कोरोनाजस्तै खतरनाक निकुञ्ज

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१३ वैशाख २०७७, शनिवार
कोरोनाजस्तै खतरनाक निकुञ्ज

मालिना सूव्वा


विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९को संभावित संक्रमणको त्रासदी व्यहोरिरहेका आदिवासी जनजातिहरुले आफनो दैनिक जीवनमा कोरोना भाइरसजस्तै बन, बन्यजन्तु तथा जलचर संरक्षणका लागि ल्याइएको कानुन तथा नियमहरु खतरनाक भएको बताएका छन् । 

‘कोरोना भाइरसको संक्रमणबाट त हामी सुरक्षित नै छौ, तर राष्ट्रिय निकुन्जबाट हाम्रो पेसा, व्यबसाय सुरक्षित भएन’ नेपाल बोटे समाजका अध्यक्ष ज्ञानबहादुर बोटेले भन्नु भयो –‘पुरै देश लकडाउन भएको बेलामा कोरोना भाइरसबाट त बाँच्न सकिएला तर हाम्रो परम्परागत पेसा, व्यबसाय बचाउन मुस्किल परेको छ ।’  

पुरै देश लकडाउन भएको बेलामा कोरोना भाइरसबाट त बाँच्न सकिएला तर हाम्रो परम्परागत पेसा, व्यबसाय बचाउन मुस्किल परेको छ ।

जल र जङ्गलसंग सम्बन्धीत पेसा र व्यबसाय गर्दै आएका आदिवासी बोटेहरु पछिल्लो समयमा राष्ट्रिय निकुञ्जले नदीहरुमा प्रबेश गर्न नदिए पछि उनीहरुको पेसा र व्यबसाय संकटमा पर्दै आएको थियो । 
यसै गरी जलसंग सम्बन्धीत परम्परागत पेसा व्यबसाय भएको अर्को आदिवासी राजीहरुको जातीय संस्था राजी सोल्मा समाजका अध्यक्ष चित्रबहादुर राजीले पनि बोटेकै जस्तै राजी समुदाय पनि पीडामा रहेको र लकडाउनको अवस्थामा थप संकटमा परेको बताउनु भएको छ । 

राजी समुदायको मूख्य पेसा नदीमा डुङ्गा चलाउनु र बन जंगलमा भीर मौरीको मह संकलन गर्नू हो । तर पछिल्लो समयमा बन जंगलको राष्ट्रियकरणसंगै परम्परागत पेसा खोसिएको गुनासो राजी समुदायको रहँदै आएको थियो । कोरोना भाइरसको संक्रमणको जोखिमले देशै भरी लकडाउन गरिए पछि निकुञ्ज प्रशासनले नदीजन्य माछा उत्खनन् गर्न अरु कडाई गरेको राजी अगुवाहरुको भनाई छ । 

मूलतः नदी किनारामा बसोबास गर्ने माझी, राजी र बोटे समुदायहरुलाई निकुञ्ज भएका स्थानमा सीमित समयमा माछा मार्ने अनुमति दिइने गरिएको छ । तर यो नियन्त्रित अनुमतिले जिविकोपार्जनमा संकट आए पछि केही माझी, वोटे तथा राजी  आदिवासीहरु परम्परागत पेसा र व्यबसाय परिबर्तन गरी ज्याला मजदुरीतर्फ लागेका थिए  । केही वोटेहरु भने वालुवामा सुन चाल्ने गर्ने गरेका थिए । 

आदिवासीमैत्री कानुन र नीति नभएकै कारण राजी समुदायको पुरै समुदाय सरकारसंक्रमित बनेको छ । हाम्रो परम्परा संस्कृति तथा सभ्यता माथिको यस आक्रमणले  पहिचान गुम्न लागेकोमा बढी चिन्ता छ ।

विश्वव्यापी महामारीका रुपमा कोभिड १९को प्रकोप बढे पछि नेपालले लगाएको लकडाउनका कारण सबै मानवीय गतिविधि रोकिएको छ । यसबाट विपन्न सीमान्तीकृत बोटे तथा राजीहरुको जिवनयापनमा थप चुनौति थपिएको छ । 

‘कोरोना लागेमा व्यक्ति संक्रमित हुन्छ, तर हामी माथि सरकार लागेको छ ।’ राजी सोल्मा समाजका अध्यक्ष चित्रबहादुरले भन्नु भयो, –‘आदिवासीमैत्री कानुन र नीति नभएकै कारण राजी समुदायको पुरै समुदाय सरकारसंक्रमित बनेको छ । हाम्रो परम्परा संस्कृति तथा सभ्यता माथिको यस आक्रमणले  पहिचान गुम्न लागेकोमा बढी चिन्ता छ ।’

राज्य कुनै पनि समुदायका लागि अभिभावक हुनु पर्ने मान्यता राख्दै आएको वोटे समाजका अध्यक्ष ज्ञान बहादुरको तर्क छ । उहाँ भन्नु हुन्छ–‘सीमान्तीकृत जाती समाप्त पार्ने कि संरक्षण गर्ने अहिले सरकारकै हातमा छ ।’

प्रतिक्रिया