जलवायु परिवर्तनले ओल्लो किरातका धर्तीपुत्रहरुलाई पारेको सकस, दिनदिनै गाउँ रित्तिर्दै

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ८ फागुन २०८१, बिहिवार
जलवायु परिवर्तनले ओल्लो किरातका धर्तीपुत्रहरुलाई पारेको सकस, दिनदिनै गाउँ रित्तिर्दै

रामेछापको उमाकुण्ड प्रितिमा आयोजित साहित्यिक कार्यशालामा भूजीबाट आएकी एक विद्यार्थीले आफनो सुरिलो भाकामा गीत गुनगुनाईन् । 

उँधो बग्ने लिखु खोला, माथि बग्ने हावा,

हातमा रुमाल काँधमा झोला, बसाई सर्ने धावा ।। 

ठ्याक्कै ! यही गीतमा भनिए झै रामेछाप सहितको ओल्लो किरात क्षेत्रमा बसोबास गर्नेहरुको धावा बसाइ सर्नेकै छ । 

उमाकुण्ड–२ बाम्ती बजारबाट सोतर्मु झर्दै गर्दा कुँबुकास्थलीका बीरेन सुनुवार झोला कुटुरो बोकेर बाम्तीतिर उक्लिदै थिए । 

हतारोकै बीचमा उनले गाउँ छाडेर रोजगारीका लागि शहर हिडेको भन्न भ्याए । 

‘गाउँमा केही छैन, गरी खान नसकिने भयो ।’  दिक्दारीका साथ उनले गाउँ छाड्नु पर्ने कारण छोटोमा बताए ।

सामन्यतः बीरेन्द्रले भोगेको पीडा रामेछाप उमाकुण्डबासीहरुले प्रत्यक्ष भोगी रहेका छन् । स्थानीय भरत सुनुवारका अनुसार गाउँ छाडेर शहर पस्नेहरुको लर्को पछिल्लो २/३ बर्ष देखि बढेको छ । 

यो सबै जलवायु परिवर्तनको प्रभाव हो, जलवायु परिवर्तनले कृषिमा प्रभाव पारे पछि स्थानीयहरु जिविकाका लागि शहर पस्नुको विकल्प रहेन । पूर्व शिक्षक समेत रहेका भरतले सुनाए –‘परम्परागत कृषि हरायो, आधुनिक कृषिले माटो सबै विगार्‍यो। विकल्प्को खोजीमा युवाजति शहर र वैदेशिक रोजगारीको बिाटो रोज्न बाध्य बनाएको छ ।’ 

यस्तो सकस मूलभूत रुपमा ओल्लो किरातका आदिवासी सुनुवारमा बढी परेको छ । सुनुवारहरुको जातीय संस्था सुनुवार सेवा समाजका संघीय सचिव समेत रहेका रमेश सुनुवारको अनुभवमा  लिखु र खिम्ती आसपासको क्षेत्र आदिवासी सुनुवारको प्रथाजन्य भूमि भए पनि अहिले सुनुवारहरुको उपस्थिति पातलो छ । 

उमाकुण्ड गाउँपालिका कार्यलयका पञ्जिका शाखाका कर्मचारी रुकमान सुनुवारले पछिल्लो समयमा बसाइसरेर जानेको संख्या बढेको बताए । ‘लाहुर जाने परम्परा त सुनुवार समाजमा थिँदै थियो, पछिल्लो समयमा रोजगारीका लागि खाडी मुलुक जानेको संख्या ह्वात्तै बढेको छ । परिणामतः गाउँ रित्तो जस्तै भएको छ ।’ रुकमानले बताए । 

पालिकाका प्रमूख प्रशासकीय अधिकृत अभिनय अधिकारी पनि बसाईसर्नेको संख्या बढेको जानकारी दिए । खासगरेर उपत्यकाको भक्तपुरमा स्थायी बसाई सरेर जानेको संख्या धेरै रहेको उनको दावी छ । तर, के कारणले बसाई सरेका हुन् भनेर अनुसन्धान भने हुन नसकेको अधिकारीको भनाइ छ । 

परम्परागत कृषिमा गहिरो असर 
प्रिति उमाकुण्डकी कविता सुनुवार जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा गहन प्रभाव परेको र यसका कारण बसाई सराई बढेको दावी गर्छिन् ।  

‘यहाँका (उमाकुण्ड)का आदिवासी किरात सुनुवार कोँइचहरुको परम्परागत पेसा कृषि र पशुपालन हो ।  जलवायु परिवर्तनका कारण अनियमित बर्षा, बाढी, खडेरी र हिमपातले कृषि उत्पादनमा गिरावट आएको छ ।’‘ कविताले यसैमा थपिन –’हाम्रो परम्परागत बाली कागुनो, घैया जस्ता बालीहरु हुनै छाडे, कोदो फापर र मकै पनि कसै कसैले लगाउँछन् । मीठे फापरको बिउ नै  लोप भइसकेको छ ।‘

बर्षभरी खेती गर्दा पनि खान नपुग्ने र मेहनत पनि नउठ्ने भए पछि खाद्य सुरक्षामा गम्भीर समस्या भोगेका कारण स्थानीय सुनुवारहरु आफनो थातथलो छाड्न बाध्य भएको कविताको विश्लेषण छ । 

स्थानीय च्यादलु निवासी अनुदेवी सुनुवार भने पानीका मुहान सुक्नु नै बसाई सराईको प्रमूख कारण रहेको बताउँछिन् । प्रिति च्यादलु, बाम्ती भुजी, कुँबु, कास्थली, गुम्देल, गुप्तेश्वरजस्ता स्थानमा पानीका मुहानहरु सबै सुकेका छन् । मुहान सुकेबाट खेती बालीका लागि सिचाई र मानिस तथा पशुका लागि पिउनेपानीको समस्या परेको सुनाउँछिन् । 
नगिचै रहेको गौरीशंकर हिमाल र नुम्बर हिमालमा हिउँ पग्लिने दर बढ्दा त्यस क्षेत्रका नदी र खोल्साहरूको पानी प्रवाह अस्थिर हुँदै गएको स्थानीयको भनाई छ । जमिनमुनिको पानीकोस्तर घट्दा खानेपानीको समस्या देखा पर्ने गरेको अनुसन्धानहरुमा उल्लेख छ । 

पानीको अभावले प्राणी बाँच्न सक्दैन, पानीसंगै खाद्य सुरक्षामा समस्या भएको अनुदेवीको अनुमान छ । भन्छिन्  –'हामीलाई पानी मात्र होइन, जीवन बाच्ने आधारहरु पनि खोसिएका छन् । जंगली खाद्यस्रोतहरु कम भएका छन् । जडिबुटी पाउन छोडेको छ । सुनुवारहरु बसाई सर्नूको प्रमूख कारण यही हो ।'

मासिए परम्पराहरु 
ओल्लो किरात भनिइने सुनुवार आदिवासीको प्रथाजन्य भूमि लिखु, सुनकोशी तथा खिम्ती नदी आसपासमा बसोबास गर्ने आदिवासी सुनुवरहरुको परम्परगात पेसा, व्यबसायसंगै साँस्कृतिक प्रथा र परम्पराहरु मासिएकोमा स्थानीयको चिन्ता छ । उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ स्थित च्यादलीकी सुनिता सुनुवारको भनाइमा सुनुवारहरुको प्रथाजन्य स्वशासन प्रणाली कोँइच चुप्लुको परम्परा माथि नै आघात पुगेको छ । 

‘सुनुवारहरुको  परम्परा अनुसार  पोइम ग्यामी, न्हासोहरुबाट स्यादर पीदार गर्ने परम्परा भए पनि त्यसका लागि सामाग्रीको अभाव तथा जनशक्तिको पनि कमीले यस्ता प्रथाहरु मासिन लागेको छ ।’ सुनिताले यसैमा थपिन– ‘सुनुवारहरुको क्षेत्रमा ११ वडा जलविद्युत आयोजना सञ्चालनमा छन् । ती जलविद्युतका कारण सुनुवारहरुको हरेक पीदारमा आवश्यक पर्ने तीते माछा (नेङ माछा)  मासिएका छन् ।’

‘सुनुवारहरुको परम्परामा होपो तथा मुलिचः जस्ता सामाजिक अगुवाहरु थिए, ती सबै अस्तित्वविहिन भएका छन् ।’ सुनिताको थप स्पस्टिकरण छ ।  

जलवायु परिवर्तनको प्रभाव न्युनिकरणका लागि वन जंगल जोगाउने तथा वातावरण स्वच्छ राख्ने केही परम्पराहरु पनि अभ्यासमा छन् । सुनुवार सेवा समाजका सचिव रमेश सुनुवार थप्छन्  –‘सुनुवारहरुको था रो क्यु वा नामक प्रथा रहेको छ । जस्ले खर्क, विरुवा तथा जडिबुटी र बन्य जन्तुको संरक्षण गर्न पुर्खाहरुले अभ्यास गरेका हुन् । तर तथाकथित आधुनिकताका नाममा यस्ता परम्पराहरु नास भएका छन् ।’

‘हाम्रा पुर्खाले सफा–फुल्लु क्युःबा नामक प्रथा चलाएका थिए, यो प्रथामा साँध किल्ला छुट्याउने प्रथाजन्य विधि हो । यो प्रथामा साँधमा सेउली र ढुंगा झुन्ड्याएर सीमाना लगाइन्थ्यो । यो सीमाना उल्लघन गर्न पाइन्न थियो । तर अहिले यो प्रथा पनि सकिएको छ ।’ रमेश सुनुवारले बताए । 

सुनुवार परम्परा प्रकृतिमैत्री रहेको स्थानीय भरत सुनुवारले जानकारी दिए । उनका अनुसार सुनुवारहरुमा  ‘जिलो नमास्ने विलो बाड्ने प्रथा’ रहेको छ । जस्लाई सुनुवार कोँइच भाषामा ‘ङर पुम्चा, थेःरचा योअचा’ भनिन्छ । यस अन्तर्गत प्रथाजनित संस्था कोँइच चुप्लुले कन्दमूल खन्दा जिलो मास्न नहुने गरी विउ त्यही छाड्ने थिति बसालेका थिए । 
भरतले यही सन्दर्भमा थपे –‘बाँस तथा निगालोको टुसा काट्न नहुने, माछाको शिकार गर्दा भूरा माछा नखाने, शिकार गर्दा गर्भिणी पोथीको शिकार नगर्ने, भीरमौरी काट्दा मौरीको घार नभत्काउने जस्ता नियम छन् ।’ 

आदिवासी सुनुवारहरुको परम्परागत कृषि प्रणाली, पशुपालन, प्राकृतिक स्रोतको व्यबस्थापन लगायतका आदिवासीय परम्परागत ज्ञान माथि जलवायु परिवर्तनले प्रत्यक्ष असर पारेको पाइन्छ । 

उनीहरुको जीवनशैलीमा आएको परिवर्तनले चाँडपर्ब र धार्मिक अनुष्ठानमा समेत प्रभाव पारेको छ । जलवायु परिवर्तनका कारण स्वास्थ्यमा नकारात्मक असर र आर्थिक स्रोतहरुमा पनि कमी आएको छ । 

सुनुवारहरु बाँस तथा निगालोको डोको, नाम्लो, थुन्छे, डालो लगायत बाँसजन्य सामाग्री बनाउन खप्पीस छन् । रस्नालुका बीर बहादुर सुनुवारका अनुसार यस्तो सीप जानेका अव केवल छजना मात्र बाँकी छन् । 

आदिवासी सुनुवराहरु परम्परागत भूमि भूभाग, तथा त्यसमा उपलव्ध स्रोतमा पहुँच घट्दै गए पछि यस्ता प्रथा परम्पराका असल अभ्यास पनि मासिएका हुन् । यसबाट आदिवासी सुनुवारहरु सबैभन्दा बढी पीडित बनेका छन् भने सुनुवार भित्र पनि महिला तथा अपांगता भएका व्यक्तिहरु पहिचानविहिन बन्दै गएका छन् । 

यी समग्र बिषयमा स्थानीय  उमाकुण्ड गाउँपालिकाले अध्ययन गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनवारको भनाइ छ । हामीले जलवायु परिवर्तनमा केन्द्रीत रहेर बजेट तथा नीति कार्यक्रम नबनाए पनि जलवायुमैत्री योजना बनाउन सुरु गरेको छौ , उपाध्यक्ष सावित्रीले बताइन् । उनले जानकारी दिए अनुसार पालिकाले स्थानीय बन ऐन ल्याएर यहाँका सुनुवारहरुको पहिचानलाई मान्यता दिइएको छ । 

उमाकुण्ड गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत अभिनय अधिकारी पनि जलवायु परिवर्तनको प्रभाव न्युनिकरण गर्न संघ र प्रदेशले बिशिेष भूमिका निर्वाह गर्नू पर्ने बताए । 
गाउँमा के छैन ?
गाउँमा के छैन ? सबै थोक छ । सडक पुगेको छ । हरेक दिन दर्जन भन्दा बढी सार्वजनिक भाडाको सुमो गाडी चल्ने गर्छ । लिखु बगरको किन्जासम्म त बस नै जान थालेको छ । बोर्डिङ स्कूल टोलै पिच्छे खोलिएको छ । गाउँको छेउमा नै भए पनि सोतर्मूमा अस्पताल बन्दैछ । हृल्थपोष्टहरु सिअहेवले भए पनि चलाएकै छन् । गाउँ गाउँमा सिंहदरबाररुपी स्थानीय तहका वडा कार्यलयहरु छन् । प्रहरी प्रशासन छ । सबै थोक छ । 

गाउँमा टेलिभिजन पुगेको छ । डिस्क होमले छिन छिनको खबर प्रसारण गर्ने टेलिभिजन पु¥याएकै छ । हात हातमा सके सामसुङको मोवाइल, नसके नोकियाको भए पनि मोवाइल छ । 

तैपनि मानिसहरु गाउँ छाड्नेहरु छाडि सके, कोही छाड्ने तयारीमा र केही गाउँ छाड्नमा नै लालयीत छन् । 

 

प्रतिक्रिया