टीकापुरको कथा : जब मलाई मार्ने खबर पाएँ…

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस६ भदौ २०७३, सोमवार
टीकापुरको कथा : जब मलाई मार्ने खबर पाएँ…

गणेश चौधरी

टीकापुर घटनापछि करिब एक महिना लगातार टीकापुरमा कर्फ्यु लाग्यो। भदौ ७ को घटना हुनु ३ अघि नै यहाँ कर्फ्यु सुरु भएको हो भदौ ४ गतेदेखि। यहाँका स्थानीय तथा राष्ट्रिय मिडियामा कर्फ्युकै समाचारले बढी स्थान ओगट्यो। जिल्ला प्रशासन कार्यालयले दिनहुँ जारी गर्ने कर्फ्यु तालिकाको समाचार सबै स्थानीय एफएममा मुख्य समाचारको दर्जामा रहदै आयो। टीकापुर घटनापछि कैलालीमा तनाव, अभाव र सद्भाव पत्रकारिताले स्थान ओगट्यो।

टीकापुर घटनामा मारिनेको संख्या २१ भएको नेपाली पत्रकारिताको अग्रमोर्चामा रहेका सञ्चार माध्यमले समेत समाचार प्रसारण गरिरहेका थिए। टीकापुरमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुलाई तनाव थियो। म पनि टीकापुरमा रहेर पत्रकारिता गर्दै आएकाले एकिन संख्या कति भन्ने दोधारमा थिएँ। म सम्बद्ध सञ्चार माध्यम कान्तिपुरबाट समाचारका लागि सोधनी जारी थियो। स्थलगतरुपमा हेर्दा र खटिएका सुरक्षा अधिकारीलाई सोध्दा घटनामा ७ सुरक्षाकर्मी र एक जना बालकको मृत्यु भएको सत्यतथ्य आएको थियो तर सदरमुकाम धनगढीमा रहेको जिल्ला प्रशासन कार्यालयको आधारमा कान्तिपुर अनलाइनमा पनि गलत समाचार आइसकेको थियो। पछि जिल्ला प्रशासनले गल्ती सच्याएको भनेर फेरि अनलाइनमा पनि समाचार सुधारिएर आयो। स्थलगतरुपमा रहेर मर्नेको संख्या बताउँदा बताउँदै न्युज ब्रेकिङका नाममा गलत समाचार आइदिँदा दुःख लागेको थियो। तर, अनलाइनमा गलत समाचार आएर मलाइ भने तनाव भएको थिएन। तनावको कारण बेग्लै थियो।

कान्तिपुर दैनिकका लागि तस्बिरसहितको समाचार आवश्यक पर्ने भएकाले तस्बिरका लागि म टीकापुर अस्पताल गएँ। त्यहाँ सुरक्षाकर्मीको घुइँचो थियो। अस्पतालका स्वास्थ्यकर्मी सबै व्यस्त थिए। घाइतेको उपचार भइरहेको तस्बिर खिचेँ। प्रशासनले कर्फ्यु लगाइसकेको थियो। वातावरण निकै तनावपूर्ण भएकाले बाहिर जान सक्ने अवस्था भएन। घाइते प्रहरीका परिवार र आफन्त अस्पताल परिसरमा जम्मा भएका थिए। उनीहरु निकै आक्रोशित देखिन्थे। थरुहट आन्दोलनका क्रममा ७ सुरक्षाकर्मी तथा एकजना नाबालकको ज्यान गएकाले उनीहरु थारु समुदायप्रति निकै आक्रामकरुपमा (यहाँ उल्लेख गर्न नसकिने खालका) सिंगो थारु समुदायलाई गालीगलौज गर्दै थिए। अस्पतालमा कार्यरत मेरा शुभचिन्तकहरुले उनीहरुको आक्रामक रवैया देखेर मलाई उनीहरुको नजरबाट दूर राखे, ताकि म उनीहरुको आक्रोशको निशानामा नपरुँ। ल्यापटप बोकेकै हुनाले म अस्पताल परिसरमा आक्रोशित भीडबाट टाढा उनीहरुले नदेख्ने ठाउँमा बसेर समाचार तयार पार्न थाले। मोबाइलको घण्टी ननस्टप बजिरहेको थियो। फोन रिसिभ गर्दागर्दै दिक्क पनि लागिसकेको थियो। अधिकांश फोन घटनाको बारेमा लाइभ कुराकानी गरिदिनका लागि थिए। अस्पताल परिसरबाटै समाचार इमेल गरेँ। अस्पतालमै रात पर्‍यो। अस्पतालबाट ४ किलोमिटर मात्र टाढा रहेको मेरो घर सुवर्णपुर गाउँ जानसक्ने अवस्था थिएन। के खाने, कता सुत्ने भन्ने समस्या भयो। अस्पतालका कर्मचारी पनि घाइतेको उपचार गर्दागर्दै उनीहरु पनि घर जान सकेनन्।

बेलुकी आक्रोशित भीडले आगजनी सुरु गरिसकेको थियो। अस्पताल गेटबाट करिब ५० मिटर मात्र टाढा रहेको नीरु ट्रेडर्ससहितका अन्य पसलहरु जलिरहेको देखियो। जान सक्ने हिम्मत कसैको भएन। अस्पतालका केही कर्मचारीसितको राम्रो सम्बन्धका कारण उनीहरुले जे खाए पनि, जहाँ बसे पनि संगै खाने संगै बस्ने निधो भयो।

बेलुकी आक्रोशित भीडले आगजनी सुरु गरिसकेको थियो। अस्पताल गेटबाट करिब ५० मिटर मात्र टाढा रहेको नीरु ट्रेडर्ससहितका अन्य पसलहरु जलिरहेको देखियो। जान सक्ने हिम्मत कसैको भएन। अस्पतालका केही कर्मचारीसितको राम्रो सम्बन्धका कारण उनीहरुले जे खाए पनि, जहाँ बसे पनि संगै खाने संगै बस्ने निधो भयो। अन्ततः अस्पतालको अपरेशन थिएटर (ओटी)मा जेनतेन रात काटियो। भोलिपल्ट भदौ ८ गते बिहान उज्यालो भएपछि अब कता जाने, कसरी जाने भन्ने भयो। जतिसुकै अप्ठ्यारो हुँदा पनि आफ्नो ड्युटी गर्नुपर्छ भन्ने सोचेर नेपाल टेलिभिजनमा कार्यरत महेन्द्र भण्डारीलाई फोन गरेर घटनास्थलमा सँगै जाउँ भनेपछि उनी अस्पतालमा आए। म र उनी घटनास्थल गयौं। घटनास्थलमा सशस्त्र प्रहरीको टोली थियो। कर्फ्युका कारण पूरै सन्नाटा थियो। हामी पुगेपछि प्रहरीले रोके। हाम्रो परिचय मागे। दुवैले आफू कार्यरत सञ्चार संस्था र आफ्नो नाम बतायौं। महेन्द्र पनि मजस्तै कालो वर्णका भएकाले उनलाई पनि ‘तँ पनि त थारु जस्तो छस्, भण्डारी भन्छस्’ भन्दै अभद्र पारा देखाए। हामीले धेरैबेर घटनास्थलमा बस्दा प्रहरीबाटै खतरा हुनसक्ने ठानेर केही तस्बिरमात्र लिएर फर्क्यौ। घटनास्थलका प्रत्यक्षदर्शीसित कुराकानी गर्न सकेनौं।

फर्केर सुरक्षित स्थानको खोजी गर्दै टीकापुर सामुदायिक एफएममा गयौं। एफएममा कार्यरत सहकर्मी मित्रहरु थिए। तिनीहरुले मलाई बाहिर कतै नजान सुझाए। बजारमा एउटा समूहले आगजनी गर्दैछ। थारु समुदायका मान्छे भेट्यो कि कुटपिट गर्छ भन्ने कुरा उनीहरुले सुनाए। कान्तिपुरको संवाददाता त्यो गणेश चौधरी कहाँ छ, त्यसलाई मार्नुपर्छ भन्दैछन् भन्ने खबर पत्रकार साथीहरुले ल्याएपछि मलाई झन तनाव भयो। बाहिर निस्कन सकिनँ। साथीहरुले मलाई समाचार कक्षमा पनि बस्न दिएनन्। एफएमको स्टुडियोमा बसाए। त्यही बसेर कान्तिपुर अनलाइन र कान्तिपुर एफएममा समाचार अपडेट गरिरहेँ। आफ्नो अवस्थाका बारेमा पत्रकार महासंघ र कार्यालयमा पनि जानकारी गराएँ। महासंघका क्षेत्रीय संयोजक प्रकाश शाहले ‘प्रहरीले पनि सुरक्षा गर्न नसक्ने भन्दैछ। आफैँ सुरक्षित हुनु, साथीहरुको सहारा लिनु’ भनेपछि त झन तनावको सीमा रहेन।

टीकापुर घटना अधिकांशको कल्पना बाहिरको कुरा भएकाले यो संवेदनशील घडीमा एक्लो रिपोर्टरलाई असजिलो हुने ठानेर कान्तिपुरले सहकर्मी ठाकुरसिंह थारुलाई पनि केही दिनका लागि भनेर टीकापुर पठायो (टीकापुर पुग्दा उनलाई सुरक्षाकर्मीले कस्तो दुर्व्यवहार गर्‍यो, त्यसको कथा उनीसँगै छ) । हामी दुवै जनाको भेट टीकापुर सामुदायिक रेडियोमा भयो। थारु समुदायका मान्छेलाई बजारमा अप्ठ्यारो भएकाले समाचार कस्तो सम्प्रेषण गर्ने, तस्बिर कसरी खिच्ने भन्ने कुरामा हामी अलमलमा पर्‍यौं।

टीकापुर घटना अधिकांशको कल्पना बाहिरको कुरा भएकाले यो संवेदनशील घडीमा एक्लो रिपोर्टरलाई असजिलो हुने ठानेर कान्तिपुरले सहकर्मी ठाकुरसिंह थारुलाई पनि केही दिनका लागि भनेर टीकापुर पठायो (टीकापुर पुग्दा उनलाई सुरक्षाकर्मीले कस्तो दुर्व्यवहार गर्‍यो, त्यसको कथा उनीसँगै छ) । हामी दुवै जनाको भेट टीकापुर सामुदायिक रेडियोमा भयो। थारु समुदायका मान्छेलाई बजारमा अप्ठ्यारो भएकाले समाचार कस्तो सम्प्रेषण गर्ने, तस्बिर कसरी खिच्ने भन्ने कुरामा हामी अलमलमा पर्‍यौं। समाचारका कुरा त फोनमा भए पनि गरौंला भन्ने भयो। पछि सहकर्मी महेन्द्रकै सहारामा उनको मोटरसाइकलमा ठाकुरजीले आगजनी भएका ठाउँ लगायत आवस्यक तस्बिरहरु खिचेँ। साँझपख आगजनी गर्ने भीड नियन्त्रणमा आएकाले हामी एफएमबाट करिब डेढ किलोमिटरको दूरीमा रहेको सिद्धार्थ होटलमा गएर कान्तिपुरका लागि समाचार लेख्न थाल्यौं। कर्फ्यु बाहिर निस्कन नसकिने भएकाले समाचार संकलनमा जान सजिलो होस् भनेर इलाका प्रशासन कार्यालयका प्रमुख सुमन धिताललाई कर्फ्यु पासका लागि अनुरोध गरेँ तर उनले प्रमुख जिल्ला अधिकारी टीकापुर आउने, त्यसपछि मात्र दिने कुरा भएको छ भनेर टारे। यसरी मैले कर्फ्यु पास बिनै भदौ १९ गतेसम्म जेनतेन समाचार बटुले।

आफन्त, शुभचिन्तक, साथीभाइले टेलिफोनमा मेरो अवस्थाका बारेमा जानकारी लिने र सहानुभुति दर्शाउने क्रम जारी थियो। फोन निकै व्यस्त भएकाले कतिपय साथीहरुको एसएमएस पनि पठाए। होटलको एउटा कोठामा बसेर समाचार लेख्यौं करिब साता दिनसम्म। कर्फ्युका कारण पूरै सन्नाटा थियो। कतिपय स्थानीयले टेलिफोनमा टीकापुरको खबर सोध्थे। कहिले खुल्छ? मेरो भान्सामा नुन सकियो आदि समस्या सुनाउँथे। थारुले पहाडीलाई, पहाडीले थारुलाई पिटे भन्ने अफवाह थियो। यो अफवाहलाई कसरी कम गर्ने/हटाउने भन्ने मुख्य चुनौती थियो।

मैले पत्रकारिता गरिरहँदा देश विभिन्नखाले द्वन्द्वमा छ। सबै खाले समाचार लेख्दा संवेदनशील हुन जरुरी छ। तर द्वन्द्वका समाचार लेख्दा झन संवेदनशील हुनपर्छ भन्ने लागेको छ। जहाँसुकै पत्रकारिता गर्दा पत्रकार पहिले आफैँ सुरक्षित हुनुपर्छ, त्यसपछि मात्र समाचार लेख्न सकिन्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता हो। द्वन्द्वका बेला पत्रकारितामा सुरक्षित हुने मुख्य उपाय भनेकै सन्तुलित समाचार हो। समाचार सन्तुलित भएन भने द्वन्द्वरत पक्षबाट पत्रकारलाई खतरा हुन्छ। तर सन्तुलित समाचार लेख्दा-लेख्दै पनि कहिलेकाहीँ असुरक्षित महसुस हुँदो रहेछ। अहिले चलिरहेको संघीयताका सवालमा भइरहेको आन्दोलनमा थरुहट पक्षधरको समाचार लेख्दा अखण्ड भन्ने पक्षधरले थारु भएर थारुका समाचार मात्र लेख्ने भन्ने आरोप खेप्नुपर्ने परेको छ भने थरुहट पक्षधरले थारु भएर थरुहट पक्षको समाचार नलेख्ने भन्ने आरोप लगाउँदै आएका छन्। तैपनि चुनौतीका बीच म पत्रकारितामै दिलोज्यानले लागेको छु, समर्पित छु। यही समर्पणको उपज हो सहकर्मी मित्र कृष्णराज सर्वहारीसँग प्रस्तुत किताबरुपी सानो संयुक्त कोशेली। मेरो पत्रकारिताको यात्रामा साथ दिनुहुने सम्पूर्ण शुभेच्छुक वर्गप्रति आभारी छु।

कृष्णराज सर्वहारी तथा गणेश चौधरीबाट लेखिएको थरुहट आन्दोलनः टीकापुर कथा नामक यो पुस्तकको संशोधित लेख हो । यो पुस्तक २०७३ भदौ ७ गते युनियन हाउस, अनामनगर, काठमाडौमा दिउँसो २ बजे विमोचन हुँदैछ

प्रतिक्रिया