पहरी महिलाको परम्परागत सीप, जोगाउनै कठिन्

डोल्मा शेर्पा
डोल्मा शेर्पा१ फागुन २०७८, आइतवार
पहरी महिलाको परम्परागत सीप, जोगाउनै कठिन्

थातथलोमा मात्र परम्परागत सीपको अभ्यास 

ललितपुरको गोदावरी–४ बडिखेलको पहरी गाउँका अधिकांँश घरमा बेत र बाँसबाट बनेका सामग्रीहरू बिक्रीका लागि राखिएका हुन्छन् । बिक्रीका लागि राखिने मात्र नभएर ती सामान बेच्नेहरू नै निर्माणमा पनि ब्यस्त भेटिन्छन् । यी सामान अन्त कतैबाट आयात गरेको नभई स्थानीय स्तरमै उत्पादन गरिएका हुन् । अझ यी सामान त्यहाँका आदिवासी पहरी समुदायले आफनै परम्परागत सीप प्रयोग गरेर निर्माण गरेका हुन् । यस्तो सामान निर्माण तथा बजार व्यबस्थापन र परम्परागत सीपको जगेर्ना गर्नका लागि पहरी महिलाको सक्रिय योगदान रहेको पाइन्छ । तर यो परम्परागत सीपलाई राज्य तहबाट प्रोत्साहन तथा संरक्षणको अभावमा पछिल्लो समयमा परम्परा धान्न मै सिमित रहेको स्थानीयको अनुभव छ । 
पहरी समूदाय आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानबाट सुचिकृत ५९ आदिवासी जनजाति भित्र पर्ने एक आदिवासी हो । २०६८ सालको जनगणना अनुसार पहरीहरू देश भरिका करिब ४३ जिल्लामा बसोबास गर्दै आईरहेका छन् । करिब १३ हजार जनसंख्या भएको पहरी समुदाय काठमाडौं उपत्यकाको ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा मात्र करिब ५ हजारको संख्यामा छन् । 
उपत्यका बाहिर सिन्धुली, रामेछाप र गोर्खा जिल्लामा पहरीहरुको बसोबास रहेको छ । उपत्यका बाहिर उनीहरूको बसोबास भएपनि यस्तो परम्परागत सीपको अभ्यास भने बडिखेलमा मात्र रहेको छ । बडिखेलको उत्तरी भेगमा पहरीहरूको बाक्लो बसोबास रहेको छ । त्यस ठाउँमा जिविका चलाउने एउटै माध्यम बाँसबाट बनेको सामाग्री बिक्री गरेर, जाँडरक्सी बनाएर र खेतिपाती पशुपालन गर्ने गरिन्छ । नेपाल पहरी विकास संघका अध्यक्ष मुकुन्द पहरीका अनुसार आदिवासीको परम्परागत सीप उनीहरूको थातथलो तथा आदिभूमिमा मात्र फस्टाउन सक्ने सैद्धान्तिक अवधारणा अनुसार नै यहाँ अभ्यासमा रहेको हो । 
यस्तो परम्परागत सीपका कारण ग्रामिण अर्थतन्त्रमा योगदान पुगेको र बेरोजगारी समस्यालाई पनि केही योगदान मिलेको यसक्षेत्रका विज्ञहरूको धारणा छ । यसबाहेक जलवायू परिबर्तनको जोखिम न्युनीकरण गर्नका लागि योगदान पुगेको र बातावरणीय स्वच्छतामा सहयोग पुगि रहेको पनि सम्बन्धित क्षेत्रका अभियानकर्ताहरू बताउँछन् । 

परम्परागत सीपको परिभाषा
परम्परागत सीप सामान्यतया बंशाणुगत सीप हो । एक पुस्ताबाट अर्को पुस्तामा स्वतःहस्तान्तरण हुने यस्तो सीप स्थानीय आवश्यकता तथा भौगोलिक बातावरणमा अभ्यासमा हुने गर्दछ । आदिवासी विज्ञहरूको भनाइमा यस्तो सीप आदिवासीको प्रथाजन्य भूमि, भू–भाग, भूक्षेत्रमा सक्रिय हुन्छ । खासगरेर आध्यात्मिक बिश्वास, सांस्कृतिक विरासत र प्रथा परम्परा र ज्ञानका आधारमा यस्ता सीपको संरक्षण हुन्छ । 
आदिवासी विज्ञ डा. कुन्साङ लामाको भनाइमा आदिवासीको सीप उनीहरूको जिविकोपार्जनसंग र प्राकृतिक स्रोत र साधनका आधारभूमिबाट जन्म हुन्छ । सामान्यतःगुजारा अर्थतन्त्रजस्तो देखिएपनि परम्परागत सीप जलजमिन र जंगलसंग सम्बन्धित हुन्छ । 
उहाँको परिभाषाझै आदिवासी पहरीहरूको परम्परागत सीप पनि बन जंगल तथा प्राकृतिक स्रोत र साधानसंग सम्बन्धित छ । यस बाहेक अन्य परम्परागत सीप पनि हुन्छन् जसले उनीहरूको पारिवारिक वातावरण र पुस्ताबाट हस्तान्तरण गरिएको हुन्छ । परम्परगत सीप र ज्ञानबाट नै आदिवासी समुदायको जिविकोर्पजन चल्दै आएको छ । यस्ता परम्परागत सीपहरू पुर्खाहरूले नयाँ पुस्तालाई दिँदै आएको छ ।

आदिवासी ज्ञानमा आधारित सीप

आदिवासी जनजाति समुदायको आआफ्नै सीप र ज्ञान रहेको हुन्छ । परम्परागत रुपमा पुर्खौँदेखि बाँसजन्य सामाग्री निमार्ण, भेडाको ऊनबाट निर्मित कपडा, सिस्नु र अल्लोबाट निर्मात गरिएको सामाग्री, परम्परागत औषधी निमार्णका कार्यहरू आदिवासी ज्ञान हुन् । आदिवासी महिलाहरूले आफैले लुगा बुन्ने, तान, गलैँचा लगायतका लताकपडाहरू बुन्दै आएको छ । यसता ज्ञान र सीपहरूको पुस्तान्तरण हुँदै आईरहेको छ । जलवायु परिवर्तनका विज्ञ तुङ्गभद्रा साप्पाङ् राईका अनुसार पनि आदिवासी महिलाको सीप पनि पुस्तामा आधारित आफ्नो परम्परागत, जलजमिन, जंगलमा आधारित भएर आएको हुन्छ । 
अहिलेको युवापुस्ता भन्दा एक पुस्ता अघिसम्म आफ्नो पुर्खाको सीप सिकेको भएपनि अहिले युवामाझ चासो कम हुन थालेको छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका महासचिव शान्ति देवानलाई पनि परम्परागत सीप र ज्ञान युवापुस्ताले खासै चासो दिएको जस्तो लाग्दैन । उनको शव्दमा  ‘यस्तो सीप हराउँदै जाने हो की भन्ने सम्झेर मलाई दुःख लाग्छ’ । यसको संरक्षणको लागि एकदुई जना र संघसंस्थाले सानोतिनो कार्यक्रम गरेर केही हुँदैन, सरकारले आफ्नो नीति नियममा नै परिवर्तन गरि तल्लो स्थानबाट परिवर्तन गर्न सके मात्र सम्भव छ ।’

आदिवासी जनजाति समुदायको आआफ्नै सीप र ज्ञान रहेको हुन्छ । परम्परागत रुपमा पुर्खौँदेखि बाँसजन्य सामाग्री निमार्ण, भेडाको ऊनबाट निर्मित कपडा, सिस्नु र अल्लोबाट निर्मात गरिएको सामाग्री, परम्परागत औषधी निमार्णका कार्यहरू आदिवासी ज्ञान हुन् । आदिवासी महिलाहरूले आफैले लुगा बुन्ने, तान, गलैँचा लगायतका लताकपडाहरू बुन्दै आएको छ । यसता ज्ञान र सीपहरूको पुस्तान्तरण हुँदै आईरहेको छ ।

त्रिभूवन विश्वविद्यालयका उपप्राध्यापक तथा युवा अर्थशास्त्री डा. रघुबीर बिष्ट पनि परम्परागत सीप र ज्ञानलाई नेपालको इतिहास र सभ्यतासंग जोडिएको बताउँछन् । विशेष गरि मल्ल शासन व्यवस्थामा परम्परागत सीपलाई जाति व्यवस्था राखिएको थियो । यस्तो  परम्परागत सीप विशेष गरेर पहाडी क्षेत्रका आदिवासी जनजाति समुदायले बचाएको डा. बिष्टको अनुमान छ ।  
आदिवासी जनजातिका सीपहरू अधुनिकता संगै लोप हँुदै गैरहेका छन् । यस्तो अवस्थामा यि सीपहरूको संरक्षण गर्न सरकारको नीति नियममा परिवर्तन ल्याउनुपर्ने आदिवासी विज्ञहरूको भनाई रहेको छ । 
कोभिडको महामारीमा अपनाइएको आइसोलेशनमा बस्ने तरिका आदिवासी जनजाति गुरुङ, नेवारहरूको परम्परा हो । उनीहरूको भोटबाट फर्केर घर जानु अघि सबैजना आईसोलेशनमा बस्ने गरेको समाजशास्त्री डा. गणेश गुरुङ बताउँछन् । आदिवासीको आफ्नै किसिमको परम्परागत ज्ञान र सीप रहेको उल्लेख गर्दै उनी आदिवासी सीप गुरुङहरूमा भेडापालन, हिमाली भेगमा चौरी याकपालनमा देख्न सकिने पनि उल्लेख गर्छन् । छुर्पी बनाउने काम आदिवासी सीपमै पर्ने उनको भनाई छ । यही अन्तर्गत पहरी आदिवासीले अभ्यास गरिरहेका छन् ।  
पहरी महिलाको परम्परागत सीपको अभ्यास 
पहरी महिलाहरूको परम्परागत सीप बहुआयामिक प्रकारको छ । पहरी आदिवासीको पहिचान र परिचयसंग सम्बन्धित बेत र बाँसको काम गर्ने सीपमात्र नभएर अन्य सीप पनि रहेको छ ।  पहरी आदिवासी महिलाहरूको परम्परागत सीप निम्न बिधामा छरिएको पाइन्छ । 
(क) बेत र बाँसको कामः
पहरी महिलाहरू बेत र बाँसका काममा पुरुषको सहयोगी मात्र नभएर आत्मनिर्भर छन् । उनीहरू चोया निकाल्ने र त्यसबाट डोको, डालो र नाङ्लो बुन्ने गर्न सक्छन् । पहरी समुदायको बाक्लो बसोबास रहेको गोदावरी नगरपालिकामा उनीहरूले आफ्नो परम्परापगत सीपलाई निरन्तरता दिँदै आइरहेका छन् । बाँसका सामग्री बनाउने कार्य उनीहरूको परम्परागत सीप र ज्ञान हो । 
बाँसको काम गर्नेमा पुरुष बराबर महिला पनि छन् । निरू पहरी आफुले नाङ्लो बनाउँदै आएको ४० बर्ष पुगेको बताउँछिन् । सानो छँदा बुबाआमाले सिकाएको र बिस्तारै आफुले सिक्दै आएको उनको अनुभव छ । उनका अनुसार गाउँमा उनीजस्तै बाँसको काम गर्ने दिदीबहिनीहरू धेरै छन् । माघ फागुनको समय बाँस भण्डार गर्ने समय भएको हुँदा निरू र उनका श्रीमान बाँसलाई टुक्रा पार्दैछन् । बाँस काट्ने मौसम भएकोले बाँसलाई विभिन्न आकारमा निकालेर घरको छतमा सुकाएर राख्ने गरेको देख्न पाइन्छ । यस समयमा बडिखेल गाउँका सबैको घरको छतमा बाँस राखेको देखिन्छ । 
यसैगरि बाँसकै कामगर्दै आएकी सरिता पहरी आफुले काम गर्न थालेको १८ बर्षभएको बताउँछिन । उनले अहिले नाङ्लो बुन्न छोडेकी छिन् । नाङ्लोको सट्टा बाँसबाटै बन्ने व्याज, घडीको फ्रेम, फोटो फ्रेम, फूल राख्ने बक्स लगायतका सामाग्रीहरू अर्डर अनुसार बनाउँछिन् । घरमा उनले बच्चाहरूलाई पनि सीप सिकाएकी छन् । बाँस र निंगालोबाट निर्मित सामग्री निर्माण गर्नु पहरी महिलाहरूको परम्परागत काम हो । उनीहरूडोको, डालो, नाङ्लो लगायत बाँसबाट बन्ने बस्तुको निर्माण गरि गुजारा चलाउने गर्दछन । 
त्यही सीपलाई प्रयोग गर्दै मंगली नगरकोटी पहरी घरमै विहानदेखि बेलुकीसम्मै डालो बुन्छिन् । उनले विबाह गरेर श्रीमानको घरमा आएपछि बाँसको काम गर्न सिकेकी हुन् । डालो बुन्न जानेदेखि उनलाई अहिलेसम्म ज्यामि काममा जनुपरेको छैन । भन्छिन्, हातमा सीप भएपछि घरपरिवार धान्न र छोराछोरीको शिक्षाको लागि सहज भएको छ । सुरुसुरुमा बाँसको काम गर्न निकै कठिन भएपनि उनलाई अहिले सहज लाग्छ । 
आफुहरूसंग सीप भएर निर्माण गरेको सामग्रीको बजार भने राम्रो नभएको उनको गुनासो छ । दुःख र मेहेनत धेरै गर्नुपर्ने तर बजारमा भने जस्तो मूल्य नपाइने समस्याछ । बाँस र बेतबाट बन्ने सामग्री निर्माणको कार्य उनीहरूको परम्परागत सीप हो । 
नाङ्लो बनाउँदै गरेकी लक्ष्मी पहरीले बाँसको काम गर्न थालेको १६ वर्ष भएको छ । घरमा श्रीमान श्रीमती दुबैजनाले बाँसकै काम गर्छन् । पाँच छ जना अरु महिला दिदीबहिनीहरूसँगै लस्कर बसेर नाङ्लो बुनिरहेकी उनी भन्छिन ‘बाँसको कामले अहिलेसम्म घरपरिवार र छोराछोरी पढाउन जेनतेन धानी रहेको छु, मेहनत अनुसारको बजारमा सामानको भाउ पाउँदैन ।’ उनले दिनमा २ देखि ३ वटासम्म नाङ्गलो बनाउने गर्छन । नाङ्लो बोकेर बेच्न उनीहरू लगनखेल, चावहील, कीर्तिपुर सम्म पुग्ने गरेकाछन् । 
(ख)  घरेलु रक्सी बनाउने सीप ः 
पुर्खादेखि नै जिविकोपार्जनको लागि डोको नाङ्लो बुन्दै कामगर्दै आइरहेको बाहेक खेतीकिसानी, पशुपालन र जाँडरक्सी बनाउने सीप पनि पहरी महिलाहरूको रहेको छ । रक्सी बनउने कामलाई नेपाल सरकारले कानुनी मान्यता नदिएको भएपनि अधिकाँश आदिवासी जनजाति समुदायको लागि यो आयआर्जनको माध्यम बनेको छ । कानुनी व्यवस्था नभएको र जाँडरक्सी बिक्री बितरण गर्न बन्देज लगाएको हुँदा खुलेर काम गर्न सहज नभएको उनीहरूको गुनासो छ । 
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी महासचिव शान्ति देवान सरकारको नीतिनियम र कानुनले आदिवासीको परम्परागत पेशा जाँडरक्सी बनाउनेमा प्रतिबन्ध लगाएकोमा असन्तुष्टि व्यक्त गर्छिन् । मर्चा बनाउने कार्यलाईं अपराधिक कार्य भनिएको छ, सरकारले आफ्नो देश भित्रको सीप र ज्ञानलाईं पहिचान गर्न नचाहँदा विदेशीहरूले त्यहि मर्चा बनाउने ज्ञानलाई लिएर ब्राण्डको रुपमा स्थापना गरि नेपाललाई नै बेच्न थालेको उनको तर्क छ । 
आफनो संस्कृतिका आधारमा घरेलु रक्सी बनाउने काम उनीहरूले आफना आमाबाट सिकेका हुन् ।  व्यावसायिक प्रयोजनका लागि यस्तो रक्सी उत्पादन गर्न प्रतिबन्ध भएका कारण यो काम भने गर्न छोडेको उनीहरूको भनाइ छ । 
(ग) पहरी परिकार बनाउने सीप ः 
पहरीहरूको साँस्कृतिक पर्बमा आवश्यक पर्ने परिकारहरू बनाउने उनीहरूको अर्को सीप हो । यस्तो परिकारको केही सिमित व्यक्तिहरूले व्यापारिक प्रयोजनका लागि सन्चालन गरिएपनि गाउँमा भने बजारको  अभ्यासमा छैन । पहरी जातिले आफ्नो परम्परा अनुसार पुर्खाहरूले विशेष गरेर कोदोको ढिँडो, फापरको परिकार, गुन्दु्रक सिस्नु नै बनाएर खाने गरेको पहरी महिला विकास समाजका अध्यक्ष बिना पहरी बताउँछिन् । 

पहरी अग्रज शंकरमान पहरीले प्रकाशन गरेको पुस्तकमा पनि पहरी खानपानका विषयमा यस्तै उल्लेख गरिएको छ । पहरी महिलाहरूले विशेष गरि चुलोचौका हेर्छन् । भोज भतेरहरूमा कालो भटमास, बोडी, चना आदि गेडागुडीबाट बनेका परिकारहरू र अनिवार्य रुपमा अदुवा र लसुन पनि प्रशस्त प्रयोग गरिएको हुन्छ । ललितपुरका पहरीहरूको भोज नेवार जातिसंग मिल्दोजुल्दो रहेको शंकर पहरी बताउँछन् । चिउरा, राँगाको मासु, भटमास,बोडी, अदुवा, लसुन, र एकोहोरो पकाएको चामालका रोटी धेरैजसो भोजमा प्रयोग गरिन्छ । 

पहरी अग्रज शंकरमान पहरीले प्रकाशन गरेको पुस्तकमा पनि पहरी खानपानका विषयमा यस्तै उल्लेख गरिएको छ । पहरी महिलाहरूले विशेष गरि चुलोचौका हेर्छन् । भोज भतेरहरूमा कालो भटमास, बोडी, चना आदि गेडागुडीबाट बनेका परिकारहरू र अनिवार्य रुपमा अदुवा र लसुन पनि प्रशस्त प्रयोग गरिएको हुन्छ । ललितपुरका पहरीहरूको भोज नेवार जातिसंग मिल्दोजुल्दो रहेको शंकर पहरी बताउँछन् । चिउरा, राँगाको मासु, भटमास,बोडी, अदुवा, लसुन, र एकोहोरो पकाएको चामालका रोटी धेरैजसो भोजमा प्रयोग गरिन्छ । 
पहरी जातिको खानाको परिकारहरू ठाउँ अनुसार बेग्लै रहेको पाइन्छ । विभिन्न जाति समुदायको प्रभावका कारण जुन जाति समुदायको बरपर बसोबास गरेका छन्, सोही अनुरुपको खानपान रहेको छ । सिन्धुपाल्चोक, सिन्धुलीतिरका पहरीहरू आफ्नो जीवन निर्वाहका लागि माछा मार्ने काम गर्छन् । सोही अनुसार उनीहरूको खानपान पनि फरक देखिन्छ । 
पहरी महिला विकास समाजका अध्यक्ष बिना पहरी पनि पहरी जाति आफुसंगैको छिमेकी जातिबाट बढि प्रभावित भएको बताउँछिन् । उनका अनुसार सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली तिरको पहरी समुदायलाई हेर्दा तामाङ समुदायबाट बढि प्रभावित भएको देखिन्छ, ललितपुरका पहरीहरू काठमाडौँका नेवारहरूको संस्कार, संस्कृतिमा प्रभावित भएका पाइन्छन् भने पुर्वमा राईहरू, पश्चिममा खसआर्यहरूसंग प्रभावित देखिन्छन् ।
बजारको अवस्था
घरबाट उनीहरूले बनाएका सामाग्रीहरू विक्रीका लागि काठमाडौँका विभिन्न बजारहरूमा लग्छन् । अर्डर अनुसार बनाएका सामग्री घरमै लिन आउँछन् भने बाँकी बसेको सामान आफैले गाउँघर सहरबजार लाने गरेका छन् । बजारमा प्लाष्टिकबाट बनेका सााग्रीहरूको प्रयोग बढी मात्रामा भएपनि स्थानीय सामानले बजार पाएको छैन । बाँसबाट बन्ने डोको डालो, नाङ्लो लगायतका सामाग्रीहरूको सट्टामा पनि बजारमा प्लाष्टिकका सामानको चरम हस्तक्षेप बढेको छ । 
परम्परागत सीपबाट निर्माण हुने चोयाबाट बनेको सामाग्रीका लागि बजारको अवस्था व्यवस्थित रहेको पाइँदैन । पहरी महिला विकास समाजका अध्यक्ष बिनाका अनुसार महिला दिदीबहिनीहरूले बनाउँदै आएको बाँसवेत समाग्री विक्रीका लागि बजारको एकदमै अभाव रहेको छ । कच्चा पर्दाथ लगायतका सामाग्री ल्याउन अर्को जिल्ला काभ्रे पुग्नुपर्ने र सामग्रीको राम्रो मुल्याँकन हुँदा कतिपय महिलाहरू ज्यामि काम गर्नतर्फ लागेको अवस्था छ । 
पहरी महिलाहरूले आफ्नो परम्परागत सीपलाई अँगाल्दै आएपनि पछिल्लो समयमा आएर लोप हुने अवस्थामा पुग्ने हो की भन्ने डर पनि पहरी अग्रजहरूको छ । पहरी अगुवा शङ्करमान पहरी पहरीहरूले विस्तारै आफ्नो संस्कार संस्कृति, भाषा, सीप ज्ञान बिसिर्दैँ गएकोमा दुख मान्छन । सीपको संरक्षण पहरी जातिले पुस्तान्तरण गर्दै आए पनि वर्तमान अवस्थामा युवा पुस्तामा यसको चासो नरहेको उनको बुझाइछ । 
पछिल्लो समय यो समुदायका मानिसहरूले पनि अन्यविभिन्न समुदायका मानिसहरूले जस्तै वैदेशिक रोजगारी तथा अन्य बाहिरी काम गरि आर्थिक उपार्जन गर्ने गरेका छन् ।  स्थानिय नगरपालिकाले सामाग्री निर्माण सहजताको लागि बाँस काट्ने मेसिन, तालिम, खेतिकिसानी गर्नेलाई बर्षेनी अनुदान दिँदै आईरहेको स्थानीय वडा सदस्य सिता तिमल्सिना बताउँछन् । वडाबाट आर्थिक अवस्था कमजोर भएकाहरूका लागि बाँस किनिदिने व्यवस्था, कृषिका लागि बिउ विजन लगायत वडाले दिएको छ । उनी परम्परागत पहरी सीपको संरक्षणको आवश्यकता भएकोले आउने दिनमा संकलनका लागि योजनाहरू बनाउन ेपनि बताउँछन् । 
यसैगरी पहरी महिला विकास समाजका अध्यक्ष बिनाले परम्परागत पेशा जोगाउन र त्यस सम्बन्धि सीप तालिमको लागि आफुले जातिय संस्थाको तर्फबाट स्थानिय सरकार, विभिन्न गैरसरकारी संस्थाहरूबाट सचेतना मूलक कार्यक्रमहरू संचालन गर्दै आएको जानकारी दिइन् । यसरी कार्यक्रमहरू संचालन गर्दै गर्दा गाउँका दिदीबहिनीहरू लाभान्वित भएको उनले महसूस गरेकाछन् । कतिपय महिलाहरूले आफुले सीप जानेको भए पनि कच्चापदार्थ किन्नुपर्ने र आफुले बनाएको सामानको मुल्य राम्रो नपाउने देखे पछि ज्यामिकाम गर्नतर्फ लागेको समेत बताए । 
वडा सदस्य तिमल्सिनाका अनुसार उनको बडाका महिलाहरूले बनाएको बाँसजन्य सामाग्रीको बजार व्यवस्थापन तत्कालको लागि व्यवस्थित गर्न नसकिए पनि भविष्यमा राम्रो बनाउँदै लेजाने प्रयास गरिएको छ । वडामा आएको सरकारी बजेटबाट हरेक वर्ष सीप प्रबद्र्धनको लागि विभिन्न कार्यक्रम गरेको जानकारी पनि उनी दिन्छन् । उनका अनुसार, आगामी दिनमा सामान भण्डारण गर्ने ठाउँ निर्माणको लागि छलफल चलिरहेको छ। 

पहरी महिलाको आर्थिक अवस्था
बाँसबेतको सामाग्री बनाउने कार्य सबै पहरी जातिमा छैन् । ठाउँ अनुसार बसोबास पहरीहरूले फरकफरक पेशा र सीपबाट आफ्नो गुजारा चलाईरहेका छन् । आर्थिक हिसाबले पहरी महिलाहरूको राम्रो अवस्था नरहेको उनीहरुको बुझाइ छ । विना भन्छिन् ‘पहरी महिलाहरू पहिलेबाटै अन्य समुदायको तुलनामा कमजोर अवस्थामै छन् । आफ्नै जाति समुदाय भित्रपनि महिलाहरू पिछडिएका छन् ।’ 
महिलाहरूको आर्थिक आयआर्जनको क्षेत्र भनेको पुर्खाबाट सिकेका सीप हो भने दोस्रो जानेको ज्यामी कामनै हो । बिना पहरीका अनुसार,शिक्षा, राजनीति, बाहिरी ज्ञानमा पहरी महिलाहरूको उपस्थिति खासै राम्रो छैन् । बिस्तारै महिला दिदीबहिनी हरूले आफ्नो हक अधिकारका विषयमा बुझन् थालेका छन् । विभिन्न कार्यक्रम गोष्ठीहरूमा पछिलो समय उनीहरूको राम्रो उपस्थिति हुनथालेको छ । 
पहरी महिलाहरूले आफ्नो पुर्खाको सीपलाई आर्यआर्जनको माध्यम बनाएका छन् । आफुहरूले सीपजाने र काम गर्न थालेपछि घरपरिवार चलाउन सजिलो भएको उनीहरूको अनुभव छ । सानु कान्छी नगरकोटी पहरी पनि यस्तैमा पर्छिन, जो पैसाको लागि श्रीमानको भर पर्नु परेको छैन । श्रीमान पनिकाम गर्छ, म नि यहि बाँसको काम गर्छु, बालबच्चा पढाउन र घरखर्च चलेको छ’, उनी भन्छिन् ।
एउटा नाङ्लो बेच्दा ३ सय ५० देखि ६ सय रुपैयाँ आउँछ । दिनमा बिहानदेखि कामगर्दा ३ वटासम्म नाङ्लो बनाउन सकिन्छ । मङ्गली नगरकोटी पहरी पनि दिनमा २ वटासम्म डालो बुन्छिन् । एउटा डालोको ५ सय देखि ८ सय रुपैयाँसम्म पर्छ । श्रीमानभने डालो बेच्न सहरसम्म पुग्छन् । घरैमा अर्डर गर्न आउनेहरू सामानलिन पनि आउँछन् । 
यस परम्परागत सीपले पहरी महिलाको आर्थिक सुधारमा राम्रो भुमिका खेलेको देखिन्छ । तर अहिले गाउँघरमा बाँसजन्य कच्चापर्दाथको कमी भएको छ, कतिपय अवस्थामा त सामान पाउनै मुस्किल पर्छ । काभ्रेसम्म पुगेर एउटा बाँसको १ सय ५० देखि ३ सय रुपैयाँ सम्मतिरेर ल्याउनुपर्ने अवस्था छ । 
नयाँ पुस्ताहरू बिस्तारै शिक्षित हुँदै गएका छन् । परम्परागत सीपलाई अंगाल्नुको सट्टा उनीहरू नयाँ व्यापार व्यवसाय र जागीरतर्फ लागेका छन् । बैदेशिक रोजगारी, नयाँप्रविधि र ज्ञानका विषयले पहरी महिलाहरू पहिलेको तुलनामाअगाडि बढिसकेका देखिन्छन् । शिक्षाको हिसाबमा भने राजधानी उपत्यका भित्रै भएर पनि उनीहरू अलि पिछडिएका छन् । अब भने विस्तारै पहरी महिलाहरू अहिले पढ्ने पढाउने तिर लागेका छन् । 

परम्परागत सीप र जलबायू परिवर्तनको असर
जलबायू परिवर्तनले विश्वनै प्रभावित बनाई रहेको बेला नेपाल पनि अछुते रहन सकेको छैन । जलबायू परिवर्तनका असर विशेष गरेर नेपालको हिमाली भेगमा प्रत्यक्ष रुपले देखिन थालेको छ । त्यसको असर विशेषगरि आदिवासी जनजाति समुदायलाई परेको छ । 
जलबायू परिवर्तनले आदिवासी महिलाहरूको सीप तथा ज्ञानलाई दुई किसिमबाट प्रभाव पर्ने गरेको जलवायू परिवर्तनका विज्ञ तुङ्गभद्र साम्पाङ राईको भनाइ छ । जलबायू परिवर्तबाट परेको पहिलो असर भनेको प्राकृतिक स्रोत साधनमा आउने विचलन हो । त्यसबाट आदिवासी ज्ञानलाई नकारात्मक असर गरेसंगै महिलालाई पनि प्रत्यक्ष असर पर्छ । यसैगरि दोस्रो असर भनेको जलबायू परिवर्तन न्युनीकरणका लागि सरकारले विभिन्न नीति नियम र कार्यक्रमहरू कार्यन्वयन गर्छ,जसको कारण हाम्रो परम्परागत व्यवसाय अथवा प्राकृतिक स्रोत साधन र थातथलोमा छेकबारहरू लगाइन सक्छ । यसरी दोहोरो असर पर्ने उहाँको भनाइ छ । 
अर्का विज्ञ डा. बिष्टको भनाई पनि साम्पाङ राईको जस्तै छ । जलबायू परिवर्तनले परम्परागत सीपहरूलाई प्रत्यक्ष अप्रत्यक्ष रुपले नकारात्मक असर परेको छ । जलबायू परिवर्तनले नेपालको ग्रमीण क्षेत्रमा विभिन्न खाले समस्या आएको छ । ‘यसले पानी पर्ने सिजनमा नपर्ने, बाढी पहिरो, सुख्खा पहिरो, लगायतले समस्या देखापरेको छ जसका कारण आदिवासीका परम्परागत सीपका लागि आवश्यक कच्चा पदार्थ बनजंगलमा पाईने स्रोत र साधनमा समेत ह्रास आएको छ’, उनका अनुसार यसले प्रत्यक्ष रुपमा परम्परागत सीपगर्दै आएका व्यक्तिहरूको जीवनशैलीमा बढी असर परेको छ । जलवायू परिवर्तनले धरै नै आदिवासीहरूको जिवनशैलीमा प्रभावपारेको छ । विशेषगरि कृषि, पशुपालन, ज्ञान, सीप र स्रोत साधानहरूमा यसको प्रत्यक्ष असर देखिन्छ । तर यस प्रकारको परम्परागत सिपले जलवायु परिवर्तनको असर न्युनीकरण गर्न सहयोग पुगेकोमा भने सरकार मौन छ । 
पहरीहरुको परम्परागत पेशा बास र बेतबाट तयार हुने सामानहरु प्लास्टीकजन्य सामाग्रीको बिकल्पमा हो । प्लास्टिकका सामान निर्माण देखि ढुवानीले  कार्वन उत्सर्जनलाई बल मिल्छ । डा बिष्ट र साम्पाङ दुबै जना एकै स्वरमा भन्छन्, ‘यस प्रकारको परम्परागत पेशालाई प्रोत्साहन गरेमा जलबायू परिवर्तनको चुनौतिलाई न्युन गर्न सकिन्छ ।’

सीपको पुस्ताहस्तान्तरणको अवस्था
डालो बनाउँदै गरेकी मंगली पहरीलाई लाग्छ, यो काम उनीहरूको दम्पति रहँदासम्म मात्र हो । यसको कारण के भने उनीहरूका छोराछोरीले यो काममा खासै चासो दिँदैनन्, बरु पढेर जागिर व्यवसायतर्फ लाग्छु भन्छन् । काम सिक्न अलि कठिन भएको, कामको दुःख पनि धेरै भएको, बजारमा सामानको भाउन पाइने अवस्था रहेकोले पनि अचेलका केटाकेटीहरूयो काम गर्न अल्छी मान्छन् । मंगली पहरीसम्मको पुस्ताले आफ्नो पुर्खाको सीप सिकेर निरन्तरता दिँदै आएपनिनयाँ पुस्तामाझ बाँस बेतको स ेप भइसकेको अवस्था छ ।
परम्परागत सीपमा युवावर्गको चासो देखिँदैन । सबै पढेलेखेकाहरू अन्यव्यापार व्यवसाय अथवा वैदेशिक रोजगारी तर्फ लागेका छन् । कक्षा १२ सकेर बसेका मविन पहरीलाई आफ्नो पुर्खाको सीपबारे राम्ररी थाहा छ । घरमा हजुरबा हजुरआमाले डोको, डालो र नाङ्लो बुन्ने गरेको सानो छँदादेखि देखिरहेको अनुभव पनि छ तर कसरी बुन्ने भन्ने सीपभने उनले सिकेका छैनन् । भन्छन्–‘मलाई पनि मेरो आफ्नो पुर्खाको सीप सिक्न मन छ,नयाँ–नयाँ बनावटका सामाग्रीहरू बनाउन मन लाग्छ तर यसमा म मेरो भविष्य चाहिँ देख्दिन ।’ दुःखधेरै, समय र मेहेनत अनुसारको पैसा पाउँन गाह्रो हुने भएकोले अर्को वैकल्पिक व्यवसाय गरे राम्रो हुने मबिनको भनाई छ । तारा पहरीले भने नाङ्लो बनाउन थालेको ३ वर्ष भएको छ । उनलाई विहे गरेर बडिखेल पुगेपछि सासु ससुराले यो काम सिकाएका हुन् । उनीघरमा घाँस दाउरा काट्ने साथै खेतवारीको कामपनि गर्ने गर्छिन् । 
बडिखेलमा विवाहपछि बाँसको कामसिकेर गर्ने महिलाहरूको संख्या धेरै छ ।  नेपाल पहरी विकास संघका उपाध्यक्ष कमला पहरी आफुले पनि बाँसबाट बन्ने सामाग्री नाङ्लो लगायतका बस्तुहरू बनाई लगनखेल वरपर बेच्न लैजाने गरेको अनुभव सुनाउँछिन् । दुःख गर्नसके यसमा पैसाको समस्या त्यति छैन, हातमा सीप भएपछि आफुले जुनबेला गर्दा पनि भयो । बडिखेलमा आफ्नो भाषा, संस्कृति, धर्म, परम्परा,पुर्खाको पेशा संरक्षणका अवस्था अहिलेसम्म तुलनात्मक रुपमा राम्रो रहेको उपाध्यक्ष पहरी बताउँछिन् । 
यसवा अर्थशस्त्री  डा. रघुबीर बिष्टका अनुसार पहरीहरूले विशेष गरेर बाँस र बेतबाट बन्ने डोको, डालो नाङलो बनाउँदै आइरहेको अवस्था थियो । पहिला बाँसको सामानको बजार राम्रै थियो तर अहिले नेपाली बजार खुला र अन्तर्राष्ट्रियकरण भैसकेको छ । नयाँ पुस्तापनि सजिलोसँग छिटो छरितो र धेरै पैसा आउने काम गर्न चाहन्छन् । यसले गर्दा विस्तारै महिला पुरुष दुबैले परम्परागत सीपलाई छोड्दै गएका छन् । बाँस बेतकै काममात्र हैन,खेतीपातीको काम समेत गर्न छाडेका छन् । यसले गर्दा परम्परागत सीप जोगाउनै चुनौति भएको छ । अर्का आदिवासी अधिकारकर्मी आदिवासी जनजाति महिला महासंघकी महासचिव देवानको भनाई पनि उस्तै छ । युवापुस्ता नयाँप्रविधिमा गईसकेको,उनीहरूलाई परम्परागत पुर्खाको पेशाका बारेमा जानकारी नै नभएको हुनाले सीप सिक्न र बुझनको लागि चुनौतिनै छ । त्यसैले देवानलाई अबका दिनमा परम्परागत ज्ञान सीप जोगाउन नसकिएलाकि भन्ने चिन्ता लाग्ने गरेको छ । 

बातावरण–मैत्री छ छैन ?
आदिवासी जनजाति समुदायले बनाउने सामाग्रीहरू बातावरण–मैत्री रहेको विज्ञहरूको भनाइ छ । विज्ञ डा. बिष्टका अनुसार अहिलेको अवस्थामा माछा मार्न रसायनिक पदार्थको प्रयोग गरेको हुन्छ, यसले हाम्रो पर्यावरण र स्वास्थ्यलाई समेत खराब असर गर्छ तर हाम्रो परम्परागत सीप भएकाले प्राकृतिक रुपमा बाँसले बनाएको माछा मार्ने ढकीको प्रयोग गरेर माछा मारेमा पर्यावरण र आफ्नो जीवनचक्रमा पनि खराब असर पर्न पाउँदैन । 
आदिवासी परम्परागत ज्ञानमा प्रकृतिको संरक्षण जोडिएको छ जसमा स्रोत साधन उपभोेग गरिएको भएपनि त्यसको संरक्षणको लागि परम्परागत उपाय नै अपनाइन्छ । स्रोत साधनको उपभोगसंगै अर्कोबर्षको लागि संरक्षण गर्न भने आदिवासी जनजातिले जानेको हुन्छ । जलबायू परिबर्तनका विज्ञ राईका अनुसार परम्परागत सीपहरू प्रकृतिमय नै रहेको छ । राईले वर्तमान अवस्थालाई जोडदै परम्परागत सीप र  ज्ञानमा स्रोत र साधनको उपभोगसंगै यसको जगेर्ना पनि गर्ने भएकोले प्रकृतिमा कुनै त्यस्तो ठुलो असर पर्ने नभई संरक्षण भने गर्दै आएको बताउँछन् । बजारमा पाइने प्लाष्टिकजन्य सामाग्री तुलनात्मक रुपमा बाँसबेतबाट बनेको सामग्री भन्दा सस्तोमा पाइने भएपनि बाँसको सामग्री कुहिएर जाँने हुनाले वातावरण मैत्री भएकोले दीर्घकालमा यो नै फाइदाजनक हुन्छ । डा. बिबष्टका अनुसार बजारमा उपभोक्ताको माग अनुसारका प्लाष्टिक लगायतका पर्यावरणलाई नोक्सान पु¥याउने सामानहरू आएका छन् तर यसबाट बाताबरणलाई कतिको असर गरिरहेको छ भन्ने हामीले सोचेका हुँदैनौ । तसर्थ बाताबरणलाई स्वस्छ बनाउन परम्परागत सीपबाट निर्मित सामाग्रीहरूको संरक्षण साथै प्रबद्र्धन गर्न आवश्यक रहेको विज्ञहरूको भनाई छ । 

स्वरोजगारको अवस्था
नेपालको अवस्थालाई हेर्दा युवावर्गहरू विदेशिएका छन् । आर्थिक आयआर्जनको माध्यमनै बैदेशिक रोजगारी बनेको छ । राज्यले रोजगारीको सिर्जना गरि परम्परागत सीपलाई विश्वबजारमा पु¥याउन सके देशको आर्थिक अवस्था सुधार हुने देखिन्छ । 
नेपालका आदिवासी समुदायभित्र धेरै सीप रहेका छन् यसको प्रबद्र्धन र संरक्षण भने हुन सकेको छैन् । विज्ञ डा. बिष्ट भन्छन् आफ्नै देशमा रोजगार सिर्जना गर्न यि ज्ञानसीपलाई सरकारले संरक्षण गर्न आवश्यक छ । चीन, जापानजस्ता देशपनि स्थानिय परम्परागत सीपको प्रब्रद्र्धन गरि विश्वबजारमा सामान पु¥याउन सफल छन् । ती देश कच्चापदार्थ उत्पादन र स्थानीय सीप तथा ज्ञानलाई नयाँपुस्तालाई सिकाउने विषयमा राम्रो उदाहरण बनेका छन् । परम्परागत सीप संरक्षणमा पहिलो भुमिका राज्यको हुने विचार राख्ने डा. बिष्ट अनुदान,सीप,तालिम र बजारको व्यवस्था राम्रो गर्नसके दिनहुँ हजारौँको संख्यामा विदेशिएका दिदीबहिनी दाजुभाईले नेपालमै रोजगारी पाउथे भन्ने सोचाइ पनि राख्नुहुन्छ । 
श्रम विज्ञ डा. गणेश गुरुङका अनुसार पनि परम्परागत ज्ञान र सीपको संरक्षणमा सरकारको ध्यान गएको छैन । परम्परागत औषधी उपचारका विधि, पशुपालान, विभिन्न सीपको प्रबद्र्धन पनि एकदमै कम छ । कृषिमुलक देश र चरन क्षेत्र राम्रो रहेको भएका पशुपालनको हिसाबले राम्रो संभावना रहँदा पनि सो पेशा घट्दो क्रममा छ । डा. गुरुङ्का अनुसार सरकारले यसतर्फ नागरिकको सोचाइमा परिवर्तन ल्याउने गरी काम गर्न सके र बजारको व्यवस्था राम्रो बनाउन सके रोजगारीका लागि नेपालबाट विदेशिएकाहरूलाई स्वदेशमै राम्रो रोजगार मिल्नसक्छ ।  
चुनौतिहरू
विश्वभरि प्राकृतिक स्रोतसाधानलाई संरक्षण गर्नुपर्छ भनेर सन् १९८० को दशकबाट अभियानहरू सुरु भएका थिए । प्राकृतिक स्रोतलाई जोगाउनु पर्छ भन्ने अभियानका कारणले नै स्थानीय नागरिकले विभिन्न सामग्री उत्पादन गर्नका लागि चाहिने कच्चापदार्थ पहिला जस्तो खुल्ला रुपमा पाइन छोड्यो किनभने त्यसको संरक्षण गर्न थालियो । विज्ञ डा. बिष्टका अनुसार, समयक्रममा परिवारले विकल्प पायो–वैदेशिक रोजगारी । स्रोत र साधनपनि कम हुँदै गएपछि बजारमा विकल्पको रुपमा प्लाष्टिकका सामानहरू आउनथाले । यातायातका अन्यविकल्प पनि आउन थालेपछि परम्परागत सीपबाट बनेका सामग्रीहरूको बजार पनि कमहुँदै गएको छ । 
उपत्यका बाहिरा अन्य जिल्लाहरूको पहरीको अवस्थालाई हेर्ने हो भने धरैले आफ्नो भाषा, संस्कृति, सीप, बिर्सिइ सकेका छन् । नेपाल पहरी विकास संघका निवर्तमान अध्यक्ष कान्छा काजी पहरीको अनुभवमा पनि पहरीहरूको भाषा, संस्कार, संस्कृति र सीपको संरक्षण ललितपुरको गोदावारी नगरपालिकमा मात्र देख्न सकिन्छ । कान्छा काजी आफैले पहरीको भाषा, संस्कार र संस्कृतिको संरक्षणको लागि पहलगर्दै आएको दावी गरेका छन् । 
पहरी समुदाय संख्याको हिसाबले अल्पसंख्यक रहेको अवस्थामा वरिपरिका अन्य जातिमा प्रभावित भएर भेषभुषा, धर्म, संस्कार संस्कृति र पहिचाननै फरक हुँदै गरेको चुनौतिहरू रहेकोमा पहरी अगुवाहरूको चिन्ता छ । 
 

प्रतिक्रिया