुपमा आमन्त्रण गरिएका काठमाडौ विश्वविद्यालयका डिन बलाचन्द्र लुइटेल, त्रिभूवन बिश्वविद्यालय मानवशास्त्र विभागका प्रमूख डम्बर चेम्जोङ, डा. कृष्ण भट्टचन, डा. गणेश गुरुङ भने कार्यक्रममा उपस्थित हुनु भएन । यसरी नै खुला छलफलका लागि आमन्त्रण गरिएका नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासभिव परशुराम तामाङ, पोखरा विश्वबिद्यालयका डिन अजय थापा पनि कार्यक्रममा देखिनु भएन । आयोजकका अनुसार कार्यक्रममा उपस्थित रहने प्रतिबद्धता व्यक्त गरे पनि उहाँहरु कार्यक्रममा नआउनु भएको हो । 

कार्यक्रमको अध्यक्षता गर्नू भएका प्राडा. गणेशमान गुरुङले आदिवासी बिषयमा अध्ययन र अध्यापन गर्न जरुरी रहेको बताउँदै भविष्यमा बिश्वविद्यालय बनाउने रणनीति तर्फ लाग्नु पर्ने सुझाव दिनु भयो । 

कार्यक्रममा सहभागी रहनु भएका नेपाल आदिवासी जनजाति महासंघका पूर्ब महासचिव तथा राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले आदिवासी जनजाति विश्वविद्यालय बनाउन पहल गर्नु पर्ने बिचार राख्नु भयो । उहाँले एउटा भाषा (संस्कृत)को नाममा विश्वविद्यालय हुन्छ भने ३९ प्रतिशत जनसंख्या रहेका आदिवासीको नाममा विश्वविद्यालय किन नहुने भनी प्रश्न गर्नू भएको थियो । 
आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापाले आदिवासी विश्वविद्यालय स्थापना गर्न त्रिविलाई अध्ययन संस्थानको सिफरिस गरिएको जानकारी दिनु भएको थियो । 

ज्ञान सम्मेलमा २३ कार्यपत्र 

आदिवासी जनजाति आयोगले आयोजना गरेको परम्परागत ज्ञानसम्बन्धी दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ विशबार नै समापन गरिएको छ । सम्मेलनमा पाँच विषयमाथि २३ जना विज्ञले  फरक–फरक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

सम्मेलनको दोस्रो दिन बिहीबार ‘परम्परागत खानपान’ विषयमा डा. सोम धिमालको ‘खाना परिकारः पहिचानको खोज’, कुमार यात्रुको ‘वनजन्य खाद्य स्रोतमा निर्भर हुने आदिवासी चेपाङ’ र परशु विराट राईको ‘किरात राई जातिको परम्परागत ज्ञान र सीपको व्यवसायी अवसर र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत भएको थियो । 

यस अघि मातृभाषा र आदिवासी ज्ञान र जलवायु परिवर्तन र विविध गरी तीन विषयमा छलफल भएको थियो ।  ‘मातृभाषा र आदिवासी ज्ञान’ विषयमा डा. लाल रापचाको ‘लिङ्ग्वेस्टिक आर्केओेलोजी इन इण्डिजिनियस कन्टेक्स अफ नेपाल’ तारामणि राईको ‘स्थान नामको भू–राजनीति’ र डा. विष्णुकुमार सिङ्जालीको ‘विकास निर्माण र आदिवासी भाषा–संस्कृति’ विषयक कार्यपत्रहरू प्रस्तुत गर्नू भएको थियो । 

त्यस्तै, ‘जलवायु परिवर्तन र विविध’ विषयमा डा. एसके महर्जनको ‘पार्टीसिपेटरी एक्सन रिसर्च अन क्लाइमेट चेन्ज फोकसिङ अन इण्डिजेनेटि एण्ड डिसेबिलिटी इन सिन्धुपाल्चोक नेपाल’, डा. लालबहादुर पुनको ‘लिभिङ हेरिटेज अफ राउटे नोमेट अफ नेपालः एन इथ्नोग्राफिक भिङग्याट’, डा. मुक्तसिङ तामाङको ‘आदिवासी ज्ञान संरक्षणमा विश्वविद्यालयको भूमिका’ र विष्णु थिङको ‘पुर्ख्यौली पेसाको सङ्कटले निम्त्याउने दुष्परिणामहरू’ विषयक कार्यपत्र माथि  छलफल भएको थियो ।

पहिलो दिन ‘संस्कृति र संस्कार’ तथा ‘प्रदर्शनकला र पर्यटन’ गरी दुई विषयमा छलफल भएको छ । संस्कृति र संस्कार अन्तर्गत प्रतिभा पुनको ‘परम्परागत उपचारमा झाँक्री ज्ञानः लोक विश्वास र वैज्ञानिकता’ विषयमा छलफल गरिएको थियो । त्यस्तै, गणेश राई र तीर्थराज मुकारुङ राईको ‘किरात राई महिलाले प्रवर्धन गरेको सांस्कृतिक रङ्ग’ विषयक कार्यपत्रमा छलफल भएको थियो ।
क्षितिज सुब्बाको ‘लिम्बुमा मृत्यु संस्कारः एक आदिवासी ज्ञान र पहिचानको सूचक’, डा. पासाङ शेर्पाको ‘आम्ची उपचार पद्धति’, जुद्ध गुरुङको ‘बहुपति प्रथा’ र डा. टेकबहादुर गुरुङको ‘ट्रेसिङ अफ दी ओरिजिन अफ तमु एण्ड इट्स रेलेभेन्स्’ विषयमा छलफल भएको छ ।

त्यसैगरी, ‘प्रदर्शन कला र पर्यटन’ विषयमा  डा. मीनबहादुर श्रीसको ‘परम्परागत ज्ञानको अभ्यास र पुस्ता हस्तान्तरणमा लोकनाटकको भूमिका’, झुमा लिम्बूको ‘हाक्पारे र आदिवासी जनजातिको ज्ञान’, भोजविक्रम बुढामगरको ‘मगर जातिमा प्रचलित युद्धकलामा आधारित सरङे नाँच’ र खिम घलेको ‘नेपाली पर्यटन विकासमा आदिवासी ज्ञानको भूमिका’ विषयक कार्यपत्रमाथि छलफल भएको  थियो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सुभाराम्भ गर्नू भएको ज्ञान सम्मेलनको उद्घाटन सत्रमा आयोगका सदस्य डा मिन श्रीसले कार्यक्रमको औचित्यमाथि पकाश पार्नु भएको थियो भने कार्यक्रमको समापनमा आयोगका सदस्य शरण राइले धन्यबाद ज्ञापन गर्नू भएको थियो । 

कार्यमका बेग्ला बेग्लै सत्रको अध्यक्षता नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा जगमान गुरुङ, त्रिवि शिक्षाशास्त्र विभागका प्रमूख प्राडा चित्रबहादुर बुढाथोकी, लोकवार्ताविद् तुलसी दिवश, भाष आयोगका सदस्य अमृत योन्जन र संस्कृतिविद् भक्त राइले अध्यक्षता गर्नू भएको थियो । 

प्रतिक्रिया