काठमाडौं, ११ भदौ ।
नेपालमा समग्र महिलाहरूले राज्यको नीतिनिर्माण तहमा माओवादी जनयुद्धपश्चातमात्र पुग्न सकेको सभामुख ओनसरी घर्ती मगरले बताउनुभएको छ ।
इण्डिजिनियस मिडिया फाउण्डेशनद्वारा प्रकाशित तथा कैलाश राईद्वारा सम्पादित ‘पहिचानको खोजी, आदिवासी जनजाति महिलाका सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ (२०१६–२०७३)’को शनिबार काठमाडौंस्थीत पद्मकन्या क्याम्पसमा विमोचन गर्दै सो कुरा बताउनुभएको हो ।
उहाँले २०६८ सालको जनगणनालाई हेर्ने हो भने देशमा कुल जनसंख्याको आधाभन्दा बढि प्रतिशत महिला र त्यसमा पनि ३७ प्रतिशत आदिवासी जनजाति महिला रहेता पनि कुल जनसंख्याको यति ठूलो हिस्सा सामाजिक, राजनैतिक र आर्थिक उपस्थितिमा कमजोर रहेको पनि औंल्याउनु भयो ।
नेपालको समग्र महिला आन्दोलन १९७४ सालमा राणाविरोधीकालदेखि शुरु भएको र त्यस राणाकालिन आन्दोलनको समयमा अग्रपंक्तिमा उभिने दीव्यदेवी कोइराला, दुर्गादेवी दिक्षित, मेलवादेवी, तुलसादेवी र यममाया कोइरालाले पु¥याएको योगदानको पनि चर्चा गर्नुभयो ।
२०६८ सालको जनगणनालाई हेर्ने हो भने देशमा कुल जनसंख्याको आधाभन्दा बढि प्रतिशत महिला र त्यसमा पनि ३७ प्रतिशत आदिवासी जनजाति महिला रहेता पनि कुल जनसंख्याको यति ठूलो हिस्सा सामाजिक, राजनैतिक र आर्थिक उपस्थितिमा कमजोर रहेको सभामुख ओनसरी घर्ती मगरले बताउनुभएको छ ।
बहुदलीय व्यवस्थापछि समतामुलक समाज बनाउनकै लागि भनेर वि.सं. २०४५÷४६ सालबाट नेपालका आदिवासी जनजाति महिलाहरू पनि संगठीत भएको बताउनुभयो । बहुदलीय व्यवस्थाले आदिवासी जनजाति महिलाहरूलाई जागरुक मात्र बनाउन सकेको र माओवादी जनयुद्धपश्चात मात्र उभार ल्याउन सकेको दावी गर्नुभयो ।
संविधान संविधानसभाबाटै घोषणा भएपनि आदिवासी जनजातिका आवाजहरू सम्बोधन नभएको कुरा पनि बताउनुभएको छ । ति सम्बोधन नभएका विषयहरूलाई आगामी दिनहरूमा संशोधनमार्फत सम्बोधन हुने जानकारी गराउनुभयो ।
उहाँले यसै वर्षको आदिवासी दिवसको अवसरबाट प्रशारण आरम्भ भएको इण्डिजिनियस टेलिभिजनको सफलताको कामना पनि गर्नुभएको थियो ।
नेपालमा आदिवासी जनजाति महिलाहरूलाई हिन्दुकरण गरिँदै आएको समिक्षक सुभ घलेले बताउनु भयो । घलेले आदिवासी महिलाहरू आफ्नो निर्णय आफै गर्न सक्ने, आफ्नो जीवनसाथी आफै चुन्न सक्ने हुने तर हिन्दुकरणको मारले गर्दा त्यो अधिकारलाई कुण्ठित गरेको पनि बताउनुभएको थियो ।
आदिवासी जनजाति महिलाहरूको लेख तथा उनीहरूको बारेमा लेखिएकोलाई समेटिएको ठूलो ग्रन्थ रहेको अर्का समिक्षक प्रा. डा. महेन्द्र लावतीले बताउनुभयो । यस्तो ग्रन्थ प्रकाशनमा पहिलो मार्टिन चौतारीले उल्लेखनीय भूमिका खेलेको र अहिले इण्डिजिनियस मिडिया फाउण्डेशनले दोश्रो पुस्ताको भूमिका खेल्न मैदानमा आएको समेत बताउनुभयो ।
पुस्तकमा अमृता थेबे, अमृत योन्जन—तामाङ, कमला रोका, कैलाश राई, कृष्ण भट्टचन, चुन्दा बज्राचार्य, जगमोहन शाक्य, जीवनाथ कोइराला, थुलुङप्रसाद मान राई, देव कुमार सुनुवार, देव गुरुङ, पुण्यप्रसाद सुवेदी, मनकुमारी ठाडामगर, मञ्जु गुरुङ, यशोकान्ति भट्टचन (गौचन), शीला अधिकारी, सन्त गाहा मगर, संगिनी राना मगर, श्री कृष्ण जोशी, हिरण्यलाल श्रेष्ठ, ज्ञानप्रसाद खनालको लेख रहेको छ ।