लोपोन्मूख कुसुन्डा भाषाकी एक मात्र पूर्णवक्ता कमला नेम्बे

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ२२ कार्तिक २०८२, शुक्रवार
लोपोन्मूख कुसुन्डा भाषाकी एक मात्र पूर्णवक्ता कमला नेम्बे

भन्न त उहाँलाई धेरैले ‘कमला नेम्बे’ भनेर सम्बोधन गर्दछन्, तर उहाँको पुरा नाम कमला सेन कुसुन्डा हो । 

कुसुन्डा भाषामा ‘नेम्बे भनेको ‘फुपु’ हो । रोल्पाको बुर्तीवाङमा जन्मेर उतै घरजम गर्नू भएकी कमला नेम्बे अहिले दाङ जिल्लाको घोराही नगरपालिका वडा नम्बर १८का सुवेलाकोटीमा बस्नुहुन्छ । 

हालसम्मको अनुसन्धान अनुसार भारोपेली, चिनिया–तिव्वती, आग्नेली र द्रभिड जस्ता  विश्व भाषा परिवारमा नपर्ने एकल भाषा परिवार कुसुन्डा भाषाको उहाँ एक मात्र पूर्ण वक्ता हुनुहुन्छ । 

यो भाषा नेपालका लोपोन्मूख, सीमान्तकृत आदिवासी कुसुन्डाले केही मात्रामा बोल्ने गर्दछन् । विविध कारणले यो भाषा अतिखतरामा परेको भाषा हो । यस भाषाको पूर्ण रुपमा भाषाबक्ता कमला सेन कुसुन्डा एक मात्र जिवित व्यक्ति हुनुहुन्छ । 

यस अघि ज्ञानु माया कुसुन्डा पनि यस भाषाको पुर्णवक्ता हुनु हुन्थ्यो । ज्ञानुमायाको निधन पछि कुसुन्डा भाषाको पूर्णवक्ता उहाँ मात्र हुनुहुन्छ । 

भाषा आयोगका निवर्तमान अध्यक्ष डा. लवदेव अवस्थीका अनुसार कमलालाई भक्तपुरको ठिमी स्थित एक इटाभट्टाबाट उद्धार गरी ल्याइएको हो । कमला त्यहाँ ज्याला मजदुरीमा इटा ओसार्ने काम गर्नु हुन्थ्यो ।

भाषा आयोगले उहाँलाई केही समय निर्वाह भत्ता समेत दिने गरेको थियो । तर अहिले उहाँले भाषा आयोगबाट प्राप्त गर्दे आउनु भएको निर्वाह भत्ता पनि अहिले काटिएको अवस्था छ । 

लोपोन्मूख कुसुन्डाले पाउने गरेको सामाजिक सुरक्षा भत्ता पनि उहाँले पाउनु भएको छैन । रोल्पाबाट उहाँले नागरिकता लिनु भएको छ । तर सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचय पत्र चाहिने भनिए पछि सामाजिक सुरक्षा भत्ता पनि दिइएको छैन ।  

उहाँको दैनिकी भनेकै भाषा बचाउने अभियान मात्र हो । यही अभियानमा नै उहाँ समर्पित हुनु हुन्छ । दाङमा एक गैह्र सरकारी संस्थाले कुसुन्डा भाषा संरक्षणको अभियान चलाए पछि त्यही अभियानमा जोडिनु भएको छ । 

कुसुन्डाहरु एकै ठाउँमा बस्न पाए भाषा बच्ने थियो कि भन्ने उहाँको आसा छ । तर अहिले कुसुन्डाहरु विभिन्न जिल्लामा छरिएर बसेका छन् । 

२०७८को जन गणना अनुसार कुसुन्डाको जनसंख्या २७३ देखाइएको छ । तर नेपाल कुसुन्डा विकास समाजले गरेको सर्वेक्षणमा कुसुन्डाको जनसंख्या केवल १६२ मात्र उपलव्त्र भएको जनाइएको छ । यस मध्ये सबैभन्दा धेरै कुसुन्डाहरु दाङजिल्लामा बसोबास गर्दछन् । 

नेपाल कुसुन्डा विकास समाजका अध्यक्ष धन बहादुर कुसुन्डाकाअनुसार दाङ जिल्लामा महिला तथा पुरुष गरी ७० जना बसोबास गरेका छन् । अहिले कुसुन्डाहरु सुर्खेत, रोल्पा, अर्घाखाँची, कपिलबस्तु, तनहुँ र गोर्खामा बसोबास गरिरहेको पाइएको छ ।

गोर्खा जिल्लाको तेह्र किलोमा दुइ परिवारको ६ जना छन् । उनीहरु कसैले पनि कुसुन्डा भाषा बोल्दैनन् । 

तनहुँको व्यास नगरपालिका वडा नम्बर १०को डिही गाउँमा राजामामा कुसुन्डा हुनुहुन्थ्यो । कुसुन्डाको संरक्षणका लागि आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले घर बनाएर बिबाह समेत गरिदएको थियो । राजामामाको देहवासन पछि उहाँकी पत्नी इन्द्रमाया र छोरी हुनु हुन्छ । उहाँहरु पनि भाषा बोल्नु हुन्न । 

यसबाहेक अर्घाखाँचीको सन्धीखर्कमा एक परिवार, कपिलवस्तुको वाणगंगामा एक पविार। प्युठानमा चार परिवार र रोल्पामा एक परिवार बस्नु हुन्छ । सुर्खेत गुर्माकोटका तेज बहादु कुसुन्डाले जानकारी गराए अनुसार सुर्खेतको गुर्माकोट र भेरीगंगामा गरी चार परिवार रहेका छन् । 

उहाँहरु सामन्य कुसुन्डा भाषामा अभिवादनको शव्द सोजाक भन्न बाहेक खासै भाषा आउँदैन । सुर्खेतका तेज बहादुरका अनुसार सोजाक चि तेज  (नमस्ते म तेज) भन्नु बाहेक अरु शव्द अभ्यासमा छैन । 

भाषा कक्षामा सामेल भएर अभियान चलाइ रहनु भएकी महिला कुसुन्डा विकास समाजकी अध्यक्ष हिमा कुसुन्डालाई भने थप कही शव्द बोल्न आउँछ । तर भाषा बक्ताको अभावमा भाषिक बोलचालको अभ्यास छैन ।  

छरिएको बस्ती र न्युन जनसंख्या 
कुसन्डा भाषा लोप भएर जानुको प्रमूख कारण छरिएको बस्ती र न्युन जनसंख्या नै हो । कुसुन्डा भाषा अनुसन्धान गरिरहनु भएका उदयराज आले र नेपाल कुसुन्डा विकास समाजका अध्यक्ष धन बहादुर कुसुन्डा एकै स्वरमा भन्नु हुन्छ –‘कुसुन्डाहरुले भाषा बोल्ने मान्छे नै भेट्टाएनन् । एकीकृत बस्ती भएको भए छरछिमेकमा भाषा अभ्यास हुने थियो । छरिएको बस्ती भएका कारण कुसुन्डा कुसुन्डा बीच भेट हुन नै गाह्रो छ ।’ 

कमला कुसुन्डाले आफनो बाबु आमाबाट भाषा सिक्नु भएको हो ।  ‘रोल्पाको बुर्तीवाङमा वस्ती नभए पनि कुसुन्डाहरु शिकार गरे पछि चौरमा भेला भएर कुराकानी हुने गर्दथ्यो ।’ कमलाले यसैमा थप्नु भयो –‘कालीज र गोहोरा शिकार गर्ने हाम्रो परम्परा हो । तर वनमा पस्न नपाए पछि कुसुन्डाहरु मागेर जिविका चलाउँदै बिभिन्न स्थानमा पुगे । एक अर्कासंग भेट नभए पछि भाषा विर्सनु स्वभाविक हो ।’

कुसुन्डाहरु मूलतः घुमन्ते जीवन बिताउने आदिवासीहरु हुन् । कुसुन्डाको प्रिय भोजन गोहोरा (छेपारो प्रजातिको सरिसृप) वन्यजीव हो । कुसुन्डाहरुको हरेक शुभकार्यमा गोहोरा आवश्यक पर्छ । 

नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार यो संरक्षित वन्यजन्तुमा पर्दछ । यसलाई मार्न, बेच्न वा कव्जामा लिन कानुनी अपराध मानिन्छ । 

कुसुन्डाहरु बनमा पाइने कन्दमूलहरु गिटठा, भ्याकुर तथा वन तरुल पनि शिकार गरेर भोजन जुटाउने गर्दथे । वनहरु सामुदायिक वन र निकुञ्ज तथा संरीषत क्षेत्र भए पछि स्वतन्त्र भोजन जुटाउन पनि नपाउने अवस्था सिर्जना भएको छ । 

फस्टाउँदो अन्तरजातीय बिबाह
कुसुन्डा भाषा मासिँदै जानुमा अन्तरजातीय बिबाह पनि अर्को प्रमूख कारण हो । कुसुन्डा जातिमा सेन, शाही र खान गरी तीनवटा थर मात्र हुन्छन् । सेन र शाही बीच बिहेवारी चल्ने भए पनि अधिकाँश नाता पर्नेहुन्छ । यसैले अहिलेका नयाँ पुस्ताका अधिकाँशले अन्तरजातीइ विवाह गरेका छन् । कुसुन्डा बाहेकका जातिलाई बिबाह गर्ने प्रचलनले त्यसै पनि सम्वादको भाषा टुट्छ । 

जनगणना अनुसार कुसुन्डा भाषा वक्तको संख्या २६ जना मात्र रहेको देखाइउको छ । यसरी भाषिक वक्ता बताउनेहरुले सामन्य अभिवादनको शव्द बाहेक बाँकी सम्वाद गर्न नसक्ने देखाउँछ । स्थलगत सम्वाका क्रममा पनि आफुलाई कुसुन्डा बताउनेहरुले भाषा बोल्न नसक्ने बताउनु भएको थियो । 

तनहुकी इन्द्रमाया कुसुन्डा आफैमा अन्तरजातीइ विवहा गरेर त्यहाँ पुग्नु भएको हो । गोरखाकी आसा कुसुन्डा पनि अन्य जातिकी चेली हुन् । उहाँहरुलाई एक भाषा आउँदेन, अर्को भाषा बोल्ने व्यक्ति पनि पाउनु हुन्न । 

दाङ घोराहीका शालिकराम कुसुन्डा केही कुसुन्डा भाषाका शव्दहरु बुझनु हुन्छ । तर परिवार भित्र बोल्ने वातावरण नभएको बताउनु हुन्छ । यस्तै गुनासो हिमा कुसुन्डाको पनि छ । हिमा भन्नु हुन्छ, ‘भाषा त सिकियो, तर कुराकानी गर्ने मानिस छैनन् ।’

भाषा अनुसन्धानकर्ता उदय आले कुसुन्डा भाषा संरक्षणका लागि शव्द संकलन गरेर शव्दकोश प्रकासन गरेको बताउनु हुन्छ । उहाँका अनुसार नियमित रुपमा कुसुन्डा भाषा कक्ष सञ्चालन भएकाृ छ, व्याकारण तथा पाठ्यसामाग्री पनि तयार भएको छ । तैपनि भाषा संरक्षण गर्न चुनौति रहेको छ । 

कृषि तथा पशुपालन नगर्ने कुसुन्डाहरुको अनौठो चलन छ । कुसुन्डाहरुले गाईको गोवर छुनु हुँदैन भन्ने मान्यता राख्छन् ।  धनु–काँड चलाएर जिविका चलाउने कुसुन्डाहरु वनस्रोतमा पहुँच नभए पछि छिन्न भिन्न भएको कुरा बुझन गाह्रो छैन । उनीहरुको प्रथा, परम्परा र संस्कृतिको सथमा मात्र कमला नेम्बेहरु जस्ता भाषिक सम्पदाको परिकल्प्ना सार्थक हुने विश्वास गरिन्छ ।  

 

प्रतिक्रिया