दसैँ आदिवासी किरातहरूको चाड, यसको अवज्ञा किरात संस्कृतिकै अवज्ञा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१० असोज २०७४, मङ्गलवार
दसैँ आदिवासी किरातहरूको चाड, यसको अवज्ञा किरात संस्कृतिकै अवज्ञा

दसैँ बहस सृङ्खला –३

डा. कविताराम श्रेष्ठ

हिन्दूशास्त्रले दसैँलाई आफ्नो चाड मान्दा आदिवासी र किरात जातिले यो चाड आफ्नो नभनी यसको अवज्ञा गर्नु वा बहिस्कार गर्नु एक हिसावले ठूलै गलत सोच हुन्छ । हिन्दूहरूले यो संस्कृति ग्रहण गरेको प्रघटना आदिवासी÷किरातहरूको लागि एउटा गर्वको विषय हो । समस्त किरातहरूले आफ्ना पूर्वरीत अनुसार यस कृषि चाडलाई निरन्तरित गर्दै लानुपर्छ । हिन्दूहरूको दसैँचाड मान्ने सद्भावलाई आदिवासीरकिरातहरूले प्रत्यूत्तरमा आदरसाथ लिनुपर्दछ । दसैँको अवज्ञा आदिवासी/किरात संस्कृतिकै अवज्ञा हो ।

कुनै एक बाहुन नेताले यो दसैं भनेको किरातहरूको आफ्नो चाड हो नबुझी दसैँका विरोध गर्दैछन् हिजो आजका आदिवासी÷किरातहरूले भनेर मसँग भन्नुभएको थियो । उहाँले दलील स्वरूप भन्नुभएको थियो दसैँ अनाजसँग सम्बन्धित चाड हो । अनि अनाज भनेको कृषि उत्पादित वस्तु हो । हरप्पा र महेन्जोदडोको उत्खननबाट बुझिएको कुरो हो कि आर्यहरू यता आउनुभन्दा पहिले नै यताका जनजातिहरूले कृषि सुरु गरिसकेका थिए । आदि । म पनि त्यही हिसावले सोच्ने मान्छे परेँ र दसैँ मुखैमा आइपुगेको हुँदा त्यसलाई केही विश्लेषण गरी तपाईं सामू राख्न मनलाग्यो ।

हरप्पा र महेन्जोदडोको उत्खननबाट बुझिएको कुरो हो कि आर्यहरू यता आउनुभन्दा पहिले नै यताका जनजातिहरूले कृषि सुरु गरिसकेका थिए ।

वेदहरूबाट बुझिन्छ आर्यहरू गाई पालुवा जाति थिए र गाई चराउने सिलसिलामा स्थान सर्दै पश्चिम युराली भेगबाट पूर्व भारतीय उपमहादेशतर्फ आएका थिए । उनीहरू निश्चित रूपमा घुमक्कड थिए । एक स्थानमा बस्दैनथे र कृषि यिनीहरूको पेशा त्यसबेला थिएन । यता सिन्धुघाँटी तथा गङ्गाको मैदानमा पसेपछि यताकै जनजातिहरूको सिकोमा स्थायी बसोबास सुरु गर्नलागे र त्यही सिकोमा कृषिपेशामा लागे । यतैको संस्कृति ग्रहन गर्दा उनीहरूले कृषिबाट उत्पादित वस्तु चामल अर्थात अक्षेता निधारमा लाउने विजयादशमी वा दसैँचाड पनि ग्रहण गरे । कुरा त यही हो तर फरक कहाँ पर्न गयो भने आर्यहरूले दसैँलाई धर्मशास्त्रहरूमा उद्धरण गरे र आर्यदेवताहरूको पारलौकिक कथा जोडिदिए । अनि त युगौँ बितेपछि हिन्दूका उनै शास्त्रीय आख्यानहरूका कारणले दसैँ हिन्दूहरूको धार्मिक चाडको रूपमा मात्र बुझिन लाग्यो ।

कसरी यो अनाज सम्बन्धित चाड हो त ? मुख्यतः यो चाडको साइत धान पाकेर घर भित्र्र्याउने बेला पारेर गरिएको छ । कृषि उत्पादित चामललाई अक्षेताको रूपमा निधारभरी टाँसेर त्यो उत्पादनको खुशियाली मनाइन्छ । धान वा मकै वा अन्नहरू खसेर उम्रिन गएका अङ्कुरहरूलाई जमरा भन्दै कानमा सिउरेर आफूलाई सिँगार्दछन् । धान भित्रिएको छ त्यसैको पकवान बनाएर रमाउँछन् । आफू खान्छन् यीनै उपलव्धिहरूका आतिथ्यसाथ नरनाता इष्टमित्रहरूसँग पनि भेट्घाट भलाकुसारी गर्दछन् । अन्न घरमा भित्रिएको छ त्यसलाई बेचेर लुगाफाटो वा अन्य रौसका सामग्रीहरू जोहो गर्दछन् । निश्चित रूपमा यो अनाजको चाड हो भन्न गहकिला प्रमाणहरू छन् ।

यो चाडको साइत धान पाकेर घर भित्र्र्याउने बेला पारेर गरिएको छ । कृषि उत्पादित चामललाई अक्षेताको रूपमा निधारभरी टाँसेर त्यो उत्पादनको खुशियाली मनाइन्छ । धान वा मकै वा अन्नहरू खसेर उम्रिन गएका अङ्कुरहरूलाई जमरा भन्दै कानमा सिउरेर आफूलाई सिँगार्दछन् ।

कुरा त यसोउसो जे भने पनि यो चाड आर्यहरूले पश्चिमबाट ल्याएको नभई यतैको उपज थियो र आर्यहरूले यसलाई पछि ग्रहण गरेको हो भन्नुमा छ । यसका प्रमाणहरू अरू कुराबाट पनि पुष्टि हुन सक्छ । तीमध्ये एउटा यो पनि हो कि यो चाड मनसुनी जलवायु क्षेत्रको उपज हो ।

मनसुनी जलवायु हिमालयदक्षिण सिन्धुघाँटी गङ्गा मैदान र भारतको देक्कन प्लेटोमा हिन्दमहासागरवाट आउने वेष्टर्ली विन्ड (पश्चिमतिरबाट आउने सामुद्रिक वायु) को कारणबाट निर्मित जलवायु हो । यस वायुले हिन्द महासागर बाट वाष्प बोकी जुनजुन क्षेत्रका जलवायुमा प्रभाव पार्दछ । त्यस क्षेत्रलाई मनसुनी क्षेत्र भनिन्छ । सूर्य ट्रपिकअफ केन्सर २३.५ डिग्री अक्षांश मा आउँदा र त्यहाँबाट फर्केर इक्वेटरतिर फर्केर जाँदा तीनचार महीना सूर्यको रापले हावा तातिन जान्छ र त्यस क्षेत्रमा हवाको छाप कम भई हावा माथि उठ्दछ । त्यहाँ हावाको मात्रा कम हुँदा दक्षिण पश्चिमबाट हुर्रिएर हावा पुरिन आउँछ । यसरी आउने हावाले हिन्द महासागरबाट त्यतैका सामुद्रिक बाफ बोकेर आउँछ र यताका पहाडहरूमा ठोक्किएर वर्षा गराउँछ । यो वर्षा अन्दाजी ३ महीनासम्म हुन्छ ।

सूर्य ट्रपिक अफ केन्सरबाट उँधो झर्न लागेपछि वेस्टर्ली विन्डले दिशा नै परिवर्तन गर्ने हुँदा यता वर्षा नै बन्द हुन्छ । अब यस क्षेत्रमा वर्षाबाट हुने बाढी पहिरो असिना आदि इत्यादि कष्टहरूको अन्त्य हुन्छ । तर यसै बेलामा वर्षाको कारणले हुने उत्पादनहरू पाकेर पहेँलपुर भइरहेको हुन्छ । बन जङ्गलमा घाँस फलफूल भएका हुँदा पशुपन्छीहरू पनि मोटाएका हुन्छन् । कृषिकर्मको बाटोमा व्यवधान भएका दुःखकष्टहरू नाश भएको हुन्छ । उनीहरूका परिश्रमहरू पाकेर धनधान्य भएका हुन्छन् । पानी संलिएका हुन्छन् । हीलो सुकिसकेका हुन्छन् । दिन खुल्ला भइसकेको हुन्छ । गर्मी हराइसकेको हुन्छ । त्यो वर्षाको दुख कष्टबाट उनीहरूले विजय प्राप्त गरेका हुन्छन् । त्यही दुखमाथिको विजयको उपलक्षमा उनीहरूले खुसियाली मनाए एउटा चाडको रूपमा । उनै उपलव्धीहरूले आफूलाई सृङ्गार गरेर (अर्थात् धानका चामल निधारमा टाँसेर खसेका दानाका अङ्कुरहरू शीरमा शीउरेर र उत्पादित मासु र चामलले आफू परिवार नातेदार अनि इष्टमित्रलाई सत्कार गरेर, अनि लामो समयको परिश्रम पछि फुर्सद पाइएकोले नातेदार अनि इष्टमित्र भेटघाट गरेर ।

पहिलो कुरा त आर्यहरू घुमक्कड पशुपालक त्यसैले निधारमा टाँस्ने धानचामल उनीहरूको लागि अनजानकै वस्तु थिए । त्यसमाथि उनीहरू जहाँबाट आए त्यहाँ मनसुनी जलवायु नहुँदा धान उब्जाउने प्रविधि पनि थिएन र जुन साइतमा दसैँ हुने गर्दछ त्यो साइत युराली भेगका जनजातिको लागि हुनै सक्दैन । किनभने यो साइत दसैँजस्तो मनसुनी जलबायुबाट प्रदत्त कृषिउत्पादनसँग सम्बन्धित छ । युराली भेकमा मनसुनी जलबायु नभएको हुँदा त्यसमासमा धानको उब्जाऊ हुँदैन र त्यही मितितिथिको साइत त्यहाँ बन्दैन । त्यसैले निर्क्यौल यही बन्दछ कि दसैँ मनसुनी जलबायु क्षेत्रका जनजातिकै चाड थियो र त्यो जनजाति यस क्षेत्रको प्रमुख जातिआदिवासी िकंराँतहरू मात्र हुन सक्दछन् । पछि यता स्थाइ बसोबास गर्न आइपुगेका आर्यहरूले पनि दुखमाथि विजय प्राप्त गरेको यो मितितिथिलाई उही रूपमा आदिवासीरकिरातहरूसँगै मनाए । आफ्ना शास्त्रहरूमा दुखमाथिको विजयलाई अद्यात्मिक रूप दिन असुरहरूमाथिको विजयको रूपमा कथाकृत गरे । एउटा फरकलाई ध्यानाकृष्ट गर्नुहोस् किरातहरू चामल नरङ्गाई सेतो अक्षेताले टिका लगाउँछन् जब कि हिन्दूहरू यसलाई सिन्दुरले रङ्गाउँछन् । सिन्दुर हिन्दूहरूको टिका भएकोले यसलाई रङ्गाइयो भने किरातहरू आफ्ना पूर्व रूपमै अडिग थिए र छन् ।

किरातहरू चामल नरङ्गाई सेतो अक्षेताले टिका लगाउँछन् जब कि हिन्दूहरू यसलाई सिन्दुरले रङ्गाउँछन् । सिन्दुर हिन्दूहरूको टिका भएकोले यसलाई रङ्गाइयो भने किरातहरू आफ्ना पूर्व रूपमै अडिग थिए र छन् ।

दसैँलाई कृषिसँग जोड्ने भनाइबाहेक अरू केही सन्दर्भहरू पनि छन् जसले दसैँ आर्यहरूद्वारा ल्याइएका चाड नभई आदिवासी/किरातहरूकै चाड भएको कुराको पुष्टि गर्दछ । पहिलो कुरा त के भने दर्शै दुर्गापूजासँग सम्बद्ध भएकोले यो मातृसतात्मक समूहको चाड भनेर मान्न पर्ने हुन्छ । हिन्दू जाति आइमाइ जातिलाई सामान्य वस्तुसरह दासी मान्ने र मृतलोग्नैसँगै जीउँदै सति पठाउने पितृसतात्मक जाति भएको हुँदा स्त्रीशक्तिलाई नै सर्वशक्तिमान मान्ने चाडको प्रवर्तक आर्यहरू हुनै सक्दैन ।

पश्चिमबाट आउने आर्यहरू युरालबाट सिन्धु घाँटीसम्म आइपुग्दा उनीहरू इन्द्रपूजक थिए । सिन्धक्षेत्रमा पसेपछि उनीहरू विष्णुपूजक बने । यताका किरातदेव वा द्रविडिएनदेव शिव गणेशलाई आत्मसात गर्न उनीहरूलाई हज्जारौँ वर्ष लाग्यो र गङ्गाको मैदानको उत्तरपूर्वी भेगमा आइपुगेर मातृसतात्मक समूह आदिवासी/किरातहरूसँग उनीहरूको सम्पर्क बन्न अरू हज्जारौँ वर्ष लाग्यो । यसले के जनाउँछ भने हिन्दूहरूले यस चाडलाई आत्मसात गर्न हज्जारौँ वर्ष लाग्यो र शास्त्रहरूमा दसैँको उद्धरण भएको धेरै भएको छैन सम्भवतः केही हज्जार वर्ष मात्र ।

दसैँ हिन्दूहरूको चाड थिए भने त्यो प्रचलन पश्चिमतिर हुनुपर्दथ्यो वा हिन्दूहरूको प्रभुत्व भएका अन्य क्षेत्रहरूमा धुमधामले हुनुपर्दथ्यो । तर त्यस्तो छैन । दसैं उनीहरूको प्रमुख चाड त्यता छैन । चामलको टीका त त्यता प्रचलनमै छैन भने पनि हुन्छ । बुझ्नु पर्ने यो छ कि दसैँ गङ्गा उत्तर हिमाली भेक र वङ्गालजस्तो आर्यहरूको आगमनको अन्तिम सीमा क्षेत्रमा मात्र धुमधामले प्रमूख चाडको रूपमा मानाइन्छ र यो क्षेत्र पूर्णतः आदिवासी/किरात क्षेत्र हो । यस भेकका हिन्दूहरूले दसैँ माने भन्दैमा हिन्दूहरूकै आयातित चाड मानेर आदिवासी रकिरातहरू पर सर्नू गलत नै हुनेछ । गङ्गापारिका हिन्दूहरूले नेपालीहरूलाई टीका लगाएको देख्दा देखो पहाडीलोग चावल माथामे लगाके फिरता है भनेर मूर्ख बनाउने सन्दर्भ यहाँ विचारणीय छ ।

यो क्षेत्र पूर्णतः आदिवासी/किरात क्षेत्र हो । यस भेकका हिन्दूहरूले दसैँ माने भन्दैमा हिन्दूहरूकै आयातित चाड मानेर आदिवासी रकिरातहरू पर सर्नू गलत नै हुनेछ ।

अर्को सन्दर्भ पनि यहाँ छेडूँ । हिन्दूहरूमा चार वर्ण छन् । उनमा ब्राह्मण र क्षेत्री वर्णहरू मात्र पूर्ववत् आर्यहरू हुन् । अरू थपिएका वैश्य र शुद्र वर्णहरू यता आगमन भएर सम्पर्कमा आएपछिका सम्झौताका जाति एवं विजित जातिहरू हुन् । वैश्यहरू कृषक वा व्यापार गर्ने समुदायका जातिहरू हुन् भनी हिन्दू शास्त्रले नै भन्दछ । आर्यहरू कृषक थिएनन् त्यसैले उनीहरू वैश्य भएनन् ।

वैश्य नभएका ती आर्यहरूका यो दसैँ भन्ने कृषकहरूका चाड आफ्ना कसरी हुन्छन् ? हिन्दूहरूका चाड त तब बने जब यताका आदिवासी/किरात र उताका आर्यजाति मिसिन लागे वा जबदेखि आर्यहरूले किरातहरूका संस्कृतिसमेत ग्रहण गरी यस भेगमा सहभागी बन्न थाले । बिचारनीय यो छ कि हिंदूसंस्कृतिको बिकास नै आर्य र किरांत लगायतका अन्य यस भेगका आदिवासी जनजातिहरूका संस्कृतिहरूको संमिश्रणबाट भयो ।

कुरा यीनै हुन् । हिन्दूशास्त्रले दसैँलाई आफ्नो चाड मान्दा आदिवासी रकिरात जातिले यो चाड आफ्नो नभनी यसको अवज्ञा गर्नु वा बहिस्कार गर्नु एक हिसावले ठूलै गलत सोच हुन्छ । हिन्दूहरूले यो संस्कृति ग्रहण गरेको प्रघटना आदिवासी/किरातहरूको लागि एउटा गर्वको विषय हो । समस्त किरातहरूले आफ्ना पूर्व्रित अनुसार यस कृषि चाडलाई निरन्तरित गर्दै लानुपर्छ ।

हिन्दूहरूको दसैँचाड मान्ने सद्भावलाई आदिवासीरकिरातहरूले प्रत्यूत्तरमा आदरसाथ लिनुपर्दछ । दसैँको अवज्ञा आदिवासीरकिरात संस्कृतिकै अवज्ञा हो । इति ।

source: kavitaram.shrestha Facebook wall.

प्रतिक्रिया