आदिवासी ज्ञान सम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक, जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि उपयोगी

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ२९ साउन २०८१, मङ्गलवार
आदिवासी ज्ञान सम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक, जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि उपयोगी

जलवायू परिवर्तनका असरबाट हुन सक्ने जोखिम न्यूनीकरणमा आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र प्रथाजन्य अभ्यासको महत्वपूर्ण योगदान रहेको पाइएको छ ।  आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिप्रेड)ले हिमाल, पहाड र तराईका आदिवासी महिलाहरुमा गरेको अनुसन्धानबाट यस्तो अवस्था देखिएको सो संस्थाकी कार्यकारी निर्देशक डा. पासाङ डोल्मा शेर्पाले  राजधानीमा आयोजित अनुसन्धान प्रतिवेदन सार्वजनिकीकरण तथा प्रमाणिकरण कार्यक्रममा जानकारी दिनु भएको हो ।

‘जलवायु संकटलाई अनुकूलन गर्ने आदिवासी महिलाहरुमा स्थानविशेष फरक–फरक ज्ञान र अभ्यास रहेको पाइएको छ ।’ प्रतिवेदन सार्वजनिकरण तथा प्रमाणिकरण कार्यक्रममा कार्यकारी निर्देशक डा.शेर्पाले भन्नु भयो –‘प्रकृति तथा वातावरणसंग निकट भएर गरिने साँस्कृतिक प्रथा, परम्परा, प्रथाजनित संस्थाको गतिविधि र विश्वास प्रणाली नै जलवायु परिवर्तनसंग जुध्ने आदिवासी महिलाको शक्ति हो ।’

स्रिप्रेडले मुलुककै सीमान्त जिल्ला दार्चुला मूल थातथलो भएका आदिवासी व्याँसी सौका (रोङ), रुकुम पूर्वका खामभाषी मगर र बर्दियाका थारु महिलाहरु समेत हिमाल, पहाड र तराईका तीन जिल्लामा जलवायु परिवर्तनले पारेको प्रभाव र सो प्रभाव न्यूनीकरण तथा अनुकूलनमा आदिवासी जनजाति महिलाको ज्ञान प्रणाली सम्बन्धी अनुसन्धान गरेको थियो ।

आदिवासी ज्ञान र अभ्यासहरु
अनुसन्धानमा आदिवासी महिलाहरुको परम्परागत जीवनशैली, साँस्कृतिक परम्परा्, चाँडपर्व तथा प्राकृतिक स्रोत माथिको निर्भरतालाई विश्लेषण गरिएको छ । अनुसन्धान प्रतिवेदनमा हिमाली जिल्ला दार्चुलामा खाद्य सुरक्षाका लागि भण्डारण गर्ने किन् पद्धति (जमीन मुनी भण्डारण गर्ने), विऊलाई सुरक्षा गर्ने कोछा (छालाको झोला), भून्छिम (काठको वाकस) तथा ऋतु अनुसार बसाई सर्ने पद्धतिहरु जलवायु परिवर्तनको जोखिमबाट जोगिने उदाहरणीय अभ्यास रहेको उल्लेख छ ।  

यसैगरी रुकुम पूर्वको खामभाषी मगरहरुमा भूमि प्रति श्रद्धा गर्ने भूमे पुजाको परम्परा, खेतीबालमिा लाग्ने रोग बिरुद्ध प्राकृतिक उपचारको पद्धति जलवायु परिबर्तन न्यूनिकरणका प्रथाजन्य अभ्यासहरु हुन् । बालीमा रोग नलागोस भनेर गाईको पिसाव, खरानी, लसुन, प्याज तथा कागतीको रस लगायतको जैविक औषधीबाट उपचार गर्ने परम्परा त्यस क्षेत्रमा पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

तराइ क्षेत्रमा बसोबास गर्ने थारुहरुमा पनि जलवायु परिवर्तनको असर र प्रभाव अनुकूलन गर्ने अनेकौ प्रथाजन्य अभ्यासलाई अनुसन्धानले उजागर गरेको छ । मूलत बाढीजन्य प्रकोपबाट बच्ने उपायका रुपमा थारुहरु ठाँठीको घर बनाउने गर्दछन् । यस्तो घर जमिनको सतहभन्दा अग्लो हुने भएकाले बाढीजन्य प्रकोपबाट यस्ता बसोबासस्थलहरु तुलनात्मक रुपमा सुरक्षित हुन्छ्न् । त्यसरी नै माटोका भाँडाकुडा प्रयोग गर्ने चलन र घरको रंङ्ग रोकनका लागि रातो माटोको प्रयोगले रोगव्याधीबाट सुरक्षा हुने विश्वास रहेको छ ।  

पानीको संकट टार्ने प्रथाजन्य परम्पराहरु
जलवायु परिवर्तनका कारण साझा संकटका रुपमा पानीको अभाव देखिएको अनुसन्धानकर्ता डा. शेर्पाले बताउनु भयो । हिमाल, पहाड र तराईमा पानीको मूल सुक्ने, अति वर्षा, न्युन वर्षा तथा खडेरी जलवायु परिवर्तनले पारेको प्रभाव हो । पानीको अभावले खेतीवालीको उत्पादन हुन नसकेका कारण खाद्यन्न संकट व्यहोर्नू परिरहेको छ । यस्तो संकट टार्न पनि आदिवासीहरुले खास गरेर आदिवासी महिलाहरुले विशेष जुक्तिको प्रयोग गरिरहेका छन् ।

व्याँसी (रोङ) महिलाहरुले दूइ मुहानको पानी मिसाएर पुजा गर्ने परम्परा रहेको दार्चुलाकी शुक्लावती बुढाथोकीले बताउनु भयो ।  ‘व्याँसी (रोङ)हरुको नुबुसाङ्वो प्रथाजन्य साँस्कृतिक परम्परा रहेको छ, यसबाट पनि खाद्यन्न वाली र पानीजन्य संकट समाधान हुने हाम्रो विश्वास छ ।’

रुकुम पूर्वतिर भने भ्यागुताको बिहे गरिदिने परम्परा छ । भूमे गाउँपालिककी उपाध्यक्ष समेत रहनु भएकी खाम मगर भाषी सविना बुढा मगरले यस्तो परम्परा बारे जानकारी दिदै भन्नु भयो –‘लामो समयसम्म खडेरी लागेमा भ्यागुताको बिहे गरिदिने परम्परा हाम्रा पुर्खाले चलाएका छन् । यो कार्य गरेमा वर्षाद हुने हाम्रो विश्वास छ ।’

उता बर्दियाका थारुहरुले भने महिलाको वस्त्र पुरुषले र पुरुषको वस्त्र महिलाले लगाएर सार्वजनिक प्रदर्शन गरे पछि पानी पर्ने विश्वास गरिन्छ । खडेरी परेमा यस्तो कपडा लगाएर सार्वजनिक स्थानमा बाजागाजा सहित कराएर पानी माँग्ने चलन रहेको बर्दियाकी राधा चौधरीले बताउनु भयो । उहाँका अनुसार बाढी नियन्त्रण गर्नका लागि देशावर जस्ता परम्परागत कुलापानी समिति त्यता तिर सक्रिय रहेको छ ।

प्रथाजनित संस्थाहरुको सक्रियता
आदिवासी समाजमा प्रथा, परम्परा तथा सामाजिक, साँस्कृतिक क्रियाकलाप र प्रथाजन्य स्वशासनमा प्रथाजनित संस्थाहरुको भूमिका महत्वपुर्ण रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा सहभागी रहनु भएका बर्दियाका परशुराम चौधरीका अनुसार थारु समुदायमा बरघर नामक प्रथाजनित संस्थाले प्राकृतिक स्रोतको दीगो व्यवस्थापन, प्रकोप पीडितका लागि उद्धार तथा सहयोग गर्ने काम गर्दछ ।

त्यसै गरी हिमाली भेगमा व्याँसी (रोङ) हरुमा बडा नामक प्रथाजनित संस्थाले सामाजिक संस्कृतिक नीति र नियम निर्माण र कार्यन्वयन गर्ने गर्दछ । मिराङसिरी नामक प्रथा परम्परा पनि सो समाजमा प्रचलित रहेको शुक्लावती बढाथोकीले बताउनु भयो । यस्तै रुकम पूर्वको मगर समाजमा खर्दारी तथा झारा प्रथा सक्रिय रहेको पाइएको डा. शेर्पाले बताउनु भयो।

कार्यक्रममा सिप्रेडका अध्यक्ष डा. पासाङ शेर्पाले आदिवासीको प्रथाजनित संस्थाको मान्यता, विश्वासमा आदिवासी महिलाको भूमिका महत्वपूर्ण रहेको बताउँदै आफनो भूमि, भूभाग र भूक्षेत्र भित्र ज्ञानको पुस्तान्तरण गर्न शिक्षा प्रणालीमा सुधार र क्षमता अभिबृद्धि, आत्मनिर्णयको अधिकार तथा स्वतन्त्र, पूर्व, सुसूचित सहमति एफपीक लागू गर्ने लगायतमा ध्यान दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपालस्थित युएन वुमनकी आवासीय प्रतिनिधि पत्रिसिया  फर्नान्डेज र नेपाल स्थित फिनल्याण्ड राजदुतावासका विकास सहयोग कार्यक्रमकी प्रमूख सारा अलानेनले जलवायु विपतका बेला आदिवासी ज्ञानले सकारात्मक योगदान दिएको टिप्पणी गर्नू भयो । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयको रेड कार्यन्वयन केन्द्रका प्रमूख केशव पुडासैनी र महिला तथा बालबालिका मन्त्रालयका उपसचिव केशव उपाध्यय समेतले  प्रथाजनित ज्ञानलाई राज्यका नीतिहरुले सम्बोधन गर्ने प्रयास गरेको धारणा राख्दै यस क्षेत्रमा थप अनुसन्धान गर्नू पर्ने बताउनु भयो ।  

कार्यक्रममा विभिन्न आदिवासीजन्य संघसंस्था, विकास साझेदार, अनुसन्धानकर्ताहरु, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरु र सरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया