इन्डिजिनियस टेलिभिजनकर्मी शेर्पा समेत १२ सञ्चारकर्मीलाई फोनिज अर्वाड

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२९ साउन २०८२, बुधवार
इन्डिजिनियस टेलिभिजनकर्मी शेर्पा समेत १२ सञ्चारकर्मीलाई फोनिज अर्वाड

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले इन्डिजिनियस टेलिभिजनकर्मी  डोल्मा शेर्पा समेत १२ सञ्चारकर्मीलाई सम्मान र  पुरस्कृत गरेको छ ।

फोनिजको २६औँ स्थापना दिवसको अवसर पारेर आयोजित एक विशेष समारोहमा  सञ्चारकर्मीहरुलाई फोनिज अवार्डद्वारा सम्मान तथा पुरस्कृत गरेको हो । 

मंगलबार राजधानीमा आयोजित समारोहमा नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङले पुरस्कृत तथा सम्मानित  सञ्चारकर्मीहरुलाई सो पुरस्कार तथा सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।

फोनिज अवार्डबाट सम्मानित हुनेमा टेलिभिजन तर्फबाट फोनिज राष्ट्रिय पत्रकारिता सम्मान फोनिजकै निवर्तमान अध्यक्ष गजुरधन राई र रेडियो तर्फबाट फोनिजका निवर्तमान उपाध्यक्ष अमरध्वज लामालाई प्रदान गरिएको छ । 

यसैगरि फोनिज राष्ट्रिय पत्रकारिता प्रवास सम्मान मोक्ष गुरुङलाई प्रदान गरिएको छ भने फोनिज  राष्ट्रिय मातृभाषा सम्मान ‘कोचिला समाद’ राजवंशी त्रैमासिकलाई दिइएको छ । 
फोनिज युके समितिबाट कान्तिपुरका सम्बाददाता आश गुरुङ सम्मानित हुनुभएको छ भने इन्डिजिनियस टेलिभिजनकी सम्वाददाता तथा कार्यक्रम प्रस्तोता डोल्मा शेर्पा पुरस्कृत हुनुभएको छ । 

फोनिज मलेसिया समितिबाट पत्रकार सपना थामी र ज्ञानेन्द्र तामाङ ,फोनिज बागमती समितिबाट पत्रकार पूर्णबहादुर मगरलाई फोनिज अवार्ड २०८२ बाट सम्मान गरिएको छ ।
फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार छापातर्फ सविन प्रियासन, अनलाइनतर्फ मुनेस लायो मगर  र रेडियातर्फ बन्दना दनुवारलाई प्रदान गरिएको छ । 

सो अवसरमा पत्रकारहरूलाई प्रमुख अतिथि रहनुभएका संचार मन्त्री पृथ्वी सुब्बा गुरुङ, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष लक्की चौधरी, पूर्वमन्त्री हितबहादुर तामाङ, पूर्वराज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलगायतले खादा र दोसल्ला ओढाई नगदसहित अवार्डबाट सम्मान गर्नुभएको हो । 

सो अवसरमा नेपाल सरकारका प्रवक्ता  सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले सम्मानित र पुरस्कृत पत्रकारहरुलाई बधाई दिनुहुँदै पत्रकारहरुले सहि सूचना प्रवाह र पारादर्शी ढंगले कलम चलाउन सुझाव दिनुभयो । उहाँले फोनिजले आदिवासीका दुरदराजमा रहेका आवजलाई मुलधारमा ल्याउन  आग्रह पनि गर्नू भयो । 

यसैगरि पूर्वमन्त्री हितबाहदुर तामाङले यो देशका भूमिपुत्र आदिवासीहरु विस्थापित हुने संघारमा रहेको बताउनुभयो । उहाँले हिमालका आदिवासी, पाहाडका आदिवासी र तराईका आदिवासीहरु देशमा भईरहेको राजनीतिक अस्थिरता, जथभावी अव्यवस्थीत विकासका काम, राज्यको नीति नियम, राष्ट्रिय निकुञ्ज, जलविद्युत परियोजना र बेरोजगारीका कारण हजारौँको संख्यामा विस्थापित हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । तामाङले आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) आदिवासीहरुको मुखपत्र भएकोले आदिवासी जनजाति समुदायको विस्थापनको नैराश्यतालाई औल्याएर कलममार्फत लेखेर ढाडस दिन आवश्यक रहेको बताउनु भयो । 

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले पत्रकारहरुले बुझेर सुष्म ढंगले अध्ययन गरेर मात्रा समाचार सम्प्रेषण गर्न बताउनुभयो । उहाँले पछिल्लोसमय नेपाली पत्रकारितामा कमजोर अध्ययन, कपीपेस्ट गर्ने प्रविधिले जनमानसमा गलत सूचनाहरु गईरहेको बताउनुभयो । उहाँले नेपालको ३७ प्रतिशत आदिवासी जनजातिहरुको पत्रकारहरुको छाता संस्थाको कार्यालय भवन संरचनालाई थप व्यवस्थित बनाउन सहयोग गर्ने प्रतिवद्धता समेत गर्नुभयो । अध्यक्ष शेर्पाले आफ्नो कार्याकालमा महासंघको आफ्नै भवन निमार्ण गर्न गईरहेको बताउनुहुँदै सो भवनमा पत्रकार महासंघ फोनिजलाई कोठा दिने प्रतिबद्धता गर्नुभएको हो । 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज)का अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेशसभा सदस्य, आदिवासी जनजाति अयोगका अध्यक्ष राम बहादुर थापा मगर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, थारु आयोग, नेपाल सरकारका सचिव, आदिवासी जनजाति महासंघमा आवद्ध जातिय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसअगि विभिन्न जातजातिको झाँकी प्रस्तुत गरिएको थियो । 


 

प्रतिक्रिया