परम्परागत आदिवासी ज्ञानको संरक्षण जरुरी  

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ२३ साउन २०७९, सोमवार
तस्वीर : शैलेश डंगोल

२८ औ विश्व आदिवासी दिवश विशेष 

परम्परागत ज्ञान संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका भन्ने मूल नाराका साथ २८ औ विश्व आदिवासी दिवश मनाइदैछ । विश्वव्यापीकरण, सामाजिक एकरुपीकरणको चपेटामा परेका आदिवासी जनाजातिहरुका लागि यो नारा किन पनि महत्वपूर्ण छ भने आन्तरिक औपनिवेशीकरणका कारण पहिचान गुमाउँदै गएका आदिवासीका लागि परम्परागत ज्ञान पहिचान पुनस्र्थापना गर्ने आधार मध्ये एक आधार हुन सक्छ । 

परम्परागत आदिवासी ज्ञान मानव जातिको अभ्यास र अनुभवको संग्रह हो । यसलाई कतिले परम्परागत ज्ञान र कसैकसैले स्थानीय तथा रैथाने ज्ञान पनि भन्ने गरेको सुनिन्छ । यस्ता ज्ञानहरु आधुनिक जीवनशैलीका कारण हराउँदै गएको छ । तथापि यसको उपादेयता र आवश्यकतामा भने कमी आएको छैन ।  

त्यसैपनि परम्परागत आदिवासी ज्ञान आफ्नै थातथलोकोे प्रथागत भूमि, भूभाग र भू–क्षेत्रमा प्रचलित संस्कृतिसंग सम्बन्धित हुन्छ । जहाँ जहाँ आदिवासीको प्रथा, परम्परा र प्रथाजनित संस्थाहरु चलायमान हुन्छन्, त्यहाँ त्यहाँ आदिवासी ज्ञानको प्रयोगले प्रचुरता पाएको हुन्छ । आदिवासी ज्ञानको लिखित दस्तावेज उपलव्ध हुँदेन । किनकि आदिवासीहरूको जिवन्त मौखिक परम्पराले यस्ता ज्ञानलाई बचाएको हुन्छ । आदिवासी ज्ञान केही रुपमा संस्कृतिका रुपमा र कतै लोककथा, किम्बदन्तीका रुपमा बाँचेका हुन्छन् भने कतै गीत तथा नाचहरूमा, अभिव्यक्त हुन्छ । केही आदिवासीहरूमा चित्रकला, मुर्तिकला एवम् धार्मिक संस्कारहरूमा देख्न सकिन्छ ।  

सामुहिक स्वामित्व

आदिवासी ज्ञानको स्वामित्व सामुहिक हुन्छ । यो व्यक्तिको एकल सिर्जना वा आविष्कारबाट प्रारम्भ भएको नभइ पुस्तौनी अभ्यास र अनुभवबाट परिस्कृत हुँदै आएको ज्ञान भएको हुँदा यसको स्वामित्व र प्रचलन सामुहिक हुन्छ । आदिवासी ज्ञानको प्रारम्भ मिति वा सुरुवाती समय हुँदैन । यसको प्रचलन र प्रयोग सामुहिक हुने भएको हुँदा यस्तो ज्ञानको श्रेय पुर्खालाई दिइन्छ । 

जहाँ जहाँ आदिवासीको प्रथा, परम्परा र प्रथाजनित संस्थाहरु चलायमान हुन्छन्, त्यहाँ त्यहाँ आदिवासी ज्ञानको प्रयोगले प्रचुरता पाएको हुन्छ ।

आदिवासी ज्ञानको सन्दर्भमा ज्ञानधारक व्यक्तिको भने महत्वपूर्ण भूमिका हुन्छ । ज्ञानधारक व्यक्ति ज्ञानप्रयोग गर्ने अन्तिम व्यक्ती हो । जो महलिा हुन सक्छ । प्रायसः मातृभाषामा यस्तो ज्ञान हुने भएकाले मातृभाषामा यस्तो ज्ञान रहेको मानिन्छ । आदिवासी महिलाहरु नै मातृभाषाका प्रयोगकर्ता, परिवारको मातृभाषा प्रशिक्षक र पुस्तान्तरका सम्बाहक हुन् । यसैकारण परम्परागत आदिवासी ज्ञानका संरषक, पुस्तान्तरका सम्बाहक महिलालाई मानिएको हो । संयुक्त राष्टसंघले सन् २०२२ मा तय गरेको नाराको सार्थकता पनि यहाँ जोडिन्छ । 

आदिवासी ज्ञान बहुआयामिक हुन्छ । यसको सम्बन्ध प्रकृति र वातावरणसंग हुन्छ । प्रकृतिले मानव जातिका लागि निशुल्क प्रदान गरेको अनेकौ उपहारहरु आदिवासी ज्ञानले मात्र पहिचान गर्न सक्छ । मानवलाई उपयोगी हुने प्रकृतिजन्य खनिजपदार्थहरु, जंगलका बोटविरुवा तथा जडिबुटीहरु, पानीसंग सम्बन्धित जलचर बस्तुहरु र माटोमा रहेका लाभदायी पदाथएहरु आदिवासी ज्ञानका उपज हुन् । जसलाई पहिचान गर्ने, सकारात्मक उपभोग गर्ने जीवनलाई सहज बनाउने उपाय यो ज्ञानमा हुन्छ । 

आदिवासी ज्ञान प्राचीन मानव समाजले अभ्यासगत खोजको परिणाम हो । तथापि  आधुनिक वैज्ञानिक ज्ञान प्रणालीसंय यसको परिपुरक सम्बन्ध हुन्छ ।  पर्यावरण, जैविक क्षेत्रमा त आदिवासी ज्ञानको क्षेत्र अझ फराकिलो छ । यसका तरिकाहरू, प्रविधिहरू आधुनिक वैज्ञानिक ज्ञान प्रणालीले पनि अवलम्बन गरेको छ । स्वास्थ्य विज्ञानको क्षेत्रमा जडिबुटीको प्रयोग एक उदाहरण हो । तिनै जडिबुटीबाट आधुकि औषधि विज्ञानले क्याप्सुल र सुईको आविष्कार गर्छन् । जसलाई आदिवासी समाजमा तामाङको, वोन्वो, लिम्बुको फेदाङमा, गुरुङहरूको पैडी र लम तथा हिमालीभेगमा आम्चीहरूले औषधीय ज्ञानलाई प्रयोगमा ल्याइरहेका छन् । 

आदिवासी ज्ञान र आदिवासी ज्ञान प्रणालीको स्रोत स्थानीय जातजातिको भाषा, संस्कार र संस्कृति हो भने आधुनिक वैज्ञानिक ज्ञान प्रणालीको स्रोत अन्तर्राष्ट्रिय ज्ञान प्रणाली हो । विश्वविद्यालय, अनुसन्धान संस्थान तथा अनेको कम्पनीहरूमा आवद्ध बैज्ञानिकहरूको खोज र अनुसन्धानबाट आधुनिक वैज्ञानिक ज्ञान प्रणालीबाट जन्म हुन्छ । यो ज्ञान प्रणाली मौखिक रुपमा प्राप्त गर्न सकिन्न । कठोर शैक्षिक अध्ययन, प्रशिक्षण र लामो शैक्षिक अनुसन्धानबाट प्राप्त हुन्छ । तर आदिवासी ज्ञान मौखिक बृतान्तका आधारमा र पुस्ता हस्तान्तरणका माध्यमले प्राप्त हुन्छ । तथापि केही आदिवासी ज्ञानलाई आधुनिक विज्ञान प्रणालीले अस्तित्व स्वीकार गरेको मात्र नभै यसको अध्ययन अनुसन्धान नै सुरु गरेको छ । उदहरणका लागि आयुर्वेद औषधालयहरू नेपालमा खुल्न थालेका छन् । सरकारले आयुर्वेद विभाग नै बनाएको छ । चिनिया एक्युपञ्चर प्रणालीको अभ्यास विभिन्न अस्पतालमा पनि हुन थालेको छ । अमेरिकमा राष्ट्रिय स्वास्थ्य अनुसन्धानमा एक्युपञ्चर र आयुर्बेद, आम्ची प्रणालीको अनुसन्धान हुन थालेको छ । 

पानीको स्रोतको संरक्षण गर्ने ज्ञान अद्वितिय मानिन्छ । जंगलको संरक्षण गर्ने आदिवासीसँग अनेकौ जुक्तिहरू हुन्छन् । आदिवासी ज्ञानमा आधारित सूचना प्रणाली, शिक्षा तथा सार्वजनिक पहुँचलाई सहज बनाउने प्रविधिहरू पनि छन् । तर ती ज्ञानहरू कतै लोप भएका छन् भने कतै राज्यको संरक्षणको अभावमा हराउँदै गएका छन् । 

आदिवासी ज्ञान सबै विज्ञानको जननी मान्नेहरू पनि छन् । आदिवासी ज्ञानको प्रयोग प्राकृतिक स्रोतहरूको उपयोग, संरक्षण र व्यबस्थापनमा बढी उपयोगी देखिएको छ । पानीको स्रोतको संरक्षण गर्ने ज्ञान अद्वितिय मानिन्छ । जंगलको संरक्षण गर्ने आदिवासीसँग अनेकौ जुक्तिहरू हुन्छन् । आदिवासी ज्ञानमा आधारित सूचना प्रणाली, शिक्षा तथा सार्वजनिक पहुँचलाई सहज बनाउने प्रविधिहरू पनि छन् । तर ती ज्ञानहरू कतै लोप भएका छन् भने कतै राज्यको संरक्षणको अभावमा हराउँदै गएका छन् । 

परम्परागत आदिवासी ज्ञानका चुनौतिहरू 

आदिवासी ज्ञान यतिबेला लोपोन्मूख अवस्थामा छ । माथि नै चर्चा भएअनुसार विश्वव्यापीकरण, आधुनिक समाज, शहरीकरण तथा राज्यका असहिष्णु नीतिले आदिवासी ज्ञान प्रणाली लोप हुने खतरामा छ । प्रभुत्वशाली जाति वा समुदायको संस्कार र संस्कृति थोपर्ने प्रवृत्तिका कारण पनि आदिवासी ज्ञान बेवास्तामा परेको छ । 

समाजको बनावटमा सांस्कृतिक अन्तरघुलन, बिबाह आदि कारण सांस्कृतिक सम्बन्धहरूमा अन्तरविरोध कायम हुँदा पनि आदिवासी ज्ञान लोप हुने सम्भावना हुन्छ । विश्वव्यापी रुपमा आन्तरिक र बाह्य बसाईसराईको बढदो प्रबृत्तिका कारण विभिन्न जातीय पृष्ठभूमिका मानिसहरू एकै समाजमा बस्न पुग्छन् । यस्तो मिश्रित समाजमा आदिवासी ज्ञान लोप हुने खतरा हुन्छ । द्वन्द्वले समाजमा हिंसा र अन्य सुरक्षा व्यवस्थालाई चुनौति दिन्छ । यी दुबै अवस्थामा आदिवासी ज्ञानको प्रचलन अविश्वसनीय बन्छ ।  

आउने पिढीमा आदिवासी ज्ञानको पुस्ता हस्तान्तरणका लागि अभिलेखिकरण जरुरी बनेको छ । कतिपय अभ्यासहरू अभिलेखिकरणको अभावमा बौद्धिक सम्पत्ति चोरी हुने घटना बढेकै कारण पनि विभिन्न समुदायको भावना, विचार, अभ्यास तथा चलनहरूको लेख्य भाषामा लिपिबद्ध हुन जररी छ । नेपाल जस्तो बहुसांस्कृतिक मुलुक आदिवासी ज्ञानको मुहान हो । कतिपय अभ्यासहरू त मासिएर गएका छन् । अभिलेखिकरण नभएका र मौखिक इतिहासमा रहेको यस प्रकारका ज्ञान प्रणाली यसरी लोप हुँदै जाने अवस्था भएकाले अहिले सरकारी र गैर सरकारी प्रयत्नहरूको संरक्षण जरुरी भएको हो । 

प्रतिक्रिया