मेरो बोजुहरु र गाउँ आएको बाटो

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१३ असार २०८२, शुक्रवार
मेरो बोजुहरु र गाउँ आएको बाटो

हिमा राई

डोल्पो जिवनमा आधारित भनिएको चलचित्र साम्बाला निक्कै चर्चित भयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा यस उलेख्या  कमाएता पनि आदिवासी डोल्पो जसको जिवन पद्धतिमा थियो चलचित्र बनाइएको भनिएको छउनीहरुबाट र अन्य हिमाली समुदायहरुबाट भने यस ले तिखो टिप्पणी पाएको थियो । जब यस्ता “यथार्थपरक” चलचित्रहरुको आलोचना हुने गर्छ चलचित्र भनेको मनोरन्जनका लागि बनाइन्छ यसमा देखाइएका सबै कुरा वास्तविक नै हुनुपर्छ भन्ने छैन जस्ता तर्कहरु अगाडि आउने गर्दछ । यस्ता आलोचना या प्रशंसा मार्फत नै पनि राष्ट्रिय मुलधारमा एकदम कम वा शुन्य स्थान पाएको आदिवासि दर्शन र मुल्य मान्यताले केही स्थान ओगट्न पाउनुलाई एक किसिमको उपलब्धिकै रुपमा लिन सकिन्छ ।

साम्बालाको प्रसंगमार्फत म भने केही समय अगाडि नेपालमा प्रदर्श नभएको र लामो समय देखि अन्तर्राष्ट्रिय दौडानमा रहेको चलचित्र ‘गाउँ आएको बाटो’ को चर्चासाथै मेरो आफ्नो आदिवासि अनुभव साट्न चाहन्छु । पुर्वी नेपालको एक किराँत राई परिवारको कथा मार्फत यो चलचित्रले आदिवासि जनजाति समुदायले सडक र अन्य विभिन्न विकासका गतिविधीहरुको सामना कसरी गरिरहेको छ भन्ने चित्रण गर्न खोजेको छ । मुद्धा सही छ, चलचित्रको दृश्य चित्रण, कलाकारहरुको अभिनय, साजसज्जा, निर्देशनमा सायदै खोट लगाउन सकिएला । तर यसले जुन समुदायको प्रतिनिधित्व गर्छ भनेको छ , जसलाई त्यहाँ पर्दामा देखाइएको छ त्यहाँ म मेरो वा मेरा समुदायको अझ विशेषगरि आदिवासी राई समुदायका महिलाको प्रतिनिधित्वसंग भने एकदमै सहमत छैन । चलचित्र हेरेको धेरै महिना भइसक्यो तर पनि मेरो मनमा त्यो कुरा अझै बिझि रहेको छ । यसले जसरी महिला पात्रलाई देखाएको छ हाम्रा पौरखी बोजु, आमा र नानाहरुको पहिचान र छविनै गलत बुझाईको शिकार हुने सम्भावना छ । चलचित्रसंगको मेरो गुनासो बुझाउनका लागि मेरो स्मृतिमा रहेको मेरो बोजुको सम्झना यहाँ छोटकरीमा राख्दैछु ।

मेरो पापाको आमा, मेरोबोजु (पिपी) को चाख लाग्दो र दरिलो सम्झनाहरु छन् । होटलहरुमा भर्खरै चिया राख्न थालेको बेलाको एक कथा पिपी खुब सुनाउनु हुन्थ्यो । मेरो पापा सानो हुँदा एकपटक वहाँलाई पनि लिएर काठमाण्डु आउँदा ओखलढुंगाको बिप्लाटे बजारमा वहाँहरुले चिया खानु भएको र पापालाई एक कप दुध किनिदिनु भएको रहेछ । पैसा तिर्न जाँदा त दुध भन्दा चिया महगो ंरे अनि “किन साहुजी” भनेर सोध्दा “चियामा चै ंदुधसंगै चियापत्ति पनि हालेको होनि त ”भन्ने जवाफ पाउनु भएको थियो रे । “उबेला चिया भनेको दुधमा चियापत्ति हालेको हुन्थ्यो” भन्दै यो किस्सा बारम्बार सुनाउन रमाइलो मान्नु हुन्थ्यो पिपी । त्यो भन्दा धेरै अघि काठमाण्डुमा पनि गाउँमा जस्तै घरमै बास दिने र आफै भात पकाएर खाने दिनहरुदेखि नै हो मेरो बोजु खोटाङ्गको त्यो भित्री कुना देखि ‘राजाको गाउँ’ ओहोरदोहोर गर्न थाल्नु भएको ।

मेरो सम्झनामा चैं वहाँ पहिलोचोटि काठमाण्डु हामीलाई भेट्न आउँदा रिक्सावालासंग पैसामा मोलमलाई गरेको धमिलो चित्र छ । त्योबेला यो कुरा सामान्य सम्झिएँ । पिपी हाम्रोमा आएको उल्लास लेखा सैध्यान पनि दिइँन । तर अहिले सोच्दा त्यति टाढाबाट ५–६ दिन हिंडेर अनि डेढदुईदिन पुरै बसमा गुडेर अनेकको सेली झिटीगुण्टा सहित छोराको कोठा खोज्दै आइपुगेको ज्यान र मन कति नथाकी रिक्सावालसंग पुरै जोशमा आफ्नै लवजमा मोलमलाई गर्नलाई कहाँसम्मको बल र साहस चाँहिदो होर? आखिरमा बोजुले रिक्सावाललाई गलाएर आफुले भनेकै भाउपाए पछिमात्रै छाड्नु भएको थियो ।

जति पटकपनि काठमाण्डु आउनु भयो केही नकेही इलम नगरी रहनु हुन्थेन । कुनै कारण वश बसाईं अलिक लामो दिनहुने देखियो भने त झन वहाँको सानोतिनो उद्योगनै शुरु हुन्थ्यो । हामी आफै डेरामा बस्ने, त्यस माथि गाउँ र जिल्लाकै लगभग एक्लो काठमाण्डु बासी भएकोले जहिले पाहुनाको जत्थानै हुन्थ्यो । पानीको अभाव त्यो बेलासबै तिर उस्तै हो, ट्वाइलेट बाथरुममा अटाइ नअटाई पानीका ड्रम र भाँडाकुँडा हुन्थे । डेरा गरेको घरमा सानो एक मिटर चौडा जति भनौं नभनौंको बगैंचा थियो । जेहोस्हामी कच्याक कुचुकमानै हुर्कन अभ्यस्त हुँदै थियौं । वहाँको त्यस्तै एक लामो बसाईंमा त्यही साँघुरोमा मेरो पिपीले कुखुरा र खरायो पाल्न शुरुगर्नु भएको थियो । अझ कुखुराको खोर त त्यही भाँडाकुडाँले भरिएको टेक्न पनि मुश्किलले ठाउँ पाउने ट्वाइलेटमा नै राख्नुभएको थियो ।

खरायो लगभग १६–१७ वटानै भए, केही बेच्नु भयो, केही पाहुना पाछालाई सत्कार्नु भयो, केही बाँड्नु भयो, केही चोराउनुभयो । कुखुरापनि केही खाइयो, केही बेच्नु भयो, केही दिनुभयो । कुखुराको लागि सबै भन्दा राम्रो खान्की गड्यौंला हुन्छ भन्दै वरपरको खेतहरुबाट गड्यौंला भेला पारेर प्लेटमा किचिमिची पार्दै पानीसंग दिनुहुन्थ्यो । त्यो गड्यौंलाको ‘सुप’ मलाई ठ्याक्कै पाकेको बोडिको दाल जस्तै लाग्ने । अहिलेसम्म पनि बोडिको दाल देख्दा सुरुमा मलाई एकछिन दिगमिग लाग्छ । वहाँको उद्योग धन्दा यतिमा सिमित भने थिएन । असनतिर गएर अनेक खालका धागोहरु किनेर डिजाइन डिजाइनको झोला, मोजा, स्वेटर, टेबल पोसदेखि के मात्रै बनाउनु हुन्थेन । आमापापाको फुर्सद नहुँदा हामी नातिनातिनालाई खुवाउने, पहिर्याउने , स्कुल पठाउने गर्न पनि भ्याउनु हुन्थ्यो ।

गाउँमा भने वहाँ खेतिपाती बाहेक सुंगुर पाल्ने र रक्सीपार्ने गर्नुहुन्थ्यो । रक्सी एक त पिपी आफै धेरै खाने, अर्को दाउरा र श्रम सार्है धेरै लाग्ने, घरधुँवाले भरिने अनि उसैत खोकीको बिरामी झन चर्को हुने । कति चोटि झगडागर्थें, “रक्सीचैं नपार्नु के”भनेर । अनि वहाँको उत्तर आइहाल्थ्यो, “अनि सुँगुरलाईचैं के खुवाउँ छस्त”? त्यसपछि, “सुंगुरपनि नपाल भइ हाल्योनि” भनें भने, “अनि उब्रेको जुठोपुरो, अन्न सबै फ्याँक्नु, खेर जान दिनु ?”को झटारो आइहाल्थ्यो । यस्तो घुमि राख्ने वार्ता हामी नातिनी बोजुको चलिरहन्थ्यो । सुंगुरलाई जुठोपुरो र रक्सीको कटले मात्रै त के पुग्थ्यो । त्यसकोलागि चारो सिस्नु आदि खोज्न आधा दिननै जंगल र गाउँघरमा हराउनु दिनचर्यानै थियो वहाँको । त्यै सुंगुर र रक्सी बेचेको पैसा अनि आफ्नो उब्रेको अन्नपातबाट आएको आम्दानीले मेरो लगभग४ वर्षे कलेजको पढाई र बसाई खर्चपनि जुटाइदिनु भएको नै हो । पछि हामी सबै कमाउने भयौं, मैले ग्याँसपनि लगेर घरमा जोडिदिएँ । “खर्च पठाइदिन्छु सुविस्ताले बस्नुस”पनि भनें तर आफ्नो अन्तिम समयसम्म पनि मेरो पिपीले सुंगुर कुखुरा पाल्न र रक्सी पार्न छोड्नु भएन ।

तर छोड्नु पनि किन हुन्थ्यो होला तर? हामीले आदिवासि ज्ञान र सिपको कुरा गर्दै गर्दा यो त मेरो पिपीको आफ्नो एकदम पुर्खौली सिप थियो – वहाँले जानेको एकभर पर्दो आर्थिक सुरक्षा र जिवन बिमाको माध्यम । केही आपत पर्दा सुंगुर बेच्न सकिन्छ किनभने गाउँघरको लागि एउटा सग्लो सुंगुरको मुल्य जहिले पनि धेरै हुन्छ । रक्सी जाँड पार्दा मर्चा बनाउने, कति तापक्रममा कति बफाउने, चिस्याउने देखि पुरै एउटा वैज्ञानिक प्रक्रिया नै छ । अनि यसैले पाहुना पाछा टार्ने, रितीरिवाज धान्ने देखिलिएर जिविकोपार्जन सम्मपनि हुने गर्दछ ।

मेरो समुदायका लगभग अरुपनि सबै बोजुहरु यस्तै हक्की, उद्यमशिल र खरा छन् । कति जनाले काठमाण्डु, धरान, विराटनगरजस्ता बिरानो सहरहरुमा आफ्नो आदिवासि सिप र ज्ञानलाई विस्तार गर्दै ती अंजान ठाउँहरुमा आफ्नो थातथलोको सानो टुक्रा स्थापना गर्नुभएको छ । गाउँमा भेटेका लगभग कोहीपनि खालि बस्ने वा आफ्नो केही नकेही धुन नगर्ने हुनुहुन्न आजसम्म पनि । खेतबारीमा केलाउने, कसरी घर धान्ने, कसरी छोराछोरी पढाउने भन्ने कुरामा बोजुहरुर महिलाहरु पुरुष जत्तिनै र अझ पुरुषभन्दा अगाडि पाएका छु मेरो आफ्नो राई गाउँमा ।

त्यहि भएर राईमाइलाले गाउँ छोडेर हिंडेको चलचित्र ‘गाउँ आएको बाटो’ संग मेरो चित्त दुखाई र गुनासो छ । उक्त चलचित्र आदिवासी किराँत राईहरुको जिवन पद्धतिमा आधारित भनिएको भएर पनि होला त्यहाँ देखाइएका केही कुराहरु मेरो लागि ग्राह्य छैनन् । त्यसमा पनि विशेष विन्द्रेको आमालाई त्यस्तो असहाय, स्वाधिनता अर्थात् ‘एजेन्सी’ नभएको पात्र देखाइएकोमा सबै भन्दा ठुलो ऐठन भएको छ । रक्सी पार्ने, त्यसको व्यवस्था गर्ने र आम्दानीको लागि बेच्नेसम्म पनि प्रायघरको महिलाले नै गरिरहेका हुन्छन् । हो बेच्नलाई बजार लानेसम्म पुरुषले पनि गर्लान तर चलचित्रमा जसरी यो विशेषगरि महिलाको डोमेन (रजगज) लाई पनि पुरुषको भनेर र पशुपतिको पात्रलाई चैं सिर्फ पानी बोक्नेमा  सिमित गरिएको छ मैले चिनेको, बुझेको, देखेको बोजुहरुको सम्झनाको ठिक विपरित छ ।

आदिवासी समुदायको अर्को विशेषता भनेको विभिन्न प्राकृतिक स्रोतहरुको सामिप्यतामा आफ्नो जिविकोपार्जनका लागि तिनीहरुको दिगोरुपमा प्रयोग गर्ने क्षमता हुनु पनि हो । आदिवासि किराँत राईले बाँसको पनि काम गर्छन तर बाँसको मात्रै काम गर्दैनन् । दयाहाङ्गको पात्र जसरी बाँसको मात्रै काममा निर्भर देखाइएको छ त्यस्तो पनि मैले चिनेका राई ‘माइला’हरुखासै हुँदैनन् । सामान्य बाँसको कामहरु जस्तो चोया काड्नु, चित्रा, डोको, नाम्लो बुन्नु प्राय प्रत्येक घरका सबै पुरुषहरुले जानेकै हुन्छन गर्नैपर्छ । बाँसको काम भनेको आम्दानीको श्रोत नभई बोजुहरुले सुंगुर पाल्ने र रक्सीपार्ने जस्तै पुरुष राईहरुको जिवनको अभिन्न पाटो हो जुन होला कहिले काँही थोरै आम्दानीमा पनि रुपान्तरण हुन्छ । बरु अलि विशिष्ट सिप जस्तो थुन्से, फिफी, बिनायो आदि बनाउने काम भने सबैबाट नहुन सक्छ ।

त्यस्तै राई माइलीको घर घुर्यान त्यति खाली खाली पनि कसरी पो भयोर ? वरिपरि सुंगुर, कुखुरा, अन्य अनेक पाल्तु जनावर, मौसम अनुसार मान्छे र वस्तुभाउ दुवैको लागि हुने करेला, फर्सी र बोडीका लहरा, साग सब्जी, लट्टेलुँडे, केही फुलहरु र अरु केही नभए पुष्टकारीको झ्याङले प्राय घरदेखि आँगन हुँदै घुर्यानसम्म गुलजार हुन्छ बोजुहरुको घरहरु । तरराई माइलीको घरवरपर शुन्यशुन्यदेखि नुले फेरि पनि हाम्रा उद्यमी र आत्मनिर्भ र बोजुहरुको पौरखलाई नजरअन्दाज गरेको भान हुन्छ । दिवंगत कलाकार अर्जुन खालिङको एउटा चित्र छ किराँती ग्रामिण् शा घरको । सिकुवामा बसेर नाङ्लोमा केही केलाइ रहेको महिला केन्द्रमा रहेको यस चित्रले ग्रामिण आदिवासी किराँती घरको आत्मा र जिवन्तता एउटै हेराईमा छर्लङ्ग बनाइदिन्छ । यस्तो किराँती घरको झल्को राईमाइलीको घरमा मैले देख्न सकिनँ ।

चलचित्रको अरु पनि धेरै पाटा छन जुन आदिवासि राईको जिवन पद्धति, संस्कृति र जिवनदर्शनसंग बाझिन्छ । चलचित्रका दृश्यहरु जसरी उतारिएका छन्, पात्रहरुको हाव भाव, पहिरन देखि चालचलन र रितीरिवाजहरुलाई विशुद्ध छायाकंनको पक्ष(बभकतजभतष्अक) मात्रै हेर्नेहो भने साह्रै सुन्दर छ र आदिवासी किराँतीहरुको जनजिविका र थातथलोको धेरै सुन्दर प्रस्तुती छ । तरपनि मेरो बोजुहरुको नाममा केही लेख्नै पर्ने भयो । चलचित्रमा तपाईंले राईमाइली जस्तो सुकै देख्नु भएपनि मेरो माइली, साइँली, काइँली, जेठी बोजुहरु त्यस्ता थिएन त्यस्तो हैनन् । हामी वहाँहरुको पाइला पछ्याउने राई सिम्माहरुपनि वहाँहरु जतिको आँटिलो, स्वावलम्बी र सिपवान नभएपनि प्रयासरत भने हौं है ।
लेखक हिमा राई कृषि तथा सामाजिक अनुसन्धाता हुन् ।
अर्जुन खालिङको लचित्रको लिंक : https://i0.wp.com/newssanjal.com/wp-content/uploads/2019/08/canvas-kirat.jpg?fit=960%2C640&ssl=1

प्रतिक्रिया